काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि पहिलो पल्ट मंगलवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले जानकारी दिए।
त्यसैगरी, राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको पनि उनले जानकारी दिए। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाइ छ।
उनले भने, ‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन। राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ।’
माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे। संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
उनले भने, ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ। हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस्, किनभने तपाईले प्रतिनिधिसभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेको छ। ध्यानाकर्षण गराएका छौँ। हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौँ।’
पार्टी परित्याग गरेका सांसदहरुसँग अन्तिम छलफल गर्नका लागि मंगलवार नै नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी गराए। -न्युज एजेन्सी नेपाल