PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

धुम्वाराहीको वार्तामा ओली र नेपाल भएनन् टसकोमस, समानान्तर भेला र बैठक नरोकिने



पहिलोपोस्ट

धुम्वाराहीको वार्तामा ओली र नेपाल भएनन् टसकोमस, समानान्तर भेला र बैठक नरोकिने

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिचको वार्ता तिक्ततापूर्ण रुपमा नै सकिएको छ।

झण्डै साढे दुई घण्टासम्म पार्टी कार्यालय धुम्बाराहीमा चलेको बैठक सुरुवातामा हार्दिकतापूर्ण भए पनि अन्त्यमा भने नेताहरुबिच तिक्ततापूर्ण संवाद भएको वार्तामा सहभागी नेताहरुले बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले सुरुवात हार्दिकतापूर्ण भए पनि अन्त्यमा भने तिक्तता पूर्ण संवाद भएको बताए।

'सुरुवात निकै मीठो भयो। अन्त्य भने टर्रो भएको छ,' धुम्वाराहीबाट निस्किँदै गर्दा नेता नेपालले भने, '२८ गतेको बैठक वैधानिक छैन। त्यसलाई शून्यमा पुर्‍याइदिम भनेपछि स्वीकार्य भएन।'

वार्तामा नेपाल समूहले ओलीले फागुन २८ गते गरेका केन्द्रीय कमिटीको बैठकका निर्णय फिर्ता लिनुपर्ने अडान राखेको थियो। तर, उक्त अडानप्रति भने ओलीले आपत्ति जनाए। वार्तामा थुप्रै विषयमा कुरा भए पनि मुख्य असहमतिको बुँदा निर्णय फिर्ता लिने भएको ओली समूहका नेता सुवास नेम्वाङले जानकारी दिए। उनले थुप्रै विषयमा बैठकमा नेताहरुले असहमति जनाएको पहिलोपोस्टलाई बताए।

'वार्तामा नेताहरुबिच थुप्रै सहमतिका विषय रहे। तर, मुख्यगरी २८ गतेको निर्णय फिर्ता लिनुपर्ने उहाँहरुको अडानमा प्रधानमन्त्रीले विरोध गर्नुभयो,' उनले भने।

ओलीले पार्टी विरोधी गतिविधि रोक्न नेपाललाई अनुरोध गरेका थिए भने नेपालले बालुवाटार बसेर एमालेको गुट नचलाउन ओलीलाई चेतावनी दिएका थिए।

वार्तापछि ओली निकट नेता तथा उप-प्रधानमन्त्री ईश्वर पोखरेलले सहमति भइनसकेको भए पनि संवाद जारी रहने बताए। उनले नेपाल समूह अडानबाट पछि नहट्दा सहमति नभएको आरोप लगाए।

'सकारात्मक रुपमा संवाद प्रारम्भ भयो। संवाद जारी रहन्छ। थप छलफल गर्नुपर्छ भन्दै सकिएको छ। अडानबाट पछि नहटेपछि सहमति भएन,' उनले भने।

नेपाल समूहका नेताहरुले वार्ताले निकास दिन नसक्ने बताएका छन्। नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी पुनर्जागृत गर्न वार्ता भए पनि सुखद् संवाद नभएको बताए।

'पार्टी एकतालाई पुनर्जागित गर्ने विषयमा कुराकानी भयो तर देखिएका समस्या समाधान भएन,' उनले भने।

यस्तै, ओली समूहका नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले खुलस्त छलफल भएको भए पनि सहमति हुन नसकेको बताए। नेपाल समूहले २८ गतेको बैठकको स्वामित्व आफूले नलिने अडान राखेपछि वार्ता विफल भएको उनको भनाइ थियो।

'साझा अवधारणाका बारेमा कुराकानी भएको छ। अन्तर्विरोधलाई छलफल गरेर जाने कुरा भएको हो। सिंगो एमालेले मात्रै देशलाई निकास दिन सक्छ भन्नेमा हाम्रो साझा धारणा छ। मुख्यकुरा २८ गतेको बैठकको स्वामित्व ग्रहण कसरी ग्रहण गर्ने भनेर भन्नुभयो उहाँहरुले। हामीले पुनरावलोकनको काम गर्छौ फिर्ता भन्दा पनि भन्यौं। त्यो भएपछि सहमति भएन,' उनले भने।

ओलीले नेपाल समूहको चैत ४ र ५ को भेलालाई रोकेर ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन अनुरोध गरेका थिए। तर, नेपाल समूहले भने उक्त भेला नरोक्ने अडान राखेको ज्ञवालीको भनाई छ।

'भेला नगरौ दुरी बढाउने काम मात्रै गर्छ भन्यौं। तर, उहाँहरुले मान्नु भएन,' उनले भने।

यस्तै, नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीले फागनु २८ गतेको निर्णय फिर्ता लिने प्रतिवद्धता नजनाएका कारण वार्तामा सहमति नभएको बताए।

'आजको छलफलमा प्रमबाट र हामीले धारणा राखौं। उहाँले पनि एकता बनाउने धारणा राख्नुभयो। हाम्रा सम्पूर्ण काम ३ वर्ष अघिबाटै अगाडि बढनुपर्छ भन्दै आएका थियौं। तर, पार्टी अध्यक्षबाट जुन काम कारवाही भयो मुख्यगरी २८ गतेको निर्णयको प्रभाव पनि शून्य हुन्छ भन्ने हो। तर, त्यो कुरालाई प्रधानमन्त्रीबाट सुन्न पाइएन। त्यसैले सहमत गर्ने कुरै भएन,' उनले भने।

एमालेको ओली समूह र नेपाल समूहबिच विवाद चर्किएका बेला धुम्बाराहीमा भएको वार्तालाई महत्वका साथ हेरिएको भए पनि निष्कर्ष विहीन भएपछि एमालेका दुवै समूहले आफ्ना गतिविधिलाई यथावत राख्ने भएका छन्।

दुवै समूहले एक अर्का विरुद्ध समानान्तर गतिविधि गरिरहेका छन्। नेपाल समूहले समानान्तर कमिटी नै गठन गरेर गतिविधि गरिरहेको छ भने ओलीले चैत ७ को केन्द्रीय कमिटीको बैठका अनुपस्थित रहेका नेपाल समूहलाई कारवाही गर्ने चेतावनी दिएका छन्। आइतवार साँझ नेपाल समूहका ११ जना नेताले ओलीमाथि गम्भीर आरोप लगाउँदै विज्ञप्ति निकालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell