त्यसबखत राजधानी काठमाडौं प्रवेश गर्न चन्द्रागिरिको ठाडो उकालो चढेर ओरालो हिँड्नुपर्थ्यो चित्लाङबाट। लिच्छवी राजादेखि मल्ल राजा रानी र राणाहरु पनि यही बाटो हुँदै काठमाडौं आउजाउ गर्थे। भारतबाट काठमाडौं आउनेहरुको चित्लाङको यही बाटो हुँदै आउथे। भीमफेदी हुँदै चित्लाङबाट थानकोट पुग्नेको लर्को लाग्थ्यो। त्रिभुवन राजपथ सुरु हुनुअघि यही बाटो काठमाडौंबाट बाहिरिने र भित्रिनेहरुका लागि प्रमुख मार्गमध्ये एक थियो।
भीमफेदी, कुलेखानीबाट हिँड्दै पुग्नेहरु थकित हुँदा आश्रय दिने स्थान थियो चित्लाङ। पुरानो नेवार वस्तीमा रहेका फल्चाहरुमा यात्रीहरुलाई आराम गर्ने सुविधा थियो। बाटोमा रहेका हिति (ढुंगेधारा) हरु ले तिर्खाएका यात्रुहरु प्यास मेटाउन सक्थे।
पूर्खाहरुले पानीको मूल स्रोत पत्ता लगाएर कुलो बनाएर चित्लाङमा पानी ल्याएको धारामध्ये एक हो गर्जुधारा। साविकको चित्लाङ (हाल थाहा नगरपालिका ९ र १०) मा पर्छ। वडा ९ मा रहेको गर्जुधारासहित नारायणहिति, साता धारा र अन्य सम्पदाहरु लिच्छविकालिन मल्लकालिन सिर्जना भएको स्थानीय बताउँछन्। चन्द्रागिरिको उकालो झरेर वस्ती प्रवेश गर्ने बित्तिकै पुरानो शैलीमा बनेका घर र चैत्यहरु अझै देख्न सकिन्छ। चैत्यसँगै रहेको छ गर्जुधारा, जहाँ रचिएको थियो, 'यात्री' कविता।
भनिन्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा काठमाडौंबाट चित्लाङ आउजाउ गर्ने क्रममा यही ढुंगेधारामा छेउ बस्दै थिए। त्यहीबेला भारतबाट मारवाडी समुदायका व्यक्तिहरु चन्द्रागिरिको डाँडो उक्लन हस्याङफ्स्याङ गर्दै आइरहेका थिए। केही घोडामा त कोही मानिसको बुँइ चढेर डाँडो उक्लने तरखरमा थिए। त्यही दृश्य देखेर गर्जुधारामा आश्रय लिइरहेका देवकोटोले यात्रीहरुलाई प्रश्न गर्दै शब्दहरु कोरेका थिए।
'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामाग्री पूजा गर्ने साथ कसोरी लाने हो?
मानिसहरुको काँध चढी कुन देवपुरीमा जाने हो?'
यही कविता रचिएको गर्जुधाराको हाल पुनर्निर्माणको काम भइरहेको छ। साथै अन्य ढुंगेधाराको पुर्नर्निर्माणको काम पनि भइरहेको थाहा नगरपालिका वडा ९ का वडाअध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए।
चित्लाङ आफैमा प्राकृतिक र सांस्कृतिकरुपमा धनी भए पनि देवकोटाले 'यात्री' कविता रचेर यसलाई साहित्यिक क्षेत्रको रुपमा समेत विकास गरेको स्थानीयको विश्वास छ। त्यसैले उनीहरु गर्जुधारा क्षेत्रलाई साहित्यिक जमघटको क्षेत्र बनाउन माग गरिरहेका छन्। वडाले पनि स्थानीयको माग बमोजिम गर्जुधारा क्षेत्रमा महाकवि देवकोटाको शालिक राख्ने तयारी थालेको छ भने सँगै रहेका पाटी र अन्य सम्पदा क्षेत्र जिर्णोद्वारको काम गरिरहेको श्रेष्ठ बताउँछन्।
गर्जुधाराबाट केही किलोमिटर पर रहेको छ शिवालय। तीनवटा गजुर भएको यस्तो शिवालय नेपालमा विरैले पाइने स्थानीयको दाबी छ। शिवालयसँगै रहेको पाटी पनि ब्युताउँने तयारी वडाले गरेको छ। त्यसका लागि केन्द्र सरकारसँग समेत समन्वय गरी बजेट बिनियोजन गर्ने कार्य भएको श्रेष्ठले बताए।
वडा ९ एतिहासिक स्थान रहेको भन्दै गर्जुधारासहित नायारणहिति र सात धारा प्रदेश सरकार र केन्द्र सरकारलाई आग्रह गर्दै जीर्णोद्वारको क्रममा रहेको उनी बताउँछन्। यहाँ धेरै पाटीपौवा राजकुलो रहेको र राजकुलो संरक्षणको लागि मात्रै ३ करोडको बजेट छुटाइसकेको छ।
सम्राट अशोक नेपाल आउँदा उनले चित्लाङमा समेत चैत्य निर्माण गरेका थिए। त्यही चैत्य भएका कारण यस क्षेत्रलाई 'चित्रापुर/ चैतलोङ' समेत भन्ने गरिन्थ्यो। केही समयदेखि चैत्य जीर्ण बनेकोले हाल त्यसको पुनर्निर्माणको काम भइरहेको श्रेष्ठले बताए।
'अशोक चैत्य ढल्केको अवस्थामा रहेको थियो। त्यसलाई मर्मत गर्ने काम भइरहेको छ। साथै लिच्छविकालिन र मल्लकालिन शिलालेखहरुको संरक्षणमा पनि जोड दिँदैछौं। पुरातत्वसँग समन्वय गरेर त्यसलाई संरक्षण गर्ने काम भएको छ,' उनले भने।
त्रिवुभव राजपथ बनेपछि चित्लाङको यो एतिहासिक पदमार्ग ओझेलमा परेको बताउँछन् स्थानीय। त्यसैले यो पुरानो पदमार्गलाई ब्युँताउँदै आन्तिरक र बाह्य पर्यटक आर्किषत गर्ने योजनामा छ चित्लाङ।
हाल चित्लाङमा करिब ५० भन्दा बढी होमस्टेहरु संचालित छन्। स्थानीय सरकारले एतिहासिक पदमार्ग ब्युताएँपछि हाल बिदाको समयमा चित्लाङ पुग्नेहरुको संख्या बढ्दो छ। काठमाडौंबाट नजिकै रहेको स्थान भएकाले पनि यो क्षेत्र आन्तरिक पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै गएको स्थानीय व्यवसायी बताउँछन्।
होमस्टे संचालन गर्दै आएका राम मानन्धरले भने, 'कोरोनाका कारण धेरै समय यहाँ आवतजावत रोकियो। पछि अवस्था सामान्य हुँदै गएपछि पदमार्ग हुँदै पर्यटकहरु आउने क्रम बढ्दो छ।' उनले हाल काठमाडौंबाट इन्द्रसरोवर आउनेहरुको संख्या उच्च रहेको भन्दै ती पर्यटकहरुलाई चित्लाङमा आकर्षित गर्न सके पर्यटन क्षेत्रको थप विकास हुने बताए।
'चित्लाङ थाहा हुनेहरु मार्खु हुँदै हुनेहरु आउँछन्। यता राम्रो होमस्टेहरुको व्यवस्था छ। उता आउनेहरुलाई यहाँ ल्याउन प्याकेजको व्यवस्था गर्न सके राम्रो हुन्थ्यो,' उनले भने।
वडाअध्यक्ष श्रेष्ठ भन्छन्, 'होमस्टेसँगसँगै पर्यटन विकास भएको छ। काठमाडौं नजिकै भएका कारण धेरै मानिसहरु आउने गरिरहेका छन्। चन्द्रागिरि हुँदै धेरै मानिसहरु आइरहेका छन्। आउने दिनहरुमा पनि थप सेवा सहितका होमस्टेहरु संचालित हुनेछन्। त्यसका लागि भौतिक पूर्वाधारको विकास गर्नुपर्नेछ। पर्यटन समितिहरु छन्, त्यसले काम गरिरहेको छ।'
होमस्टे त बने। पर्यटकहरु नि विस्तारै आउँदैछन्। तर चित्लाङमा पर्यटकलाई देखाउने चाहिँ के?
त्यसैले वडा र स्थानीय मिलेर चित्लाङको ऐतिहासिक वस्तीमा रहेका सम्पदा र सांस्कृतिक क्षेत्रसहित पुरानो नेवार र तामाङ बस्ती नै संरक्षण गर्न जुटिरहेको वडाअध्यक्ष श्रेष्ठले बताए। हाल चित्लाङमा पुरानै शैलीमा घरहरु रहेका छन्। त्यो शैलीलाई जिवन्त बनाउन भन्दै वडामा घर बनाउँदा पुरानै शैलीमा बनाउनुपर्ने मापदण्ड, वडाले अनुदान दिने लगायतका सुझावहरु आएको बताउँछन् उनी।
'पुरानो ठाउँ पुरानै शैलीका घरहरु बन्नुपर्छ भनेर सुझावहरु आएका छन्। त्यसलाई हामीले धेरैपटक छलफलमा लग्यौं। नीतिगत निर्णय चाहिँ नगरपालिकाले गर्न सकेको छैन,' उनले भने।
वडा अध्यक्ष श्रेष्ठले आफू पुरानै शैलीमा घरहरु बनाउने र बचाउने पक्षमा रहेको भन्दै स्थानीयहरुको सुझाव कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताए।
वडाले विकास निर्माणदेखि सम्पदा संरक्षणको काम हेर्दै आइरहेको भन्दै उनले बजेटको अभावका कारण सक्दो संरक्षणको काम अघि बढ्न नसकेको स्वीकारे। हाल वडाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत क्षेत्र रहेको भन्दै उनले सबैको समन्वयमा अन्य विकासका योजनाहरु अघि बढेको बताए।
'वडासँग धेरै बजेट छैन। त्यसैले हामीले प्रदेश र केन्द्रसँग मिलेर काम गरिरहेका छौं। अहिले हाम्रो प्राथमिकता शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा रहेको छ। तर यस स्थानको पहिचान बनाउन भने हामी मिलेर अघि बढिरहेका छौं,' उनले भने।