PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमालेको माधव-खनाल समूहले राष्ट्रिय भेला गर्ने : 'समानान्तर कमिटी होइन पूर्व एमाले पुनर्जीवित'



पहिलोपोस्ट

एमालेको माधव-खनाल समूहले राष्ट्रिय भेला गर्ने : 'समानान्तर कमिटी होइन पूर्व एमाले पुनर्जीवित'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ।

काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको एमालेका स्थायी कमिटी सदस्य भीम रावलले जनकारी दिए। भेलामा पार्टीका सबै संगठन अन्तर्गतका नेता कार्यकर्तालाई सहभागितका लागि आह्वान गरिएको छ भने जनवर्गीय संगठनका नेता कार्यकर्तालाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

आफूहरुले समानान्तर कमिटी नबनाएको बरु तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकरण अघिको कमिटीहरुलाई ब्युँताएको रावलले बताए। 'समानान्तर कमिटी बनाएर अर्को कमिटी खोल्छौं भनेका छैनौं। नेकपा हुनु अघिको एमालेको संगठन पुनर्जिवित गर्न खोजेका हौं,' रावलले भने।

भेलाको संयोजनका लागि सातै प्रदेशमा प्रदेश ईन्चार्ज तोकिएको छ। प्रदेश नम्बर १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली तथा सुदुरपश्चिम प्रदेशमा भीम रावललाई प्रदेश इञ्चार्ज तोकिएको छ। राष्ट्रिय भेलाले पार्टीको अबको कार्यदिशाबारे निर्णय गर्ने नेताहरुले बताएका छन्।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका नेताको जिम्मेवारी खोसेपछि नेपाल-खनाल समूह ओलीप्रति आक्रामक बनेको हो।

रावलले ओलीले एमाले फुटाउन बालुवाटारमा शुक्रवार गुटको भेला गरेकोप्रति आफ्नो समूहको विरोध रहेको बताए।

'बालुवाटारमा गुटको भेला गरेर जुन प्रकारको निर्णय गरेका छन् हामीले त्यसको भर्त्सना गरेका छौं। बालुवाटारमा जुन किसिमको कथित बैठक गर्नु भो। एमालेको विधानविपरीत जसरी काम गर्नु भो त्यो आपत्तिजनक छ। त्यो हाँस्यासपद छ। त्यसले विधि प्रणाली अबलम्बन गरेको छैन,' उनले भने।

नेकपा माओवादी केन्द्रका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु हाँस्यासपद भएको रावलको तर्क थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell