PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक अपरिचित लेखकको ‘रहर’



पहिलोपोस्ट

एक अपरिचित लेखकको ‘रहर’

व्यवसायी जीवा लामिछानेको पुस्तकमाथि संवाद गर्न नेता गगन थापा। उद्योगी विनोद चौधरीलाई प्रश्न सोध्न सम्पादक उमेश चौहान। राजीव उपाध्यायसँग प्रकाश रिमाल। सबै चिनिएका अनुहारहरू। ती सेलिब्रेटी लेखकहरूको पुस्तक अनि पुस्तकमाथि अन्तर्क्रिया। त्यो भिडमा एउटा यस्तो नाम – सुरेश बडाल। उनलाई चिन्नेे भने सीमित मात्रै। त्यसैले आफूलाई अपरिचित लेखकको संज्ञा दिन्छन् उनी।

यी नचिनिएका लेखकको ‘रहर’लाई चिन्नेहरू भने बढ्दो छन्, नेपाली साहित्यिक वृत्तमा।

बाल्यकालमा बिताएको समय, त्यो समयले छोडेको छाप, पात्र र कथाहरूको संग्रह हो रहर। ‘सम्झन लायक कुराहरू सुन्दर हुन्छन्। सुन्दर कुराहरू सम्झनामा रहन्छन्। याद आउने तिनै संकेत, घटना र प्रतीकहरूको प्रयोग गरेको छु मेरा कथाहरूमा’, कथाकार बडालले संग्रहबारे भने।   

युवा अभियन्ता प्रकृति भट्टराई बस्नेतले उनलाई रचनागर्भ, कथाको संरचना, पात्रहरूसँग सम्बन्ध, पाठक प्रतिक्रियालगायत विषयमा प्रश्न गरेेेेकी थिइन्।

सुरेशका जवाफहरू सरल सुनियो। उत्तिकै गम्भीर पनि। ’साना लाग्ने र बेवास्ता गरिएका विषयहरूलाई सम्बोधन गर्ने प्रयास गरेको छु। जस्तै, बाल्यकालमा खड्किएका कुराहरू वा अहिले याद आउने बाल्यकालका कुराहरू,‘  उनले भने।

नौलो लेखकले साना विषयहरूलाई टिपेर संग्रह गरेको कथामाथि स्थापित प्रकाशकले विश्वास गर्नुलाई भने गर्विलो मान्छन् उनी। ‘पाण्डलिपी पुर्‍याउँदा नै भावुक भएको थिएँ। पछि प्रतिक्रिया पनि सकारात्मक आयो। प्रभावशाली लेखकहरूको किताब छापिरहेको संस्थाले मेरो पुस्तक स्वीकार्दा आधा युद्ध जिते सरह भयो’, बडालले सुनाए।

उनका पात्रहरू भने आफू वरपरका मानिसबाट प्रभावित रहेछन्। ती पात्रहरूमा कसैले आफ्ना हजुरबुबा पाउँछन् कसैले आमा। कतिले पात्रको शैलीमा आफ्नो साथीलाई भेट्छन् त कतिले आफूलाई मनै नपर्ने मान्छे पनि।

यथार्थमा टेकेर काल्पनिक कथाहरू लेखेको उनी बताउँछन्। ती कथा जुन लेखकका संस्मरण जस्तो पनि लाग्न सक्छ। ‘मलाई चिन्ने मानिसले केही कथाका पात्रमा मलाई नै कल्पना गर्न सक्छन्। तर, मलाई नचिन्ने पाठकहरूको हकमा त्यसो नहोस् भनेरै मैले पुस्तकमा आफ्नो तस्विर राखिँन। मेरो तस्विरले पाठकको कल्पनशीलतामा असर गर्न सक्थ्यो,’ उनले परिचयात्मक पानामा आफ्नो तस्विर नराख्नुको कारण खुलाए।

केही समय अघिसम्म आफूले लेखेको कथा सामाजिक सञ्जालमार्फत् साट्थे उनी। कहिले काहीँ हाँस्यास्पद् वाक्यहरू लेखेर छाड्थे। तिनमा आउने प्रतिक्रियाले उनलाई लेखिराख्न हौस्यायो। आफ्नो लागि सामाजिक सञ्जाल नै लेख, रचना पाठकसम्म पुर्‍याउने माध्यम बनेको उनको कथन छ। ‘अब के आउँछ? भन्ने प्रश्न फेसबुकमा जोडिनु भएका साथीहरूले मलाई गर्नुभयो। मैले आफैलाई,’ लेखन निरन्तरताबारे खुल्दै गए उनी, ’ए मैले भोगेका, देखेका घटनाहरूमा कल्पना मिसाएर लेख्दा पढ्नेलाई राम्रो लाग्दो रहेछ भन्ने भयो।‘

सुरेशका कथाहरूमा बाल मनोविज्ञानदेखि प्रेमका कुरा, ‘छोरा मान्छे’को संवेदना र मनोदशा समेटिएका छन्। फाइनप्रिन्टका सम्पादक अजित बरालले बडालका कथालाई ‘डिजर्ट’को संज्ञा दिए। अर्थात्, खानापछि पनि खान सकिने मीठो कुरा।

गत साता कथा संग्रह ‘रहर’ सार्वजनिक भयो। त्यसपछि पुस्तकमाथि अनेक प्रतिक्रिया आइरहेका छन्। कहिले पाठकले पढ्दै गरेको तस्विर बनेर त कहिले वाक्यांशसहित पोस्ट बनेर। केहीले कथामा आफैलाई भेटेको भन्दै धन्यवाद व्यक्त गरेका छन् अनि कतिले सुन्दर कथाहरूको लागि बधाई भनेका छन्। कसैले संग्रहमा कथा थोरै भएको गुनासो गरेका छन् त कसैले हाँस्दाहाँस्दै रुवाउन सक्ने लेखकको क्षमताको प्रशंसा गरेका छन्।

‘ती प्रतिक्रियाहरूले मलाई उर्जा दिएका छन्। दिउँसो विमोचन भएको पुस्तकबारे त्यही रात आएको सकारात्मक प्रतिक्रिया देख्दा लाग्यो – मैले लेखेर ठीक गरेँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell