PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एमाले विवादबारे विष्णु रिजालको ट्वीटर थ्रेड : ओलीले छापामार शैलीमा गरेका निर्णय खारेज गरे एकताको वातावरण बन्छ



एमाले विवादबारे विष्णु रिजालको ट्वीटर थ्रेड : ओलीले छापामार शैलीमा गरेका निर्णय खारेज गरे एकताको वातावरण बन्छ

काठमाडौं : सर्वोच्च अदालतको 'नेकपा' पार्टी विवादसम्बन्धी फैसलापछि अहिले नेकपा एमाले र माओवादी केन्द्र ब्यँतिसकेको अवस्था छ। एमाले ब्युँतिएपछि एकले अर्कालाई कारबाहीमा उत्रिएको एमाले एक ठाउँमा बसेर संघर्ष गर्ने तयारीमा देखिएको छ।

यसैअनुरुप सोमवार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पार्टीको मुख्यालयमा आमनेसामने भए। दुई नेताबीच झन्डै तीन महिना लामो संवादहीनता तोडियो। यद्यपि सोमबारको भेट त्यति मिठो भने नभएको नेता नेपालले बैठकपछि बताएका थिए।

यसै विषयमा पार्टीका युवा नेता विष्णु रिजालले मंगलबार बिहान ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। रिजालले एकै बसाईबाट अविश्वास र तिक्तता नमेटिने उल्लेख गरेका छन्। यद्यपि भित्रबाट चुकुल लगाएर किन नआएको भन्न ओली पक्षले नमिल्ने उनको तर्क रहेको छ। नेपाल पक्षका नेता मानिने रिजालले ट्वीट्र थ्रेडमा भनेका छन्, 'नेकपा (एमाले) का नेताहरुबीच सम्वाद प्रारम्भ हुनु आफैँमा सुखद् छ। एउटै बसाइबाट तिक्तता, अविश्वास र आशंका मेटिँदैनन्। तर, भित्रबाट चुकुल लगाएर किन भित्र नआएको भन्दा कुरा मिल्दैन।'

एमाले विवादको चुरो कुरा फागुन २८ गतेको केन्द्रीय कमिटीको निर्णय भएको उनको दाबी रह्यो। उनले उक्त बैठकलाई छापामार शैलीको बैठक भएको आरोप लगाएका छन्। उक्त निर्णय खारेज भएमा एमाले एकताको वातावरण बन्ने उनले ठोकुवा गरेका छन्। रिजालले भनेका छन्, 'फागुन २८ मा केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई खबरै नगरी र त्यहीँ सहभागीहरुलाई पनि आश्चर्य लाग्ने गरी छापामार शैलीमा भएका ‘निर्णय’ खारेज गर्नेवित्तिकै स्वतः एकताको वातारण बन्छ। यतिबेला एमालेमा कसैको कसैसँग माग नै छैन,' रिजालले भनेका छन्। फागुन २८ मा ओली समूहको केन्द्रीय कमिटीले नेपाल खनाल गुटका नेताहरुको जिम्मेवारी खोसेका थिए। यसैगरी ओलीले वामदेव गौतमलाई समेत जिम्मेवारीमुक्त गरेका थिए। प्रधानमन्त्री ओली भने नेपाल समूहको माग सुन्न तयार छैनन्।

रिजालले यसका साथै नवौं महाधिवेशनपछि बनेको र निर्वाचन आयोगको अभिलेखमा रहेको केन्द्रीय कमिटीको बैठक आयोजना गर्नसाथ पार्टी लिकमा हिँड्ने उल्लेख गरेका छन्। यस्तो अवस्थामा सुरुङभित्र छिर्नै नपर्ने उनको सुझाव रहेको छ। उनले भनेका छन्, 'नवौँ महाधिवेशनपछि बनेको र निर्वाचन आयोगको अभिलेखमा रहेको केन्द्रीय कमिटीको बैठक आयोजना गर्नासाथ पार्टी ‘लिक’मा हिँड्न थालिहाल्छ। अनि कुनै विषयमा सर्वसम्मत्ति नभएमा पार्टी विधान बमोजिम बहुमत–अल्पमतका आधारमा निर्णय गरेर अघि बढ्ने स्पष्ट बाटो हुँदाहुँदै किन सुरुङभित्र छिर्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell