काठमाडौं : यस वर्षको क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखि हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतवार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो।
मेला जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। कोभिड महामारीका कारण गतवर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरी यस वर्षको मेला आयोजना हुन लागेको हो। कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सतर्कतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएको छ।
क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन्। सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ।
यस वर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औँ संस्करण हो। क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ।
