PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

साँघुरियो वीरगंजको मानव सेवा आश्रम



राधेश्याम पटेल

साँघुरियो वीरगंजको मानव सेवा आश्रम

वीरगंज : करिब ५ वर्षदेखि पर्सा र बारा क्षेत्रमा बेसहारालाई साहारा दिँदै आएको वीरगंजको मानव सेवा आश्रम अहिले साँघुरिदै गएको छ। वीरगंज-११ श्रीपुरमा रहेको मानव सेवा आश्रमको तीन तले भवन आश्रितले भरिएको छ। जसले गर्दा व्यवस्थापनमा समस्या भइरहेको आश्रमले जनएको छ।

मानव सेवा आश्रम प्रदेश २ का इन्चार्ज दिवेश गुप्ताका अनुसार गत २०७४ जेठ १५ गते गणतन्त्र दिवसका दिन एक जना असहायबाट शुरु भएको आश्रममा अहिले २७ महिला, २२ पुरुष र २ बालबालिका गरी कुल ५१ जना आश्रितहरु रहेका छन्। करिब एक वर्षदेखि नयाँ घर खोज्दै आइरहेको तर शान्त र सस्तो दाममा वीरगंजमा सुहाउँदो घर नै नपाएको गुप्ताले बताए।

वीरगंजका केही भवन राम्रो लागेपनि घर धनीले आश्रमको लागि डेरा दिन नमानेको उनको भनाइ छ। अहिलेको भाडा र घर बहाल कर जोड्दै मासिक करिब ६०/७० हजार रुपैयाँ वीरगंज महानगरले चन्दा सहयोग गरेपछि वीरगंजको मानव सेवा आश्रमले सेवा गर्न पाएको छ। २० कोठे तीन तल्ले हालको भवनमा शौचलय तथा सुत्न र विभिन्न गतिविधि गर्न पनि साँघुरो भएको गुप्ता बताउँछन्।

उनले खर्च तथा चन्दा वीरगंजका मात्र दाता वा नगरपालिकाले दिने गरेको तर पर्सा र बाराका अन्य अशक्त तथा असहायलाई उद्धार गरी पठाइदिएपछि झन समस्या बढ्दै गएको स्वयंसेवकहरुले दुखेसो पोखेका छन्।

‘आश्रमलाई फोहोर फाल्ने केन्द्रको रुपमा जहाबाट पनि जसलाई पठाइदिनु हुन्छ, खाद्यान्न, कपडा वा अन्य सेवाको कुरा गर्दा जनप्रतिनिधिहरु नै पछाडि हट्जु हुन्छ। जुन क्षेत्रमा असहाय आमा बुवा भेटिनु हुन्छ, सम्बन्धित पालिकाले पनि सहयोग गरी शरण दिने वातावरण बनाउनु पर्छ,’ एक जना स्वयंसेवकले भने।

बाराका कलैया र जितपुरसिमरा उपमहानगरपालिकाबाट पनि धेरै जनालाई ठाउँ नहुँदा पनि पठाउने गरिन्छ। स्वयंसेवकहरुले मानव सेवा आश्रमलाई अन्तै स्थानान्तरण गर्न भवन पत्ता लगाई सहयोग गर्न आग्रह गरेका छन्।

रामजी अधिकारी संस्थापक अध्यक्ष रहेको मानव सेवा आश्रम आजको समयमा ७ वटा प्रदेशको २२ वटा केन्द्र मार्फत सञ्चालनमा छ। नेपालमा कुल १६ सय ५० जना आश्रितलाई शरण दिएको आश्रमको खर्च स्थानीय पालिकाको आर्थिक सहयोग, भोजन सेवा, विवाह, वर्षगाठ, जन्मोउत्सव, पितृ स्मृति दिवसको चलन, मासिक दान एवं खाद्यान्न सहयोगबाट चल्ने गरेको छ।

बिहानको नास्ता र खाना, दिउँसोको खाजा र बेलुकाको खाना र औषधि खुवाएर आश्रितहरुलाई विश्राम कक्षमा पुर्‍याउने दैनिकी रहेको स्वयंहरुको भनाइ छ। ५१ जनामा १० जनामा मात्र मानसिक सन्तुलन ठीक भएका र बाँकी अधिकांश मानसिक सन्तुलन गुमाएका र अशक्त बिरामी रहेका छन्। कतिपयको ओछ्यानमै मलमुत्र सफा गर्नु पर्ने अवस्था रहेको छ।

मानव सेवा आश्रम वीरगंजमा सानु गुरुङ, मुना लिम्बु, निरज पटेल, विधान तामाङ र गुप्ता गरी ५ जना स्वयंसेवकले सेवा दिइरहेका छन्। गुप्ता प्रदेश २ को हरिवनमा स्थापना भएको मानव सेवा आश्रमलाई पनि व्यवस्थापनको जिम्मा पाएका छन्। हाल विराटनगर, वीरगंज, हरिवन, हेटौँडा मुख्य कार्यालय, चिवतन, काठमाडौं, भक्तपुर, ललितपुर, बुढानिलकण्ठ, पोखरा, लमजुङ, बाग्लुङ, गोरखालगायत २२ वटा केन्द्र मार्फत बेसहारालाई सेवा दिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell