PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रेलको बाटो पुग्दै छ रे...! 'रियल लाइफ' 'रिल'मा कैद गर्दा भोगेको दुर्गमको त्यो दुर्दशा



सविन ढकाल

रेलको बाटो पुग्दै छ रे...! 'रियल लाइफ' 'रिल'मा कैद गर्दा भोगेको दुर्गमको त्यो दुर्दशा

अभिको होस केही समय पछिमात्र खुल्यो। आँखा खुल्दा अस्पतालको शैय्यामा थिए उनी - अर्धहोसमा। डोल्पा पुगेका उनी एकाएक क्षेत्रीय अस्पताल सुर्खेतमा भएको थाहा पाउँदा छक्क परे। झसङ्ग त तब भए जब डाक्टर बोलेको सुने - 'अस्पताल ल्याउन केही समयमात्र ढिलो भएको भए ज्यान जान सक्थ्यो।'

अभिलाई लाग्यो - 'दोस्रो जन्म भयो। अब सायद हत्तपत्त मर्दिनँ।'

उनका मानसपटलमा भने केही दिनअघिका दृश्य 'रिक्याप' भइरहेका थिए। तर, पूरा घटना सम्झन सकिरहेका थिएनन्। किनकि यतिन्जेल उनको अवस्थामा सुधार भएको थिएन। क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका लागि आवश्यक केही उपकरण र औषधी अपुग भयो। त्यसपछि परिवारले अभिलाई उपचारका लागि काठमाडौं ल्यायो।

बाँच्नका लागि गरेको त्यो यात्रा पनि कहाली लाग्दो रह्यो। अक्सिजन सिलिन्डरको सहायतामा काठमाडौं ल्याइयो र सुरु भयो उपचार।

+ + +

फागुन १४ गते काठमाडौंबाट एउटा टोली डोल्पा जान निस्कियो। निर्देशक लक्ष्मण सुनारसहित ६ जनाको टोलीलाई छायाँकनका लागि पुग्नु थियो, से फोक्सुन्डो ताल। यात्रामा निस्किएका मध्ये एक थिए अभि सुनार। विकट हिमाली जिल्लामा खिचिने भिडियोमा फिचर्ड हुँदै थिए उनी।

 

काठमाडौंबाट नेपालगन्जसम्म र नेपालगन्जबाट जुफाल विमानस्थल - दुई वटा जहाज र त्यसपछि घण्टौको पैदल यात्रापछि पुगेका थिए गन्तव्यसम्म। जहाजले भूईंमै लगेर छाडे पनि उनीहरूले छाडेको ठाउँको उचाई अन्तर एकै दिनमा दोब्बर भइसकेको थियो। मौसम पनि भिन्न। जे होस्, खर्चिलो यात्रापछि भोग्नु परेको भौगोलिक विकटताका बाबजुद प्राकृतिक सौन्दर्यमा रमाएको थियो जाने सबैको मन। गीतलाई न्याय दिने कथा बनाउन डोल्पा पुगेको बताउँछन् निर्देशक लक्ष्मण सुनार।                                


निर्देशक लक्ष्मण र दुई मोडलहरु


दुई वटा गीतको छायाँकन योजना भएकाले केही दिन त्यहीँ बस्नु थियो। दुवै गीतका मोडल अभि पनि थिए । फरक परिवेशमा हुन लागेको फरक किसिमको कामका लागि उत्साहित थिए सबै। दुई दर्जन भिडियोहरूमा काम गरिसके पनि बन्दै गरेको प्रोजेक्टले अलग छाप छोड्नेमा विश्वस्त थिए उनी।

केही दिनमा पहिलो म्युजिक भिडियो छायाँकन सुरु भयो।

'मेरा लागि यो काम आफैसँगको चुनौती थियो,' अभिले पहिलोपोस्टसँगको कुराकानीमा सुनाए, 'दुई वटा भिडियोमध्ये एउटा गीत रोमान्टिक जनरको थियो। त्यो चिसोमा पातलो लुगामा सिन दिनु थियो। दिएँ।'

पहिलो दिनको छायाँकन साँझ ५ बजे सुरु भयो र राती साढे ११ मा 'प्याकअप'। त्यतिन्जेल अभिको स्वास्थ्यमा समस्या देखिन थालेको थियो। उनलाई लगातार खोकी लागिरहेको थियो। केहीबेरमा उनको स्वासप्रस्वासमा समेत समस्या देखियो।

त्यस रात उनले छट्पटीमै बिताए। बिहानसम्म ठीक हुने आशा समूहका सबैमा थियो। तर, त्यसो भएन। उनको अवस्था बिग्रिँदै गयो।

अभिलाई 'हाइ अल्टिच्युड सिकनेस' भएको ठम्याउन गाह्रो भएन। त्यस्तो अप्ठ्यारो अवस्थामा अर्को समस्या थियो, स्वास्थ्य संस्थाको। नजिक अस्पताल नहुनुले सबैलाई अत्याएको थियो। किनकि सवारी साधनको सहज पहुँच नभएको त्यस ठाउँमा छट्पटाइ रहेका थिए उनी।

ओरालो बाटो मान्छे बोकेर घोडा लैजान नमिल्ने। मान्छेको काँधमा बोकेर सयौं कोष टाढा पुर्‍याउनु असम्भव।                             


बिरामी हुनुअघि अभिनय गर्दै मोडल अभि


'हामी ठूलो समस्यामा पर्‍यौं। अभिको आवाजसमेत निस्किरहेको थिएन। सास रहुन्जेल आश भने झैं लामालाई पूजा गर्न लगायौं,' निर्देशक लक्ष्मणले सुनाए।

दुर्गमलाई नछोएको सडक र जनजीवनको कथा म्युजिक भिडियोमार्फत् देखाउँदै थिए उनीहरू। यतिन्जेल सुटिङ युनिटले यथार्थमा त्यही समस्या भोगिरहेको थियो। डोल्पाको वास्तविकतासँग सङ्घर्ष गरिरहेका थिए उनीहरू - सडक, अस्पताल र प्रविधिबाट पर रहेरै।

+++

हेलिकप्टर चार्टर गर्नु अन्तिम विकल्प बन्यो। अभिको परिवारले उद्धारका लागि निजी हेलिकप्टर पठाउन खर्चको जोहो गर्दै थियो। अर्कोतिर सुटिङ युनिट र अभिका दाई हरिहर सुनारले हेलिकप्टर प्रबन्ध गर्न सरकारी निकायसँग कुरा गरिरहेको थियो। उनीहरूले प्रत्यक्ष सम्पर्क गरिरहेका थिए नेता शक्ति बस्नेत र जनार्दन शर्मा। यतिबेला यी दुई नेता आफ्नै पार्टीभित्रको फुट राजनीतिमा पिल्सिइरहेका थिए।

जिल्ला प्रशासन कार्यालय डोल्पामा पनि घटनाको जानकारी गराइएको थियो। नजिकै आर्मी क्याप थियो। आर्मीको टोलीले अभिको उद्धारमा सक्रियता देखायो। सुटिङ स्थलबाट केही तल रहेको आर्मी क्याम्पसम्म उनलाई बोकेर नै ल्याइयो। त्यहाँ आर्मीकै चिकित्सकले उनको स्वास्थ्य जाँच गरे। लेक लाग्दा आवश्यक प्राथमिक उपचार भयो।

घटनाको तीन दिन पछिमात्र अभिको उद्धार हुने भयो। अभिलाई लिनका लागि डोल्पा पुग्यो एनएडी ६१ नम्बरको हेलिकप्टर। त्यसपछि हो उनलाई सुर्खेत अस्पताल पुर्‍याइएको।

'सुटिङमा आएको टिमका सदस्यको स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट उद्धारको प्रबन्ध मिलाइएको हो। सेनाले रेस्क्यु गर्‍यो,' जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दिनेश शर्मा पौडेलले भने।

+++

अभि अस्पताल भर्ना भए। युनिट फेरि छायाँकनमा फर्कियो। यतिखेर मोडल अभि क्यामराको फ्रेमबाट आउट भइसकेका थिए। सहायक कलाकारका रुपमा युनिटसँगै रहेका चिरन सापकोटाले अभिको भूमिका निर्वाह गर्ने भए। उनी स्वयंका लागि निर्धारित भूमिकाका लागि स्थानीय युवा अनुबन्धित भए। त्यसपछि खिचियो गीत 'रेलको बाटो...'का लागि भिडियो।

'रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा,

हुम्ला कहिले मोटर आउँला बस्या छु रहरैमा'

 

चार दिनअघि गीतको भिडियो युट्युबमार्फत् सार्वजनिक भयो। गीतको शब्द, भिडियोमा प्रस्तुत कथानक, सिनोम्याट्रोग्राफी, निर्देशन र कलाकारको जिवन्त अभिनयको चर्चा र कमेन्ट सामाजिक सञ्जालहरूमा भइरहेको छ।

'अभिजीको स्वास्थ्य बिग्रिएपछि हामीले योजना अनुरुप भिडियो बनाउन सकेनौं। योजनाहरूमा कटौती गर्नुपर्‍यो,' निर्देशक सुनारले सुनाए, 'तर पनि देशको भौगोलिक विकटता र राजनीतिक आश्वासनका कारण मानिसले भोगिरहेको दर्दनाक जीवन शैलीको कथा दर्शकले रुचाएका छन्।'

भिडियोमा भौगोलिक विकटता र स्वास्थ्य उपचारको अभावका कारण एक महिलाले सन्तान गुमाउनु पर्दाको पीडा देखाइएको छ। राजनीतिक दल र नेतामाथि प्रहार गरिएको छ।

'हामीले कुनै पनि राजनीतिक दललाई लक्षित प्रहार गरेका हैनौं। हामीले त देशको जनजीवनलाई देखाउन मात्र खोजेका हौँ। आर्थिक एवं चुनौती स्वीकारेका हौं,' निर्देशक सुनुवारले भने।                 


लेखराज गिरीको शब्दमा सुरज गिरीले स्वर दिएका छन् गीतमा।

 फेब्रुअरी १५ मा पहिलो पटक सुरज पण्डितले 'रेलको बाटो...' बोलको गीत युट्युब रिलिज गरेका थिए। त्यहाँ अन्य भिडियोको फुटेज र फोटोहरूको प्रयोग गरिएको थियो। त्यो गीत हेरेपछि लक्ष्मणको टोलीले गीतको न्यारेसनलाई न्याय दिने कोसिस गरे। र, बनाए म्युजिक भिडियो।

त्यहाँको 'रियल लाइफ'लाई रिलमा उतार्न पुगेको टोली स्वयंले त्यही अवस्था भोग्नुपर्‍यो जुन विकट हिमाली जिल्लाका जनताका लागि सामान्य हुँदै आएको छ। धन्न रिलमा जस्तो रियलमा अभिले ज्यान गुमाएनन्। चोटमा मल्हमको सट्टा माटो लगाउनु परेन। तर, विकटताले भरिएको बस्तीमा राज्यले बाँडेका आश्वासनमा कतिले ज्यानको मूल्य चुकाउनु परेको छ? सिंगो टिमले अनुभूति सङ्गाले। र, दुरुस्तै पर्दामा उतारे दुर्गम नदेखेका दर्शकका लागि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell