वीरगंज : वीरगंजको भारतीय सीमावर्ती बजार रक्सौलबाट खल्ती र स्कूटीमा लागू औषध ट्याब तथा बोत्तल लिएर नेपाल प्रवेश गरेका दुई जना नेपाली नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। गत फागुन २६ गतेका दिन दुबैलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी गराए।
हेटौंडा उपमहानगरपालिका वडा नं ३ बस्ने वर्ष ३५ का विशाल लामाले ना ४४ प २६५७ नम्बरको स्कुटीको अगाडि सेतो बोरामा र ज्याकेटको खल्तीमा ठूलो परिमाणमा लागू औषध लिएर आउँदो मध्यान्ह १२ बजे वीरगंज भन्सार नजिककै सशस्त्र प्रहरीको चेकिङमा परेर प्रहरीको फन्दामा परेका थिए भने दोलखा, झुले गापा २ घर भई हाल चितवन माडी २ बस्ने वर्ष २० का सुरज कार्कीले वीरगंजबाट चितवनको लागि छुटेको बसमा प्रहरी चौकी परिवानीपुर अगाडि गरेको चेकिङमा उनको खल्तीबाट पनि लागू औषध ट्याब बरामद भएपछि नियनत्तणमा लिइएको थियो।
लामाको साथबाट विनरेक्स १०० एम्पुल अर्थात २४५ बोत्तल र नाइट्रोभेटको ५ पत्ता अर्थात ७५ पिस टयाब बरामद भएको थियो भने कार्कीको साथबाट पनि ७५ पिस ट्याब बरामद भएको पर्सा प्रहरीले जनाएको छ।