PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

प्रदेश सभा सदस्य ठम्मर विष्टको कुर्सी दौड, ओलीले केन्द्रीय सदस्य दिएको २४ घण्टा नबित्दै फर्किए माओवादीमै



पी बी खड्का

प्रदेश सभा सदस्य ठम्मर विष्टको कुर्सी दौड, ओलीले केन्द्रीय सदस्य दिएको २४ घण्टा नबित्दै फर्किए माओवादीमै

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता मायाप्रसाद शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक सांसदलाई स्वागत र बधाई दिदैँ फोटो पोष्ट गरे।

भब्य स्वागत तथा धेरैधेरै बधाई कमरेड ठम्मर बिष्टलाई ।

Posted by Mayaprasad Sharma Parashmani on Sunday, March 14, 2021

आइतवार उनले सामाजिक सञ्जालमा लेखे - भव्य स्वागत तथा धेरै धेरै बधाई कमरेड ठम्मरबहादुर विष्टलाई। उनी माओवादी केन्द्रकै  सांसद हुन्। सुर्खेत निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित विष्ट गत असोजदेखि स्थिर छैनन्। 

गत असोजमा अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको एमाले ओली समूहको पक्षमा उभिए। हस्ताक्षर गरे। 

कर्णाली सरकारको नेतृत्व गरेका माओवादी केन्द्रकै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनी केही समय ‘शाही सरकार’ ढाल्न तल्लिन बने।

तर, अविश्वासको प्रस्तावबाट एमालेकै नेता माधव नेपाल समूह माओवादी केन्द्रकै मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने गरी फिर्ता भए। माधव समूहले साथ दिने भएपछि त्यसो त उनी पनि दुई/चार दिनमै फेरि माओवादी केन्द्रमै फर्किए।

‘पार्टी फुट्ने नै भयो भनेर म अविश्वासको प्रस्तावबाट फिर्ता भएको हुँ,’ यसअघि सांसद विष्टले भनेका थिए।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणापछि तत्कालिन नेकपा विभाजित भएसँगै सांसद विष्ट फेरि ओली समूहमा खुलेरै लागे।

प्रदेश राजधानीमा समेत ओली समूहको समर्थनमा हुने भेला, जुलुस्, सभा सम्मेलनमा उनी भाषण गर्न पुगे।  ओलीको समर्थन जनाउँदै प्रचण्ड–नेपाल समूहको चर्को विरोधमा उत्रिए।

सर्वोच्च अदालतको फैसलापछि टुक्रिएको नेकपामा एमाले ओली समूहबाट केन्द्रिय सदस्य मनोनित पनि भए। ओली पक्षका नेता, कार्यकर्ताको तर्फबाट स्वागत र बधाई थाप्न भ्याई नभ्याई भयो।

केन्द्रिय सदस्यमा मनोनित भएको ४८ घण्टा नबित्दैँ उनी फेरि स्वागत तथा बधाई थाप्न पुरानै थलो अर्थात माओवादी केन्द्रमै फर्किएका छन्।

‘पार्टी अध्यक्ष (प्रचण्ड) सहित विभिन्न बहस र छलफल पश्चात उहाँ आफ्नै मुल घरमा फर्किनु भएको हो,’ माओवादी केन्द्रका नेता शर्माले भने।

यसअघि किन असहमति भयो भन्ने विषय छलफलको विषय बनेको भन्दै अहिले सांसद विष्टलाई कुनै प्रलोभनमा नपारेको उनको दावी छ।

प्रदेशसभा सदस्य विष्ट जस्तै ‘कुर्सी दौड’ खेलकै क्रममा छन् दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मी पनि।

संसदमा प्रभावशाली मानिएका यि दुई सांसद पद र स्वार्थकै लागि घरी यता, घरी उता दौडिएको आंकलन गर्न थालिएको छ।

सांसद रेग्मी अहिले ओली समूहको तर्फबाट एमाले कर्णाली प्रदेशको सचिव पदमा नियुक्ति पाएका छन्।

उनी भने अहिलेसम्म माओवादी केन्द्रमा फर्किएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell