PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

माधव समूह चियापानमा नआएपछि ओलीको आक्रोश : कसको निम्ता पाए जाने? गुटगत भेला नगर्न चेतावनी



पहिलोपोस्ट

माधव समूह चियापानमा नआएपछि ओलीको आक्रोश : कसको निम्ता पाए जाने? गुटगत भेला नगर्न चेतावनी

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न माधवकुमार नेपाल समूहलाई चेतावनी दिएका छन्।

ओलीले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिए।

सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालमाथि पनि आक्रोश पोखे। नेपाल समूहले बालुवाटारको चियापान समारोह बहिष्कार गरेको छ।

यसप्रति आक्रोश पोख्दै ओलीले भने, ‘एकथरी साथीहरुलाई चियापानमा देखिनँ। बैठक बसेर चियापानमा नजानु रे भन्ने सुनियो। कसकोमा जाने? कसको निम्ता पाए जाने? उहाँहरु कहाँ जानुहुन्छ सबैलाई थाहा भएकै कुरा हो।’

ओलीले अगाडि भने, ‘एकथरी अनुहार देखिएन। यो राम्रो लक्षण होइन। कुनै कारणवश आउनुभएन होला भन्ने लाग्छ। उहाँहरुले त्यस्तो निर्णय गर्नुभएन होला।’

नेपाल समूहले सोमवार अर्याल होटलमा बैठक गरेर चियापान बहिष्कार गर्ने र राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको थियो।

गुटगत भेला नगर्न चेतावनी

प्रधानमन्त्री ओलीले पार्टी पूर्व अवस्थामा फर्के पनि केही मानिस गुटगत भेला गरिरहेको भन्दै आपत्ति जनाए। पार्टीले ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै ओलीले भने, ‘उनीहरु राष्ट्रिय भेला आयोजना गरेर तमासा देखाउन लागिरहेका छन्। अराजकता, अनुशासनहीनता, विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य हुँदैन। अचाक्ली पार्टीलाई पार्टीको रुपमा भाडभैलो गरेको छ। अब पार्टी अनुशासनमा चल्छ।’

सभ्य समाजका लागि एकताबद्ध, अनुशासित, गतिशील पार्टी चाहिने भन्दै आफ्नो स्वार्थका लागि मनपरी गरेर हिँङ्न नपाइने ओलीको भनाइ छ। ‘एमालेसँग आबद्ध नेता कार्यकर्ता गुटगत भेला नगर्न, सहभागी नहुन, सजग र सतर्क गराउन चाहन्छु,’ ओलीले भने।

अध्यक्ष ओलीले एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह गरे। ‘यस पार्टीमा कसैलाई अन्याय हुँदैन। ठूला ठूला अपराध भएका छन्। तर पनि फराकिलो हृदय लिएका छौं। एकदम अपराध गरेकालाई पनि स्वीकार्छौं। आत्मआलोचना गर्नुपर्छ। सच्चिएर काम गर्नुपर्छ,’ उनले भने।

गुटगत भेला गरेर फेरि तमासा बनाउने, जगहसाइँ गर्ने, सञ्चार माध्यमलाई बिजनेस दिने, फलानो ठाउँमा फलानो गुट भनेर समाचारहरु दिने काम नगर्न ओलीले आग्रह गरे। ‘उहाँहरुले भोलिको भेला गरेर तमासा देखाउनुहुन्न भन्ने लाग्छ,’ उनले भने, ‘तर पार्टीलाई धम्क्याएर ठेगान लाउँछु भन्ने हो भने त्यस्तो हुँदैन। नचाहिने कुरामा हामी झुकिँदैन। बेठिक गर्नेसँग झुकिँदैन। हाम्रो भूमिका सदैव सकारात्मक छ। हाम्रा कामकारवाही कसैप्रति भैरभावयुक्त हुँदैन। लाचार पनि हुँदैन। सहि ढंगले हुन्छ।’

प्रधानमन्त्री ओलीले नेकपा हुँदा एक ढंगले पार्टीले फुटाइएको आरोप पनि लगाए। ‘बाटाबाटा बाट अध्यक्ष हटाउनुभयो, महासचिव हटाउनुभयो। संसदीय दलको नेता हटाउनुभयो। बाटाबाटैबाट विधान निकाल्नुभयो। म त कति विचरा भएको होला हेर्नुस् त साधारण सदस्यबाट निकालिएको थिए। तपाई त कमसेकम साधारण सदस्य त हुनुहुन्थ्यो। बाटाबाटैको विधि पद्धतीअनुसार जंगलको राज चलाउने, अनि विधिपद्धतीको कुरा गर्ने? देशको कानुन, संविधानको कुनै मतलब छैन,’ ओलीले भने।

संसदलाई गुटगत खिँचातानीमा तानियो

प्रधानमन्त्री ओलीले संसदलाई चल्न नदिइएको आरोप लगाए। उनले सभामुखतर्फ संकेत गर्दै चलाउन नदिएको पनि आरोप लगाए।

‘हाम्रो प्रयास संसदलाई देश र जनताको समस्यामा छलफल गरेर समाधान गर्ने हो। स्वार्थ र गुटगत खिँचातानीका लागि होइन। देश र जनताका हितका निम्ति काम गर्ने थलो बनाउ। विकास निर्माण र जनतालाई सेवा पुर्याउने थलो बनाउ। हाम्रो प्रयास रहि आएको छ। रहनेछ। तर संसदलाई त्यसरी चलाउन दिइएको छैन। चलाइएको छैन,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell