PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जीवा लामिछानेलाई गगन थापाको प्रश्न : छुट्टीमा आउँदा नेपाललाई कहाँ देख्नु हुन्छ?



पहिलोपोस्ट

जीवा लामिछानेलाई गगन थापाको प्रश्न : छुट्टीमा आउँदा नेपाललाई कहाँ देख्नु हुन्छ?

नवलपुर : व्यवसायी जीवा लामिछानेले आर्थिक परिवर्तन बिना राजनीतिक परिवर्तन दिगो नहुने तर्क राखेका छन्। घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ अन्तर्गत नेता गगन थापासँगको संवादमा उनले आफ्नो यात्रा अनुभवसँग देश विकासका पाटोहरू जोडेर चर्चा गरेका हुन्।

’देश विकासका लागि आर्थिक क्रान्तिको पाटोमा पनि ध्यान दिनुपर्छ। विश्वभर नेपालका बारे चर्चा गर्न थुप्रै सबल पक्ष छन् तिनको प्रवर्द्धन र उत्थानमा जोड दिन आवश्यक छ,‘ उनको यात्रा संस्मरण ‘देशदेशावर’माथि भएको छलफल कार्यक्रममा उनले भने।

छलफलमा थापाले लामिछानेलाई प्रश्न गरे : विदेशमा बस्ने तपाईँ छुट्टीमा नेपाल आउनु हुन्छ। त्यसरी आउँदा नेपाललाई कहाँ देख्नु हुन्छ, विकासको पाटोमा?

लामिछानेले नेपाल विकसित हुँदै गएपनि परिवर्तनको गति सुस्त भएको सुनाए।

विकसित देशहरूमा पनि विसङ्गती भएको तर आफूले भेटेका अधिकांश विदेशीले नेपालीको मिहेनत, इमान्दारी र यहाँको प्राकृतिक सौन्दर्य र साधनहरूको चर्चा गर्दा आफूमा सकारात्मक उर्जा सिंचित हुने गरेको बताए। ती स्रोत र मिहेनती स्वभावको उचित प्रयोग गर्न सके परिवर्तन छोटो समयमै सम्भव भएको उनको तर्क छ।

भने,’घुम्दै गर्दा महामारी, लामा द्वन्द्वजस्ता समस्या भोगेका देशमा भएको राजनीतिक सामाजिक परिवर्तनको देखें। हाम्रो देशमा पनि त्यो सम्भव छ। तर, हाम्रो देशको राजनीतिज्ञ सिद्धान्तमा धेरै अल्मलिए। पुँजीवाद बिना समाजवाद र साम्यवादको चर्चा भए जुन व्यवहारिक सुनिँदैन।‘

नेपालको हकमा सम्पदा, पर्यावरण र पर्यटन जोडेर विकासको अवधारणा बनाउन आवश्यक भएको बताए। फरक देशमा विकासका फरक खाका भएकाले नेपाल पनि उपलब्ध स्रोतको प्रयोग कसरी हुन्छ? भन्ने विषयले सामाजिक परिवर्तन निर्धारित गर्ने उनको तर्क हो। 

‘देशमा सम्भावना लोभ र आशा लाग्दा छन्। त्यसैले स-साना समस्याहरू बहाना हुनु भएन। संक्रमणले विकास कार्यमा कति समय असर गर्छ? त्यो असर लामो हुनु भएन किनभने रुवान्डाजस्ता देश कंकाल समातेर उभिएका छन्। हाम्रो देशमा त अझै बढी छ स्रोत र साधन,’ उनले भने।

नेपालमा विकासका लागि आवश्यक कानूनको कमी नभएपनि ती कानून कार्यान्वयनको पाटो कमजोर भएको तर्क थियो उनको। कानूनी रुपमा व्यवहारिक नहुनुले ‘माल पाएर चाल नपाएको’ भन्ने उक्ति चरितार्थ भएको उनले बताए।

त्यस्तै देश विकासका लागि राज्यले व्यापार गर्न नहुने  उनले सुनाए। उद्योग धन्दाका लागि नीति बनाउने, उचित कार्यान्वयन गराउने र कर असुल गर्नमा ध्यान दिए व्यवस्थापकीय पाटो सहज बन्ने उनको बुझाइ छ। भने,'निजी क्षेत्रले नै हो व्यापार गर्ने। राज्यले गर्न खोजे व्यवस्थापन झन् कठिन हुन्छ। राज्यले त बरु शिक्षा र स्वास्थ्य सम्बन्धी सेवा विस्तारमा जोड दिन आवश्यक छ।' 

कार्यक्रममा जीवाले विकास प्रक्रियामा सरकार वा कुनै पनि संघ संस्थाले गैर आवसीय नेपालीहरूबाट धेरै अपेक्षा राख्न नहुने बताए। गैर आवसीय नेपालीहरू संख्यात्मक हिसावमा धेरै भएपनि गुणात्मक हिसावमा अघि बढ्न आवश्यक भएको उनको तर्क छ।

भने,'केही साथीहरूले उत्साहित भएर हैसियतभन्दा बढी बोलेको हुनसक्छ तर परोपकार र लगानीका लागि अझै धेरै जम्मा गर्नुछ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell