काठमाडौंः काठमाडौं उपत्यकाभित्र गएको तीन महिनामा सवारी दुर्घटनामा ४५ जनाले ज्यान गुमाएका छन्।
पुस महिनादेखि फागुन २८ गतेसम्म ४५ जनाले दुर्घटनामा ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय,रानीपोखरीको तथ्याङ्कले देखाएको छ। यसरी मृत्यु हुनेहरूमा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनाबाट भएको देखिएको छ।
तीन महिनामा काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरमा ३ हजार २ सय २२ वटा दुर्घटना भएका छन्। जसमा ४७ जना मानिस गम्भीर घाइते समेत भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। त्यस्तै २ हजार २ सय १४ जना मानिस दुर्घटनामा परेर साधारण घाइते भएका छन्।
यही अवधिमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक नियम पालना नगर्ने १ लाख ३३हजार २ सय ८१ जना सवारी चालकलाई समेत कारबाही गरेको छ। यो अबधिमा ६ करोड ५७ लाख २७ हजार ८ सय रुपैयाँ जरिवान दस्तुरबाट राजस्व संकलन भएको देखिएको छ।
