PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा सहभागी टिम सार्वजनिक



पहिलोपोस्ट

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा सहभागी टिम सार्वजनिक

काठमाडौं : विभिन्न सात शहरको प्रतिनिधित्व हुने गरी आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा सहभागी फ्रेन्चाइज टिम सार्वजनिक गरिएको छ। नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आइतवार कार्यक्रमको आयोजना गरी फ्रेन्चाइज टिम र टिम मालिक सार्वजनिक गरेको हो। ७ फ्रेन्चाइज टिमको सहभागिता रहने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन्।

लिगमा विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई रहेका छन् भने काठमाडौंका टिम मालिक चिरन्जिबी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवास शाही रहेका छन्। फ्रेन्चाइज टिम मालिकहरुले एनएसएलमा शहरको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा उत्साहित भएको बताए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले फ्रेन्चाइज लिगको अवधारणाले फुटबलको नयाँ अध्याय सुरुवात भएको प्रतिक्रिया दिए।

एनएसएल आगामी वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिनेछ। सिंगल राउण्ड रोविन लिगका आधारमा एनएसएल फ्रेन्चाइज लिग अवधारण सुरुवात भएसँगै फुटबलले नयाँ गति लिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए। शेर्पाले विभिन्न क्लबसँग खेलाडीलाई फुकुवाका लागि सम्बिन्धित क्लबसँग सल्लाह भएको र एनएसएलसँगै ए डिभिजन लिग पनि अगाडि बढाउने जानकारी दिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा कुल १९ खेल हुनेछ। टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ। खेलाडीको छनोट अक्सनबाट हुनेछ। अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नुपर्नेछ। लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन्। त्यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन्। प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell