काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा लागेका नेतामाथि कारवाहीको प्रकृया अगाडि बढाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले कारवाहीको तयारी सुरु गरेको स्थायी कमिटी सदस्य गणेश साहाले जानकरी दिए।
स्थायी कमिटीको शनिवारको बैठकले एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा तामाङ, श्रम मन्त्री गौरीशंकर चौधरी लगायत एमालेका केन्द्रीय सदस्य मनोनित भएका २३ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्न निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पार्टीले आज कारवाहीको निर्णय गर्ने साहले जानकारी दिए।
'हिजै बैठकमा एजेण्डा अघि बढिसकेको छ। आजको बैठकले थप निर्णय गर्छ,' उनले भने।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी केन्द्रका नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। उक्त निर्णयसँगै एमालेमा विवाद चर्किएको छ भने माओवादी केन्द्रले पनि एमाले प्रवेश गरेकालाई कारवाहीको तयारी गरेको छ। सरकारमा सामेल बादल सहितका मन्त्रीले सांसद पद गए पनि एमालेको ओली समूहलाई नै साथ दिने निर्णय गरिसकेको छ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णय नमान्ने भन्दै समानान्तर गतिविधि गरिरहेका छन्। ओलीले ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठकमा शुक्रवारका निर्णय फिर्ता नलिए बैठक बहिस्कार गर्ने नेपाल-खनालले बताउँदै आएका छन्। उनीहरुले ओलीको केन्द्रीय कमिटी बैठक अघि नै चैत ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेका छन्।
