PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओलीले किन दिए 'मामुली कार्यकर्ता'लाई भाउ?



प्रकाश भण्डारी

ओलीले किन दिए 'मामुली कार्यकर्ता'लाई भाउ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई त्यतिबेला सम्झिएका छन् जतिबेला उनी विरुद्धको समीकरण बनाउने तीब्र प्रयास जारी छ। तीन महिनासम्म दुई नेताबीच संवादहीनताको अवस्था रह्यो। पुस ५ गते संसद विघटन गरेपछि ओलीले नेता नेपालको नामसमेत लिन चाहेनन्। बरु उनले ठुल ठुला सभामा नेपाललाई होच्याउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'मामुली कार्यकर्ता' मात्रै भएको दलिल प्रस्तुत गरे।

नेपालको खिसिट्याउरी गर्दै 'नगद चाहिन्छ नगद', 'मान चाहियो मान' भनेका भिडियो क्लिपहरु भाइरल भए, उनका कटाक्षले कार्यकर्तामाझ गडगडाहट ताली पाए।

ओली किन नरम?

चार महिनापछि राजनीतिको 'सिन' बदलिएको छ। ओलीसँग झन्डै दुई तिहाइको बहुमत छैन भने नेपालसँग कुममा कुम जोडेर बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कानुनत: सँगै छैनन्। ओलीको पेलेरै जाने रणनीतिबाट आजित भएका नेपाल हाल भने समानान्तर कमिटीमार्फत गतिविधि गरिरहेका छन्। जो ओलीका लागि टाउको दुखाइको बिषय बनेको छ।

फेरी पनि नेपाललाई थामथुम पार्न सके प्रधानमन्त्री यात्रा लम्बिन सक्ने ओलीको आँकलन छ। जनता समाजवादी पार्टी (जसपा) को साथ खोजिहरेका छन्। तर, ढुक्क भने छैनन्। एमाले भित्रैको किचलोलाई टालटुल र आफूविरुद्ध अरु दलले बनाउन सक्ने गठबन्धनलाई भत्काउन सकेमात्रै सत्ता यात्रा जारी रहने आँकलन ओलीको छ। त्यसैले केही लचिलो भएरै भए पनि नेपालसँग संवाद गर्ने निर्णयमा पुगेका थिए ओली। ओली बोल्ड डिसिजन गर्नुअघि यसैगरी आफूले अन्तिमसम्म पनि पहल गरेको सन्देश दिन लचिलो भइदिन्छन्।

'यु टर्न' रणनीति

फागुन २८ गतेसम्म पनि ओली नेपालप्रति कठोर रुपमै प्रस्तुत भए। बैठक बसे पनि निर्णय गर्न नहुने आफ्नै समूहका नेताको सल्लाहलाई समेत लत्याएर ओलीले आफू पक्षीय बैठक राख्दै नेपाल समूहका नेतालाई पदमुक्त गरेको घोषणा गरिदिए। नेपाललाई पेलेरै जाने रणनीतिमा देखिएका ओली चैत १ गते भने 'यु टर्न' भएका छन्। नेपाल निकट नेताहरुका अनुसार ओलीले आफैले आइतवार नेपाललाई फोन गरेर भेट्न अनुरोध गरेका थिए। ओलीको निम्तोलाई नेपालले सहजै स्वीकारेनन्। बरु नेपालले बालुवाटारमा नभइ पार्टी कार्यालमा र एक्ला एक्लै नभइ टिमसहित भेट्ने शर्त राखे। आफैले भेटको निम्तो दिएका ओलीलाई नेपालको शर्त नमानी धरै भएन।

त्यसपछि ओली आफ्नो अडानबाट पछि हटेर भए पनि धुम्बाराही पुग्न राजी भए। ओलीले बालुवाटार बाहिरका भेटघाट र छलफललाई प्रायजसो नकार्ने गरेका छन्। यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिवादका बेला ओलीले धुम्बाराहीको बैठकलाई बहिस्कार गरेर पत्रमार्फत आफ्नो सन्देश मात्रै पठाएका थिए।

टर्रो वार्ता!

वार्ताको सुरुवात हार्दिकता पूर्ण रह्यो। ओली-नेपालले एक अर्काको आलोचना हुने प्रसंग नै निकालेनन्। पार्टीलाई मिलाएर कसरी जाने भन्ने प्रसंगमा दुबै तर्फका नेता सकारात्मक बने। 'देशलाई निकास दिन पार्टीलाई एकताबद्ध बनाएर लिनुको विकल्प छैन् भन्ने विषयमा नेताहरु सकारात्मक देखिए,' ओली समूहका नेता सुवास नेम्वाङले भने।

सुरुवात मिठो बनेको वार्तामा नेपालले २८ गतेको निर्णय खारेज गरौ भनेपछि भने ओलीले निर्णय नफेर्ने अडान लिए। जो नेकपा एमालेको आइतवारको वार्ता बिफलको मुख्य कारण बनेको थियो। नेपाल समूहले आयोजना गरेको चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलालाई रोक्नुपर्ने ओलीको अडान रहे पनि त्यसका लागि २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल समूहले शर्त राखेको थियो। नेता नेपालले सोमवार ओलीसँगको टर्रो संवाद भएको प्रतिक्रिया भएका छन्। 'सुरुवात निकै मिठो गरि भयो तर अन्तमा टर्रो भयो,' उनले भने।

सम्भावित दुर्घटना!

एमाले वृतमा हाल सग्लो पार्टी नरहने बहस भइरहेको छ। त्यसका लागि ओलीले बोलाएको ७ गतेको केन्द्रीय कमिटी बैठक र नेपालले बोलाएको चैत ४ र ५ को कार्यकर्ता भेला निर्णायक हुने बताइएको छ। जसले एमलेभित्र सम्भावित दुर्घटनाका रुपमा लिइएको छ। ओलीसँगको भेटपछि नेता नेपालले आफ्नो समूहका नेतालाई पार्टी एक नरहन सक्ने ब्रिफिङ गरेका थिए। नेपालको ब्रिफिङमा सहभागी एक नेताले भने,'पहल त एकताकै भइरहेको छ। तर घटनाक्रम अलग हुने गरी भइरहेका छन् भनेर उहाँले ब्रिफिङ गर्नुभयो।' नेपाल र ओली दुबै समूह समानान्तर गतिविधि गरिरहेका छन्। नेपालले अब गाउँ गाउँसम्मै ओली प्रवृति बारेमा सन्देश फैलाउन आफ्नो समूहका नेतालाई सोमबार नै निर्देशन दिइसकेका छन्।

पुस ५ अघिको नेकपाको हालतमा एमाले

तत्कालनीन नेकपामा आन्तरिक रुपमै बल्झिएको विवाद बैसाख ८ पछि छताछुल्ल भएको थियो। अध्यादेश ल्याएर ओलीले आफू इतर नेतालाई पदबाट हटाउन चुनौती दिएपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल ओलीविरुद्ध मोर्चाबन्दीमा उत्रिए। धरापमा परिसकेको ओलीको कुर्सी भदौ २६ को सम्झौताले सुरक्षित गर्‍यो। टालटुल गरिएको समाधान गरिएको भनिएको नेकपाको विवाद धेरै दिन टिकेन। प्रचण्ड-नेपाल र ओली एक अर्काविरुद्ध रणनीति बनाउन व्यस्त रहे। लामो समयसम्म कचल्टिएको नेकपाको विवाद पुस १ गते क्लाइमेक्समा पुगिसकेको थियो।

त्यही दिन कतिपयले नेकपा फुटेको घोषणा गरेका थिए। नेकपाका नेताहरुका लागि सकसपूर्ण रह्यो। मंसिर ३० गते ओलीले दोस्रोपटक ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपा विवाद चरम अवस्थामा पुगेको थियो। एकातिर बालुवाटारमा स्थायी कमिटी बैठकको तयारी भइरहेको थियो भने अर्कोतिर प्रचण्ड नेपाल समूहका नेता समावेदन लिएर शितल निवास पुगेका थिए। त्यसपछि भने ओली केही लचिलो त भए तर उनले शर्त राखिदिए-समावेदन फिर्ता भए अध्यादेश फिर्ता। ओलीको शर्त अनुसारकै सहमति भयो। तर ओलीले समहतिको पालना भने गरेनन्। विवाद बढिरहेकै थियो, ओली भने एकाएक यु टर्न भएर प्रचण्ड निवास खुमलटार पगे। उनी खुमलटार पुग्नुको एकमात्रै उद्देश्य थियो, जति पहल गर्दा पनि भएन भन्ने सन्देश दिनु। पुस ५ मा संसद विघटन गरेपछि भने ओली प्रचण्ड-नेपालप्रति झनै आक्रामक बने।

हाल एमालेको अवस्था पनि संसद विघटन पूर्वको नेकपाको जस्तो बनेको छ। ओलीले आफैले पहल गरेर नेपालसँग संवाद त गरेका छन् तर त्यसले विभाजन अब रोक्न नसक्ने एमालेकै नेपाल समूहको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell