PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

लहानको बम विस्फोटको जिम्मा लियो गोइत समूहले, घाइते युवकलाई हेलिकप्टरबाट लगियो काठमाडौं



पहिलोपोस्ट

लहानको बम विस्फोटको जिम्मा लियो गोइत समूहले, घाइते युवकलाई हेलिकप्टरबाट लगियो काठमाडौं

जनकपुरधाम : सिराहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ।

घटना भएको करिब ४ घण्टापछि  गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो। जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गोइतले  बम विस्फोट गरेको जिम्मा लिँदै मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरूप विस्फोट गराएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने पनि विज्ञप्ति उल्लेख गरिएको छ। अवस्थामा सुधार नआए यसभन्दा पनि उच्चस्तरको कारबाही गर्ने चेतावनी समेत  दिइएको छ। १२ बजेर ४७ मिनेटमा प्रेसर कुकुर बम विस्फोट गराएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का गोइत समूह मधेश स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र सङ्घर्षमा छ। विस्फोटमा परी ८ जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर भएकाले सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।

आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए। यादव गोइत समूहका 'सेकेन्ड म्यान' समेत रहेका थिए। यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell