काठमाडौं: नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडी बढाउने मानसिकतामा नरहेको बताएका छन्।
सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खाँडले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन्। मंगलबार संसदको बैठक बस्ने भए पनि सरकारले हालसम्म कुनै पनि बिजनेश नदिएको उनको भनाई छ।
सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भए पनि ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको उनले बताए।
उनले भने, ‘सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन। उहाँहरुले आजको बैठकमा हेर्दाखेरी सरकारले, सत्ता पक्षले अहिलेसम्म कुनैपनि बिजनेश नै दिएको छैन। अध्यादेशमा संवैधानिक परिषद्को अध्यादेश, संविधानको प्रतिकुल रहेको कारणले हामीले बिरोध जनाएको हो। त्यसमा हामीले बिरोधको सूचना पनि दर्ता गरिसकेको छौं। तर अरु अध्यादेशहरु बास्तवमा सदन चलेको भए सदनबाटै अध्यादेशको रुपमा आएका छन् त्यसलाई परिस्कृत गरेर, परिमार्जित गरेर अगाडि बढाउनुपर्ने ठाउँमा ती अध्यादेशहरुलाई अगाडि बढाउने बारेमा पनि सरकार गम्भीर छैन। भोलिको सदनको कार्यसूचिका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन। कुनै कार्यसूचि छैन।’
मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए। उनले भने, ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदानप्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो। भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिको बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दा पनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि कुनै अभिरुचि जनाउनु भएको छैन।’
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ।
