काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णयलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा पत्र आएको जानकारी दिए।
ओलीले पार्टी विधान विपरीत केन्द्रीय कमिटीको बैठक बोलाएर निर्णय गरेको भन्दै नेपाल-खनाल समूहले निवेदन दिएको हो।
नेपाल-खनाल समूहका नेता राजेन्द्र पाण्डेले ओलीको निर्णयलाई मान्यता नदिन निवेदन दिएको बताए। 'पार्टीको विधान विपरीत भएका निर्णयलाई मान्यता नदिन भन्दै निवेदन दिएका छौं,' उनले भने।
ओलीले शुक्रवार केन्द्रीय कमिटीको बैठक बोलाएर माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने नेपाल-खनाल समूहका नेतालाई जिम्मेवारी मुक्त बनाएका थिए।
