PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लैङ्गिक तथा यौनिक विविधताको चर्चा, मुलधारको विचारसँग संघर्ष गर्न गाह्रो हुन्छ : निरञ्जन कुँवर



पहिलोपोस्ट

लैङ्गिक तथा यौनिक विविधताको चर्चा, मुलधारको विचारसँग संघर्ष गर्न गाह्रो हुन्छ : निरञ्जन कुँवर

नवलपुर : शिक्षाविद् एवं लेखक निरञ्जन कुँवरले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई मुलधारको विचारसँग संघर्ष गर्न गाह्रो हुने बताएका छन्।  फाइनप्रिन्ट फिभर अन्तर्गत ‘इन्द्रेणी’ नाम दिइएको सत्रमा उनले वैचारिक संघर्षका कारण आफ्नो मानसिक स्वास्थ्य र सामाजिक जीवनमा असर पुगेको अनुभव सुनाए।

‘विदेशी पुस्तक र लेखहरूबारे पढ्ने बानीका कारण मैले आफ्नो लैङ्गिकताबारे चाँडै बुझें। मेरो फरक भावना पनि प्राकृतिक हो भन्ने थाहा पाएँ। आफैलाई स्वीकारें। तर, त्यही कुरा परिवारलाई बुझाउन गाह्रो भयो’, उनले भने।

समाजले लैङ्गिक विविधताको विषयमा अझै उदार नभएकै कारण यस विषयमा बोल्न र बुझाउन गाह्रो भएको उनको विचार छ।

कुँवरको प्रकाशित कृति ‘बिट्विन क्विन एण्ड द सिटिज’ मा केन्द्रित ‘इन्द्रेणी’ सत्रमा नाटककार प्रतीक्षा कट्टेलले कुँवरसँग कुराकानी गरेकी थिइन्। कट्टेलले नेपाली पाठकका लागि अंग्रेजीमा पुस्तक लेख्नुको कारणबारे सोध्दै कुराकानीको सुरुवात गरेकी थिइन्। कुँवरले आफ्नो शैक्षिक पृष्ठभूमि र लैङ्गिकता विश्वव्यापी मुद्दा भएकाले अंग्रेजी भाषामा लेख्न आवश्यक रहेको महसुस गरेको बताए। उनले नेपाली भाषाका पाठकको सहजताका लागि अनुवादको योजना रहेको समेत सुनाए।

उनको पुस्तक संस्मरणात्मक छ। जसमा उनले आफ्नो लैङ्गिकतासँग जोडिएको अन्यौलतादेखि स्वीकारोक्तीसम्मका कथाहरू, मानसिक स्वास्थ्य तथा समाजिक जीवनमा परेको असर र गर्नुपरेको संघर्षबारे लेखेका छन्।

‘संस्मरण लेख्दा आफ्ना अनुभूतिहरू दुरुस्तै उतार्नु पर्दा केही अप्ठ्यारो भयो। तर, लैङ्गिक र यौनिक विविधताको विषय बारे बुझाउन आफू र आफ्नासँग जोडिएका प्रसङ्ग लेख्न आवश्यक छ जस्तो लाग्यो,’ कुँवरको कथन रह्यो।

लैङ्गिकता तथा यौनिकता संवेदनशील विषय भएपनि पितृसत्ताले यसलाई प्रभाव पारेको तर्क राखे। ‘लैङ्गिक विविधताको प्रमाण वेदमा समेत उल्लेख छ। यो धर्म र समाजसँग जोडिएको विषय हो जसबारे हजारौं वर्षअघिको समाज उदार थियो होला। तर, जब पितृसत्ताले जरा गाड्दै गयो तब यो विषय दमन भयो,’ कुँवरले भने।

समाजमा लैङ्गिक यौनिक विविधतालाई बेठीक भन्ने, यसबारे बुझेर र पनि नबुझेजस्तो गर्ने र बुझ्न चाहनेहरूबिच द्वन्द्व रहेको उनले सुनाए। उक्त वैचारिक द्वन्द्वका कारण लैङ्गिक विविधता ‘पूर्वीय संस्कार वा पश्चिमी?’ भन्ने विषयमा अन्यौलता समेत सिर्जना उनी बताउँछन्। यस्तै स-साना अन्यौलताहरूका कारण मुलधारको विचारमा लैङ्गिक अल्पसंख्यक नसमेटिएको कुँवरको विचार छ।

‘सधैं दबिएकाहरूको संघर्ष कठिन हुन्छ। जसरी पितृसत्तामा महिलालाई गाह्रो छ। त्योभन्दा बढी चुनौती लैङ्गिक अल्पसंख्यकलाई छ। तीमध्ये पनि झन् गाह्रो पिछडिएको वर्ग वा ठाउँको लैङ्गिक अल्पसंख्यकलाई हुन्छ,’ उनले प्रष्ट्याए।

पुरुष भएका कारण आफ्नो लैङ्गिक तथा यौनिक पहिचानबारे बोल्न जति सहज हुन्छ त्यति सहज महिला पारलिङ्गी वा समलिङ्गीलाई नहुने उनले बताए। जातीय, सांस्कृतिक, भाषिक, परम्परागत् वा वैचारिक विविधता स्वीकार्न नसक्ने समाजमा यो विषय नौलो र सहजै स्वीकार्य नभएको उनको तर्क छ।

‘तर विविधता लोकतन्त्रसँग जोडिएको विषय हो। यसलाई स्वीकार्नु पर्छ जसले अरुको अस्तित्व र शक्तिको सम्मान गर्छ। एकअर्काबाट सिक्ने कुरामा विश्वास राख्छ। अन्य विविधतालाई जस्तै लैङ्गिक विविधता पनि स्वीकारिनु पर्छ’, उनले भने,’यसले दमन फस्ट्याउन दिँदैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell