जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा वेर्डर ब्रेमनलाई हराउँदै बायर्न म्युनिख शीर्ष स्थानमा अंकदुरी बढाएको छ। वेसेरस्टेडियनमा सम्पन्न खेलमा बायर्नले ब्रेमेनलाई ३-० ले हराउँदै शीर्षस्थानमा अंकदुरी बढाएको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, लिओन गोरेट्जका र सर्ज गनब्रीले गोल गरे।
खेलको २२ औं मिनेटमा थोमस मुलरको पासमा गोल गर्दै गोरेट्जकाले बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा गनब्रीले मुलरकै पासमा गोल थप्दा पहिलो हाफमा बायर्न दुई गोलले अघि रह्यो। दोस्रो हाफमा लेवान्डोस्कीले गोल थपे। उनले खेलको ६७ औं मिनेटमा गोल थप्दै बायर्नको ३-० को जित सुनिश्चित गरे।
जितसँगै बायर्नले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ। शीर्षस्थानको बायर्नले २५ खेलबाट ५८ अंक जोड्दा दोस्रो स्थानमा रहेको आरबी लाइपजिगको २४ खेलबाट ५३ अंक छ। त्यस्तै पराजय ब्यहोरेको ब्रेमेन ३० अंक जोडेर १२ औं स्थानमा छ।
