PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

धुम्वाराहीमा ओलीसँग टर्रो कुरा गरेर छुट्टिएका माधवले आफ्नो समूहको भेलामा भने, ‘बालुवाटार नजानू’



पहिलोपोस्ट

धुम्वाराहीमा ओलीसँग टर्रो कुरा गरेर छुट्टिएका माधवले आफ्नो समूहको भेलामा भने, ‘बालुवाटार नजानू’

काठमाडौं: नेकपा एमालेभित्रको माधव नेपाल समूहले बालुवाटारको चियापान बहिष्कार गर्ने निर्णय गरेको छ।

सोमवार विहान पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल समूहको बैठकले बालुवाटारको चियापानमा सहभागी नहुने निर्णय गरेको हो।

प्रधानमन्त्री ओलीले भोलि मंगलवार विहान ११ बजे बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा उपस्थित हुन एमालेका सबै नेतालाई बोलाइएको छ। तर माधव नेपालले भने बानेश्वरमा बैठक राखेर नजान आफ्नो समूहका नेतालाई निर्देशन दिएका हुन्।

नेता सुरेन्द्र पाण्डेका अनुसार बैठकले आफ्नो समूहको भेलासमेत नरोक्ने निर्णय गरेको छ। नेपाल समूहले यहीँ ४ र ५ भेला राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ।

बैठकमा ओलीसँग भएको छलफलबारे नेता नेपालले ब्रिफिङ गर्दै सकारात्मक नभएको सुनाएका थिए।

धुम्बाराहीमा भएको बैठकमा ओली र नेपाल दुबैले आ-आफ्नो अडान राखेका थिए। बैठकपछि नेता नेपालले ओलीसँग सुरुमा गुलियो कुरा भएको र छुट्टिँदा टर्रो कुरा भएको बताएका थिए।

फागुन २८ गते प्रधानमन्त्री ओलीले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायतका नेताको जिम्मेवारी खोसुवा गरेर अन्यलाई नियुक्ति दिएका थिए। साथै, नेकपा माओवादीका नेताहरुलाई केन्द्रीय सदस्य बनाएका थिए। त्यसको विरुद्धमा नेपाल समूहले पार्टी अध्यक्ष ओलीविरुद्ध अभियान नै छेडेको छ।

धुम्बाराही बैठकमा नेपाल समूहले उक्त निर्णय फिर्ता लिन भनेपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले ठाडै इन्कार गरेका थिए। त्यसैगरी ओलीले समानान्तर भेला नगर्न भने पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गरेका छन्। त्यसपछि आज वार्ता कुनै निचोडमा पुग्न सकेन।

ओलीले नेपाल समूहलाई समानान्तर गुट नचलाउन चेतावनी नै दिएका थिए। त्यसलाई अस्वीकार गर्दै बाहिरिएका नेपाल समूहले तत्कालै बैठक डाकेको थियो। यो समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला नै आयोजना गर्दैछ। हिजोमात्र निर्वाचन आयोग पुगेर ओलीले गरेको २८ गतेको निर्णय नमान्न निवेदन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell