काठमाडौं : नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले काँग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन्। आफूहरूको मूल लक्ष्य आमनिर्वाचन भए पनि अबको अल्पकालीन अवस्थामा संसद्को अङ्क गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकूल अवस्था भए काँग्रेस सरकारमा जान पनि सक्ने उनको भनाइ थियो।
‘नेपाली काँग्रेसको मूल लक्ष्य आमनिर्वाचन हो,’ नेता महतले भने, ‘अबको अल्पकालीन अवस्थामा सरकारको नेतृत्व गर्न पनि काँग्रेस तयार छ।’ काँग्रेस सरकारमा गए सभापति शेरबहादुर देउवाले नै नेतृत्व गर्नेमा आम सहमति रहेको दाबी उनको थियो। काँग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउँदै नेता महतले अन्य पार्टीको नेतृत्वमा काँग्रेस सरकारमा नजाने दाबी गरे।
‘स्वाभाविक र प्राकृतिक रूपमा नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ,’ महतले अगाडि भने, ‘तर अस्वाभाविक र अप्राकृतिक शर्तहरू मानेर नेतृत्व लिनुको अर्थ छैन।' उनले नेपाली काँग्रेस आमनिर्वाचन केन्द्रित भएको पनि बताए।