अक्सफोर्ड-अस्ट्राजेनेका कोभिड-१९ भ्याक्सिन लगाएका केही ब्यक्तिमा 'ब्लड क्लट'को समस्या देखिएको भन्दै विभिन्न देशहरुले भ्याक्सिनको प्रयोगमा अस्थायी रुपले रोक लगाएका छन्।
अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले विकास गरेको कोभिड-१९ भ्याक्सिनको प्रयोग ब्लड क्लटको सँग जोडिएको छ या छैन भन्ने बारेमा युरोपियन युनियनको औषधी नियामक निकायले अनुसन्धान थालेको छ। उता, युरोपका डेनमार्क, आइसल्याण्ड र नर्वेले अस्थायी रुपमा भ्याक्सिनलाई प्रतिबन्ध लगाएको छ।
भ्याक्सिन लगाएका एक जनाको मृत्यु भएको र 'ब्लड क्लट'का घटनाहरु देखिएको भन्दै डेनमार्कले बिहीवार दुई साताका लागि प्रयोगमा रोक लगाएको हो। आइसल्याण्ड र नर्वेले पनि अस्थायी रुपमा प्रतिबन्ध लगाए पनि कति रुपमा प्रतिबन्ध लगाएको भन्ने नखुलाएको सीएनएनले जनाएको छ।
डेनमार्कका स्वास्थ्य मन्त्री माग्नस हेयुनिकले यस विषयमा थप अनुसन्धान हुनुपर्ने बताएका छन्।
'हामी डेनमार्कको इतिहासमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण खोप अभियानमा छौँ। यस्तो बेला हामीले उपलब्ध सबै भ्याक्सिनको प्रयोग गर्नुपर्ने छ। तर, कुनै भ्याक्सिनमाथि अस्थायी रुपमा रोक लगाउनु सहज निर्णय होइन,' डेनमार्कको नेशनल वोर्ड अफ हेल्थका निर्देशकले जारी गरेको वक्तव्यमा उल्लेख छ, 'तर पनि हामीले धेरै भ्याक्सिन लगाइसकेका छौँ। यस्तोमा साइड इफेक्टका सम्भावित गम्भीर केसहरु आउँदा हामीले समयमै प्रतिक्रिया जनाउनुपर्छ। यसलाई पुन: सुरु गर्नुपूर्व हामी स्पष्ट हुनु जरुरी छ।'
आइसल्याण्डले आफ्नो देशमा समस्या नदेखिए पनि युरोपियन मेडिसिन ऐजेन्सीको सुझाव पर्खिरहेको बताएको छ। यद्यपि, एजेन्सीले भने भ्याक्सिनमा रोक लगाउन सुझाब नदिएको स्पष्ट पारेको छ।
यता अस्ट्राजेनेकाले भने आफ्नो भ्याक्सिनको बचाउ गरेको छ। उसले वक्तव्य जारी गर्दै विरामीको सुरक्षा नै आफ्नो ठूलो प्राथमिकता भन्दै समस्या नभएको बताएको छ। उसले क्लिनिकल ट्रायलको फेज थ्री र पियर रिभ्युले भ्याक्सिनलाई आमरुपमा स्वीकार्य देखाएको बताएको छ।
त्यस्तै, इटाली र अष्ट्रियाले निश्चित ब्याचका भ्याक्सिन प्रयोगमा रोक लगाएको छ। त्यस्तै, इस्टोनिया, लातभिया, लिथुआनिया, लक्सम्वर्गले पनि अष्ट्रियाले प्रतिबन्ध लगाएको ब्याजमा रोक लगाएको छ। अर्कातिर रोमानियाले इटालीमा प्रयोग भएको व्याचका ४२ सय डोज प्रयोगमा रोक लगाएको छ।
इटालीमा दुई जनाको भ्याक्सिन लगाएपछि मृत्यु भएको भन्दै भ्याक्सिनमा रोक लगाएको बीबीसीले जनाएको छ।
त्यस्तै, अष्ट्रियाले भ्याक्सिन लगाएको १० दिनमा एक महिलाको गम्भीर खालको रगत जम्ने समस्याबाट मृत्यु भएपछि रोक लगाएको उल्लेख छ। अष्ट्रियामा १० लाख डोज ABV5300 ब्याजको भ्याक्सिन पठाइएको थियो। जुन युरोपका १७ देशमा प्रयोग भइरहेको छ।
बिहीवार नै फ्रान्स र जर्मनीले भने खोप अभियानलाई निरन्तरता दिने बताएका छन्। 'जोखिम भन्दा फाइदा बढी भएको' भन्दै फ्रान्सका स्वास्थ्य मन्त्री वलिभर भेरानले अष्ट्राजेनेकाको प्रयोगलाई निरन्तरता दिने बताएका छन्।
त्यहाँका अधिकारीहरुले भ्याक्सिन लगाएकाहरु केही मृत्यु तथा ब्लड क्लटका केही घटनाहरु बाहिर आए पनि यी दुई घटनाको सम्बन्ध रहे नरहेको खुल्न सकेको छैन।
भारतले पनि अनुसन्धान थाल्दै
यता, भारतले पनि युरोपका केही देशमा सार्वजनिक भएका घटनापछि अक्सफोर्ड-अस्ट्राजेनेकाको साइड इफेक्टको बारेमा अध्ययन सुरु गरेको छ। भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले सोही भ्याक्सिनलाई 'कोभिसिल्ड'को नाममा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।
नेपालमा सोही भ्याक्सिन २३ लाख ४८ हजार डोज आएको छ। जसमध्ये १५ लाख बढीले भ्याक्सिन लगाएका छन्। कोभिसिल्ड भ्याक्सिन क्यान्डिडेट अक्सफोर्ड विश्वविद्याका अनुसन्धानकर्ताले अनुसन्धान गरी विकास भएको अस्ट्राजेनेकाले लाइसेन्स पाएको एजेडडी १२२२ को फर्मुलाबाट बनेको हो।
भारतको सरकारी तथ्यांक अनुसार भ्याक्सिन लगाएका मध्ये हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र एक जना ४१ वर्षका पुरुषको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयले जनाएको छ। उनको मृत्यु मायोकार्डियलका कारण भएको बताइएको छ। मृत्यु भएका मध्ये २३ जनाको अस्पतालमा र २३ जनाको अस्पताल बाहिर मृत्यु भएको उल्लेख छ।
भारतको कोभिड-१९ नेशनल टास्क फोर्सका सदस्य एन के अरोडाले साइड इफेक्टको बारेमा अध्ययन गरिरहेको बताएका छन्। उनले खास गरी खोप लगाएपछि मृत्यु भएका र अस्पतालमा भर्ना भएका घटनाहरुको अध्ययन गरिरहेको बताएका छन्।
भ्याक्सिन लगाएपछि भएको मृत्यु संयोग हुन सक्ने भन्दै अरोडाले सबै घटनाको समीक्षा भइरहेको बताएका छन्।