काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरुको मनोनयन गरेका छन्। प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको दलीय आधारमा मनोनयन गरिएको हो।
सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरुले संसद बैठकको अध्यक्षता गर्छन्। हरेक अधिवेशनमा सदस्यहरु हेरफेर हुन्छ।
फागुन २३ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनका लागि मंगलवारको तेस्रो बैठकमा सभामुख सापकोटाले मनोनित सदस्यहरुको नाम पढेर सुनाए।
नेपाली कांग्रेसबाट डिला संग्रौला पन्त र मानबहादुर विश्वकर्मा मनोनित भएका छन्। नेकपा एमालेबाट राधाकुमारी ज्ञवाली, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनित भएका छन्। माओवादी केन्द्रबाट रेखा शर्मा र जसपाबाट रेणु कुमारी यादव मनोनित भएका छन्।
आजको बैठकले नेकपा एमालेका दोस्रो संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ। साथै रिक्त रहेका समानुपातिक पदमा मनोनित गरिएका सांसदहरुको नाम समेत बैठकमा जानकारी गराइएको थियो।
प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते दिउँसो १ बजे बस्ने छ।
