काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुट इतरका एमाले नेतालाई चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन सार्वजनिक आह्वान गरेका छन्।
अखिल नेपाल महिला संघ (अनेमसंघ)को भृकुटीमण्डपमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह नआए कारवाही गर्ने चेतावनी दिए।
'चैत ७ गते बैठक बोलाएको छु। यत्रोविधि टेलिभिजनले खिचिरहेको छ। लाइभ दिइरहेको होला, सुनिन भन्न पाइने छैन। केन्द्रीय कमिटी सदस्य आउनुहोला। अनुपस्थित भएमा विधानको ब्यवस्था अनुसार हुँदै जानेछ,' ओलीले भने।
आफूलाई प्रधानमन्त्री पदबाट हटाउन गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको बताउँदै ओलीले आफूलाई हटाएर देखाउन चुनौती पनि दिए उनले।
उनले फेरी आफू दुई तिहाइका साथ सिंहदरबारमा आउने उद्घोष गरे।
'अहिले कसैले हटाउन सक्छ भने हटाओस, जालझेल गरोस्। मोर्चा कसेर हटाउन सक्छ भने पनि हटाओस्। २० महिनापछि एमाले दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट पस्छ,' उनले भने।
सरकारमा भए पनि देश बनाउने र प्रतिपक्षमा भए पनि देश बनाउने तयारी गर्ने ओलीको भनाई थियो। उनले आफ्नो गन्तव्य सत्ता नभएको दाबी गरे। जनतालाई हेर्ने र समृद्धि चाहने आफ्नो बाहेक अरु कसैको पार्टी नभएको ओलीको दाबी छ।
'समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तब्य हो। यस देशमा जनतालाई हेर्ने हामी बाहेक अरु को छ? डाहा गरेर हुन्छ?,' ओलीले प्रश्न गर्दै भने, 'जनताको पक्षमा काम गर्ने हामीबाहेक कोही पार्टी छैन। तपाईँहरुसँग सक्ने भए अहिले यहाँ कुस्ती खेल्न आइसक्थे।'
गठबन्धनको सरकार बनाउन खोजेको भन्दै ओलीले त्यसलाई 'टालटुले' सरकारको संज्ञा दिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको पार्टी भत्काएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद खाइदिन आग्रह गरेको ओलीको आरोप थियो।
'दुई तिहाइको पार्टी भत्काउने अनि टालाटुली जोडेर टाले सरकार बनाउन खोजेको छ। प्रधानमन्त्री खाइदिनुस् भनेको छ। अनि जनताले यिनहरुलाई माया गरिदिनुपर्ने?,' उनले प्रश्न गरे।
ओलीलाईलाई प्रचण्ड-नेपालले साधारण सदस्यबाट हटाए पनि आफूले भने कसैलाई नहटाएको दावी गरे।
'हरेक चुनावमा जनताले यिनीहरुलाई सबक सिकाउनुपर्छ। बाटाबाटामा अध्यक्षको पगरी बाँधेर हिँड्ने? म त अध्यक्ष भएँ भनेर हिड्ने? तपाईँलाई अचम्म लाग्दैन? मलाई पार्टीको साधारण सदस्यबाट पनि निकालेको यिनले सक्ने रहेछन् भने त के गर्ने रहेछन्?,' ओलीले भने।
शुक्रवार आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बोलाएर वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहका नेता हटाएकोबारे प्रष्टिकरण दिँदै उनले पार्टी चलाउनका लागि हटाएको दावी गरे।
तर, नेपाल-खनाल फर्किएर बैठकमा आएपछि भने फेरि पनि हेरफेर हुनसक्न ओलीको भनाई थियो। 'उहाँलाई कहीँ कतैबाट निकालेको छैन। पार्टी चलाउनका लागि केही साथीहरुलाई जिम्मा दिएका छौं। काम गर्दै जानु परेन? फेरी आउनुभयो भने केही गरौला,' उनले भने।
अदालतको फैसलापछि नेपाल-खनाल समूहका नेता पेरिसडाँडाबाट बिदाइ भएर आफूलाई ठेगान लगाउन आएको ओलीको भनाई थियो।
उनले पार्टीमा नआएर नेपाल-खनाल वानेश्वरको अर्याल होटलमा बास बसेको बताएका थिए। जहाँ नेपाल-खनालले पछिल्ला केही दिन यता आफ्ना समूहका गतिविधि गर्दै आएका छन्।
'रुवाबासी गर्दै पेरिसडाँडाबाट हिँड्नु भएको थियो रे! अर्याल होटलसम्म आइपुग्नु भएको छ। अर्याल होटलमा आएर बास बस्नुभएको छ। प्रशस्त समय रहोस् भनेर ७ गतेका लागि बैठक बोलाएको छु,' ओलीले भने।
ओलीले आफूलाई ठेगान लगाउन नेपाल-खनाल समूहले बक्तव्यबाजी गरेको आरोप लगाए। उनले आफूलाई ठेगान लागाउन खोजे बाटोमै ठेस लाग्ने चेतावनी दिए।
'सच्चिएर आउनका लागि सधै तयारै छौं। तर, केपी ओलीलाई ठेगान लाउन बक्तब्यवाजी गरेको देखिरहेका छौँ। केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने बाटोमै खुट्टामा ठेस लाग्छ,' उनले भने।
