PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मृत्युको वोधले मलाई जीवनको गहिराइमा पुर्‍यायो : मनीषा कोइराला



पहिलोपोस्ट

मृत्युको वोधले मलाई जीवनको गहिराइमा पुर्‍यायो : मनीषा कोइराला

नवलपुर : अभिनेत्री मनीषा कोइरालाले मानिसमा बाँच्ने अभिलाषा बढाउनका लागि क्यान्सर अनुभूतिलाई पुस्तकको रुप दिएको बताएकी छिन्।  किमो थेरापीपछिको अवस्थामा आफूले सकारात्मक उर्जाका लागि थुप्रै पुस्तक खोजे पनि कमैमात्र पाएकाले अनुभूति लेख्ने जमर्को गरेको बताइन्।

दुई वर्षअघि उनले संस्करणात्मक कृति ‘हिल्ड’ सार्वजनिक गरेकी थिइन्। यो वर्ष सोही पुस्तकको नेपाली संस्करण ‘जिजीविषा’ प्रकाशित भएको छ। पुस्तकका अनुवादक पत्रकार स्वरुपराज आचार्य र कोइरालाले पुस्तकमा समेटिएका अनुभूतिहरूको सेरोफेरोमा रहेर कुराकानी गरेका हुन्।

‘बाँच्ने आशा जगाउनका लागि पुस्तक लेख्नु आवश्यक महसुस ठानेंँ। पुस्तकले एकदमै अप्ठ्यारो परिस्थितिमा हुँदाको मनस्थिति व्याख्या गर्छ जस्तो लाग्छ,’ उनले भनिन्, ’बाँच्ने आशा मारेकालाई मात्र नभइ कुनै कुराले गम्भीर आघात पारेकालाई पनि पुस्तकले सकारात्मक उर्जा दिन्छ भन्ने विश्वास छ।‘

मनीषाको परिवार र आफन्तमा धेरैले क्यान्सरसँग लडे। धेरैको मृत्यु भयो। उनीहरूको मृत्युले उनलाई पीडा दियो। आर्यघाटमा उभिएर रोइन् उनी। तर, आफूलाई क्यान्सर हुँदाको पीडा शब्दमा सुनाउन नसक्ने तर्क गर्छिन्। मृत्युको नजिक पुग्नुले जीवनको गहिराइ महसुस गराएको बताइन् उनले। जीवनलाई हलुका रुपमा लिएको थाहा भएको र क्यान्सरपछि मात्र स्वस्थ जीवन बाँच्नु पर्छ भन्ने वोध भएको सुनाइन् उनले। भनिन्, 'जीवनको सीमितता बुझेँ। आफ्नो मृत्यु स्वीकार्न सकिँदैन भन्ने बुझेँ। जति बाँच्छु आत्मा र शरीर दुवै रुपमा स्वस्थ रहेर बाँच्छु भन्ने भयो।'

मृत्युले जीवन बुझाएको उनको स्वीकारोक्ति थियो। क्यान्सर पछाडि भएको वोधका कारण पुन: लडे पनि उठ्न सक्ने भएको उनले सुनाइन्। भनिन्, ’अब म कुन बाटो हिँड्ने? कुन नहिँड्ने? छुट्याउन सक्ने भएकी छु। सुझाव सुन्न सक्ने भएको छु। र, माफ गर्न सक्ने भएको छु। जुन म पहिले थिइँन।‘

आफ्ना कमजोरीहरूलाई मायालु आमाले सरह सुधार्दै लैजान सुझाव दिइन् उनले। पैसा र पहिचानका लागि जति मिहेनत गरे पनि मानसिक, भावनात्मक र शारीरिक हिसाबमा स्वस्थ रहन आवश्यक रहेको उनको कथन थियो। ’गन्तव्यमा पुग्नु जति नै महत्वपूर्ण हुन्छ प्रक्रिया पनि,‘ उनले भनिन्।

जीवन बुझेपछि आफू अध्यात्म र प्रकृतिसँग नजिक भएको स्वीकारिन् उनले। त्यसअघि दुनियाँ घुमेर पनि कहींँ नघुमेको उनको कथन रह्यो। ‘पासपोर्ट हेर्दा हरेक देशको भिसा छ। तर जहाँ पुगे पनि मैले काम गरेँ। घुमिन। त्यो गलत रहेछ भन्ने महसुस भयो,’ उनले भनिन्, ’तर गल्तीलाई अंगाल्ने र सुधार्ने रहेछ।‘ 

* किमोथेरापी हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell