काठमाडौं : पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक घटनाक्रम यसरी ह्वात्तै बढ्यो कि सुरक्षा निकायलाई भ्याइ नभ्याइ हुन थाल्यो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एक समूह विघटनको विरुद्ध सडकमा नै उत्रियो।
त्यसपछि काठमाडौं उपत्यकाभित्र दैनिकजसो विभिन्न राजनीतिक दलहरुका कार्यक्रम र सभा भइ नै रहे। दुई गुटका कार्यक्रर्ता बिचको टकराव पनि उतिकै रह्यो। आरोप प्रत्यारोप पनि उत्तिकै। यी सबै घटनाक्रमको मारमा पर्यो नेपाल प्रहरी। कार्यक्रममा सुरक्षा दिनेदेखि निषेधित क्षेत्रमा प्रवेश गर्न रोक्ने सम्मको काम प्रहरीकै काँधमा थियो।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको तथ्याङ्क अनुसार तीन महिनामा काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा ८ सय ४१ वटा कार्यक्रम भए। ती सबै कार्यक्रममा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको रानीपोखरी कार्यालयका प्रमुख एआइजी हरीबहादुर पालले जानकारी दिए।
पुस महिना मात्र २ सय २८ वटा राजनीतिक तथा विशेष कार्यक्रम भएको प्रहरीले जानकारी दिएको छ। पुस महिनाको यी कार्यक्रममा थप ७ हजार ९ सय ६४ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यस्तै, माघ महिनामा राजनीतिक दलका कार्यक्रम झनै बढ्यो। एक महिनामा ३ सय ६१ वटा कार्यक्रम भए। दुई गुटका नेताहरुले काठमाडौं उपत्यकाभित्र दुई विशाल जनसभा यही महिनामा गरेका थिए। जसमा १० हजार ७ सय २५ जना सुरक्षाकर्मी परिचालन गरेको एआइजी पालले बताए।
फागुन महिनाको दोस्रो साता सर्वोच्च अदातलले प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला सुनायो। त्यसपछि राजनीतिक कार्यक्रम कम हुँदै गएको छ। अन्य समयमा झै विशेष कार्यक्रमहरु भने कायम हुने नै भए। राजनीतिक कार्यक्रम घट्दा समग्र कार्यक्रमको सङख्या पनि घट्यो। फागुन महिनाको २८ गतेसम्म उपत्यकाभित्र २ सय ३१ वटा कार्यक्रम भएका थिए। फागुनमा ९ हजार ८ सय १५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।
