२०७३ सालमा फिल्म ‘लम्फू’ छायाँकन भइरहेको थियो, साहित्यकार एलबी क्षेत्रीको कविडाँडास्थित घरमा। छायाँकनकै क्रममा फिल्ममा अनुबन्धित भइन् कुसुम श्रेष्ठ उर्फ् तरकारीवाली। त्यस समय कुसुमको तरकारीको भारीसहितको फोटो चर्चामा थियो। सामाजिक सञ्जालमा उनको रुप र मिहेनतको तारिफ गरेर फोटो सेयर गर्नेहरू उत्तिकै।
कुसुम चर्चामा आएसँगै फिल्म लम्फू युनिटले उनलाई मास्टर्ससम्मको पढाईका लागि छात्रवृत्ति समेत घोषणा गर्यो।
‘तरकारीवालीलाई अनुबन्धित गरेर फिल्मको प्रचार तीव्र बनाउने उद्देश्य थियो। खोइ फिल्म चल्यो, चलेन? तर त्यस फिल्मले तरकारीवालीलाई चिनाएन’, एलबी क्षेत्रीले सुनाए।
लम्फू समीक्षात्मक एवं व्यवसायिक दुबै हिसाबमा असफल ठहरियो।
एलबीले फिल्मबारे नभइ सकारात्मक चर्चाका लागि आवश्यक गुणबारे आफ्नो विचार राख्दै थिए। अवसर - प्रकाशक फाइनप्रिन्टले आयोजना गरेको घुम्ती साहित्य महोत्सव। त्यहाँ उनले सुनाए एक ‘तरकारीवाला’को कथा। जो लगनखेलका गल्लीहरूमा तरकारी बेच्छन्। उनले तरकारी बेचेरै परिवार चलाएको वर्षौ भयो। तर, तरकारीवालाको रुपमा होइन कविका रुपमा ‘हिट’ छन्। उनको कविताको चर्चा हुन्छ नेपाली साहित्यिक वृत्तमा।
‘उसले लेखेको अनुभूति कविता बन्यो। पहिलो कविता हिट भयो, दोस्रो सुपर हिट र उ कवि बन्यो। तरकारीले होइन साहित्यले उसलाई पहिचान दियो’, क्षेत्रीले भने।
ती कवि हुन् असीम सागर। जो २०७३ सालमा राष्ट्रिय कविता प्रतियोगितमा तेस्रो भए। कविता 'टेको'का लागि। त्यसपछि उनी तरकारी बजारमा मात्र नभइ भेटिन थाले कवि गोष्ठीहरूमा पनि। उनको एकल वाचन आयोजना भयो।
भारतका होटलहरूमा भाडा माझेकोदेखि जुत्ता कारखानाको धुँवा सहन नसकेर रगत वान्ता गरेको अनुभूतिहरू कविताको विषय हुन् उनका। तरकारी बजारमा हुने मोलमोलाइ र एक मामुली तरकारी व्यापारीसँग शहरले गर्ने तीतो व्यवहारलाई शब्दमा उन्छन्।
क्षेत्रीले तिनै कवि र उनका कविताको चर्चा गरे। कविताले दिएको पहिचानको व्याख्या गरे। भने,’साहित्यले मानिसलाई धेरै कुरा दिन्छ।‘
कवि असीम सागर दर्शकदीर्घामा बसेर साहित्यकार क्षेत्रीको टिप्पणी सुन्दै थिए। आँखामा टिलपिल आँशु अनि ओठमा भने मुस्कान बोकेर।
एलबी क्षेत्रीले महोत्सवमा स्वागत मन्तव्य दिएको केही क्षणपछि तिनै तरकारीवाला कवि कविता सुनाउन मञ्चमा उक्लने पालो कुर्दै थिए।
उनले यसै वर्ष प्रकाशित कविता संग्रह ‘क’बाट केही कविता सुनाए। लेख्न थाल्नुको प्रेरणा र जीवनका केही भोगाइलाई पनि दर्शकसम्म पुर्याए उनले।
भलै उनी तरकारी बेच्ने कविभन्दा बढी भूईंमान्छेको जीवन लेख्ने कवि भनेर चिनिनँ रुचाउँछन्। भन्छन्,’म तरकारी त जीवन चलाउन लेख्छु। तर त्यही तरकारी किन्नेहरू मेरा कविताका विषय बनेका छन्। उनीहरूले जीवन र अक्षरका फरक आयाम देखाएका छन्।‘
जसका कारण आफूले तरकारी बेच्न र कविता लेख्न दुबै गर्न नसक्ने बताउँछन् उनी। ‘यी दुबै कुरामा चर्चाको भोक मिसिएको छैन।’
