काठमाडौं: प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक विना निष्कर्ष टुंगिएको छ। दिउँसो २ बजे सुरु भएर चार घण्टा चलेको बैठकमा मुख्य एजेण्डा रहेको अध्यादेशहरुका सम्बन्धमा सहमति जुट्न सकेन।
पहिलो बैठकमा सरकारले संवैधानिक परिषद् सम्बन्धी सहित ७ वटा विधेयक संसदमा प्रस्तुत गर्न खोज्दा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले अवरोध गरेका थिए। सहमति नजुट्दा दोस्रो बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको थिएन।
भोलि संसदको तेस्रो बैठक दिउँसो १ बजे बस्दैछ। हिउँदे अधिवेशनको तेस्रो बैठकअघि पहिलोपटक बसेको कार्यव्यवस्था परामर्श समितिमा अध्यादेशबारे सहमति नभएको संसद सचिवालयले जनाएको छ। अध्यादेशमा सहमति नभएसँगै दलीय आधारमा हुने सम्बोधन पनि नहुने भएको छ। पहिलो बैठकमै दलीय आधारमा सम्बोधन हुने भए पनि सहमति नहुँदा प्रभावित भइरहेको छ।
संसद सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार संसद बैठकको ७ सदस्यीय अध्यक्ष मण्डल सदस्यहरु मनोनयन गर्ने र शोक प्रस्ताव पारित गर्ने मात्रै कार्यसूची तय भएको छ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरुले संसद बैठकको अध्यक्षता गर्छन्। हरेक अधिवेशनमा सदस्य हेरफेर हुन्छ। सभामुख अग्नी प्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको दलीय आधारमा मनोनयन गर्नेछन्।
त्यसैगरी नेकपा एमालेका संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको महासचिव गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सहभागी दलका प्रमुख सचेतकहरुका अनुसार अध्यादेश ल्याउने सम्बन्धमा सरकारसँग समन्वय गर्न सभामुख सापकोटालाई जिम्मेवारी दिइएको छ।
बैठकमा विपक्षी दलले सरकारले सदनलाई बिजनेस विहीन बनाएको र अध्यादेश ल्याउन तदारुकता पनि नदेखाएको आरोप लगाएका थिए। सत्ता पक्षले भने अध्यादेश पारित गरेर अगाडि बढ्नुपर्ने राय राखेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
