PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाली क्रिकेटको फ्रेन्चाइज लिगका सुरुवातकर्ता सुवास अब फुटबल टिमको मालिक : भन्छन्, 'लगानी गर्ने हो, प्रतिफल दीर्घकालीन मिल्छ'



मुकुन्द घिमिरे

नेपाली क्रिकेटको फ्रेन्चाइज लिगका सुरुवातकर्ता सुवास अब फुटबल टिमको मालिक : भन्छन्,  'लगानी गर्ने हो, प्रतिफल दीर्घकालीन मिल्छ'

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल), नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज लिग। अनि यसको मुख्य आयोजक हुन् सुबासबहादुर शाही। तर उनी पछिल्लो समय लागेका छन् फ्रेन्चाइज फुटबलमा। प्रतियोगिताका लागि होइन धनगढी फुटबल क्लबको नेतृत्व गरेर नेपाल सुपर लिग (एनएसएल)को तयारीमा छन् उनी।

व्यवसायिक घरानाहरुको ठूलो लगानीमा आयोजना हुन गइरहेको एनएसएलमा शाही आफ्नो अनुभवलाई लिएर अघि बढेका छन्। सोमवारमात्र शाहीको टिम धनगढी एफसीले आफ्नो 'मार्की खेलाडी'को घोषणा गर्‍यो। राष्ट्रिय टोलीका नियमित खेलाडी विशाल राई बने धनगढीका मार्की खेलाडी।

खेलकुदकै पृष्ठभूमिबाट आएका शाही क्रिकेट र तेक्वान्दोपछि अब फुटबलमा जोडिएका छन्। उनी आफूलाई एनएसएलमा टीम लिने प्रस्ताव आएसँग दोमन नगरी तयार भएको बताउँछन्।

‘सुरुमा प्रस्ताव आएको थियो। हामीले त्यसमा दोमन नगरी ओके भन्यौं। यसको महत्व र इम्प्याक्टबारे लामो अनुभवले फुटबलमा पनि यो सफल हुन्छ भनेर आएका हौं,’ उनी भन्छन्, ‘यो लिग हुँदा धनगढी या सुदूरपश्चिमलाई या एउटा सिटीको ब्राण्डिङ नै हो। सँगसँगै यसले खेलाडीलाई व्यवसायिक बनाउँछ। समग्रमा खेलको विकास हुन्छ। खेल व्यवसायिक भएपछिमात्र खेलाडी व्यवसायिक हुने हो र अघि बढ्ने हो।’

टिमवर्कबाट फ्रेन्चाइजसम्मको यात्रा

शाही फ्रेन्चाइजमा आर्थिक पाटोको व्यवस्थापन गर्न सके उद्योगका रुपमा अघि बढाउन सकिने दाबी गर्छन्। साथै खेलको विकाससँगै खेलाडी पनि व्यवसायिक हुने बताउँछन्। प्रतियोगितामा सुदूरपश्चिमको एकमात्र प्रतिनिधि टिम हुने भएकाले 'सेन्टिमेन्ट' तान्न सकिने उनको बुझाइ छ।

‘सिटीबेस फ्रेन्चाइज भएकाले आफ्नो क्षेत्रको टोली खेलिरहेको भनेपछि त्यहाँका मानिसका अट्याचमेन्ट त त्यतिकै जोडिने भयो त्यो क्षेत्रसँग,’ शाही भन्छन्, ‘त्यसले गर्दा सुदूरपश्चिमको टिम या प्रदेशको टिमको स्वामित्व लिँदा दीर्घकालमा व्यवसायिक त हुन्छ।’

विशेषगरी क्रिकेटको क्षेत्रमा काम गरिरहेका उनलाई फुटबलको फ्रेन्चाइजमा प्रस्ताव आउनुलाई उनी आफ्नो अनुभवसँग जोडेर हेर्छन्। त्यसैले सुरुमै फाइदाको पछि कुद्न नहुने बताउँछन्। भन्छन, 'सुरुको दुई तीन वर्षलाई चाहीँ हामीले लगानी वर्षको रुपमा लिनु पर्ने हुन्छ।'

खेलको लगानीबारे चर्चा गर्दा चार लाखको लगानीमा सुरु गरेको कलेजस्तरीय प्रतियोगितालाई सम्झन्छन् उनी। जसको पहिलो  सिजनमा चार लाखको बजेटमै उनले प्रतियोगिता सम्पन्न गरेका थिए।

त्यही प्रतियोगिता सफल भएसँगै उनले फ्रेन्चाइजमा विभिन्न प्रयोगहरु गर्दै गए। डीपीएलबाट विदेशी उत्कृष्ट खेलाडीहरुसमेतलाई भित्र्याएर खेलाउन सक्ने अवस्थासम्म पुगे उनी।

‘व्यवसायिक उचाइ पनि हाँसिल हुँदै गएको छ। हामीले इभेन्टबाट सिधा आउने क्यासलाई मात्र फाइदाका रुपमा लिनु भएन,’ उनी भन्छन्, ‘आज त्यो सानो कपबाट डीपीएलसम्म आइपुग्दा त्यहाँ अन्तर्राष्ट्रिय मैदानसम्म बन्ने अवस्था बन्यो। भोलि अन्तर्राष्ट्रिय रंगशाला बनिएर अन्तर्राष्ट्रिय प्रतियोगिता भइसक्दा त त्यहाँको पर्यटन र अर्थतन्त्रसँग त जोडियो नि। यसले सिटीलाई नै अन्तर्राष्ट्रिय स्तरमा लैजाने भयो नि त।’

उनी धनगढी खेलकुदले गर्दा नै अन्तर्राष्ट्रिय स्तरको सिटी बन्ने वातावरण बनेको दाबी गर्दै भन्छन, 'धेरैले क्रिकेटले गर्दा धनगढी चिने, अब फुटबलबाट पनि चिन्नेछन्।'

खेलकुदको लगानीलाई दीर्घकालीन लगानीको रुपमा लिनुपर्नेमा उनको जोड छ। आफूले चाहेको भए कुनै एउटा इभेन्टबाट पनि पैसा बचाउन सक्ने अवस्था रहेको स्मरण गर्दै उनी आफूले त्यसो नगरेकाले खेलकुदको माध्यमबाट दीर्घकालीन फाइदा हुने काम गरेको बताउँछन्।

‘यदि हामी पैसा जोगाउन लागेको भए इभेन्टको ग्रोथ हुने थिएन। धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने या खेललाई अझै माथिल्लो स्तरमा लैजाने भन्ने उद्देश्य प्राप्ति हुँदैन थियो,’ उनी भन्छन्, ‘हामीले क्यास बेनिफिट भन्दा त्यसको दीर्घकालीन असरलाई हेरेका हौं।’

विभिन्न क्षेत्रमा काम गरिरहेको शाहीको टिमवर्कमा केन्द्रीत हुनुपर्ने बताउँछन्। आफू सहभागी भएको सबै क्षेत्रमा टिमवर्क राम्रो भएकाले नेटवर्क बनाउन सजिलो भएको उनले दाबी गरे।

‘यो टिमवर्क हो। हरेक क्षेत्रमा हामीसँग राम्रो टिम छ। म क्रिकेटमा होइन एउटा कलेज पनि सञ्चालन गरिरहेको छु, स्कुल पनि सञ्चालन गरिरहेको छु। विभिन्न अभियानहरु पनि चलाइरहेको छु,’ शाही भन्छन्, ‘काम गर्ने भनेको टिमले हो। हामीले टिमलाई साथमा राख्नुपर्छ। एउटा राम्रो टिमलाई साथमा राख्यो भने राम्रो हुन्छ। जति मान्छेहरु भयो त्यति नै आइडियाहरु निस्कँदै जाने त हो।’

डीपीएल कहिले ?

फुटबलमा लगानीको कुरा गर्दैगर्दा उनी आफै आयोजक रहेको डीपीएल कहिले हुन्छ भन्ने बारेमा अन्यौलमा छन्। जबकी अर्को फ्रेन्चाइज लिग दशैँ अघि हुने भनेर घोषणा भइसकेको छ र क्यानले त्यसमा तोक पनि लगाइसकेको छ। यस्तोमा शाही आफूहरुले डीपीएल रहरले भन्दा पनि परिस्थितिले रोक्नुपरेको बताउँछन्।

हुन पनि कोरोनाले कता पो असर गरेन र!

‘हामीले त्यत्रो लगानी गरेर त्यो स्तरमा पुर्‍याइसक्यौं अब फुत्तै छाड्ने कुरा त पक्कै आउँदैन। त्यसलाई अर्को तहमा त लैजाने नै हो,’ शाही भन्छन्, ‘भोलि अर्को तहमा लैजाँदा क्यान पनि आइसकेको अवस्थामा एउटा सहकार्य गरेर अघि बढाउने हो। मैले अहिले आफैँले चाहेर मात्र पनि गर्न सक्ने अवस्था छैन। यसलाई अर्को तहमा लैजान हामी उत्साहित छौं।’

उनी प्रतियोगितालाई फरक स्ट्रक्चरमा लैजान भने लचक सुनिए। उनको आशय छ : फरक फर्म्याटमा नै सही तर प्रतियोगिताले निरन्तरता पाउनुपर्छ।

‘यसमा संघले भएका लिगहरुलाई व्यवस्थापन गर्दै कसरी अघि बढ्ने, नेपाल प्रिमियर लिग कसरी लैजाने भन्नेमा फर्म्याटहरु फेर्न सकिएला, स्ट्रक्चर फेर्न सकिएला,’ शाही भन्छन्, ‘त्यो सबै छलफलबाट आउने कुरा हो नि त। सबैलाई समायोजन गर्न सक्ने बाटो पनि छ।’

खैर, अहिले त माहोल फुटबलको बनेको छ। त्यसैले उनले फरक अनुभव गर्न पाएका छन्। प्रतियोगिताको आयोजकबाट उनी अहिले प्रतियोगितामा सहभागी टिमको मालिक बनेका छन्। तर फरक खेलको।

‘हिजोको दिनमा विभिन्न फ्रेन्चाइज टिमहरु ह्याण्डल गर्थ्यौं। त्यो अर्कै किसिमको चुनौती र अनुभव थियो,’ शाहीले भने, ‘त्यत्रो टिमलाई ह्याण्डल गर्नु, अलगअलग सोचका टिम मालिकहरुसँग विभिन्न समस्याहरु ह्याण्डल गर्दा हामीलाई विभिन्न अनुभवहरु छ।’

प्रतियोगितामा प्रस्तावित विदेशी खेलाडीसँग पनि आफुहरु निरन्तर सम्पर्कमा रहेको उनी बताउँछन्। विदेशी खेलाडीहरुको नाम चाँडै घोषणा गर्ने उनले बताए।

त्यस्तै, स्पोन्सर ल्याउन पनि खास समस्या नहोला भन्ने उनले विश्वास राखेका रहेछन्।

‘स्पोन्सरसँग हाम्रो विगतदेखि नै लामो सम्बन्ध पनि छ। हामीले यसको महत्व सजिलै बुझाउन सक्छौं जस्तो लाग्छ। यसमा स्पोन्सर गरे दीर्घकालीन फाइदा दिन्छ भनेर बुझाउन सकिन्छ भन्नेमा विश्वस्त छौं,’ उनी भन्छन्,’ यो सामाजिक कार्य जस्तो मात्र त होइन। यो रिटन पाउनकै लागि लगानी गर्ने हो। ब्रान्डिङका लागि खेलकुद पक्कै राम्रो प्लेटफर्म हुन सक्छ। अझ नाइट गेम छ। फुटबलमा क्रेज पनि राम्रो छ।’

प्रतियोगितामा खर्च हुने बजेटबारे उनी खास खुल्न चाहेनन्। तर प्रतिफल पाउन केही वर्ष भने लगानीका रुपमा खर्च गर्नुपर्ने अवस्था रहने उनले सुनाए।

‘आफूले कति खर्च गर्ने भन्नेमा भर पर्छ। यसमा राम्रै खर्च चाहीँ हुन्छ। कसैले करोडौं पनि गर्छ होला। त्यो आआफ्नो रणनीति हो,’ उनी भन्छन्, ‘यसमा विदेशी खेलाडी र मार्की खेलाडीको लागि सीमा छैन। मार्केटिङमा कति खर्च गर्ने भन्ने टिमहरुको रणनीतिमा भर पर्छ।’

राम्रो टिम बनाउने र जित्नकै लागि खेल्ने आफ्नो रणनीति बताउने उनले करोडमाथिको लगानी हो भन्ने प्रश्नमा 'नाइ' भने भन्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell