PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तीन तिर एमाले: जुटाउने को? फुटाउने को? आरोप प्रत्यारोपमा लाग्दा दुर्घटनाको जोखिम बढ्दो



प्रकाश भण्डारी

तीन तिर एमाले: जुटाउने को? फुटाउने को? आरोप प्रत्यारोपमा लाग्दा दुर्घटनाको जोखिम बढ्दो

काठमाडौं :  कानुनी रुपमा नेकपा एमाले एउटै छ। तर, एमालेको नाममा मंगलवार काठमाडौं उपत्यकाका तीन ठाउँमा कार्यक्रम भए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले बालुवाटारमा विहान ११ बजेका लागि चियापानको आयोजना गर्दा उपाध्यक्ष वामदेव गौतमले बल्खुमा त्यहीँ समयमा एकता अभियानको बैठक राखे।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि कार्यक्रम गर्न पछि परेन, सानेपास्थित हेरिटेज गार्डेनमा जुट्यो। बालुवाटारको चियापान बहिष्कार गरेको नेपाल-खनाल समूहले ओलीको चर्को आलोचना मात्रै गरेन आफूलाई कारवाही गरेर देखाउन चुनौती नै दियो।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आएपछि आफू तेस्रो शक्ति भएको दाबी गरेका वामदेव एमालेमा पनि तेस्रो शक्ति भएको दाबीका साथ गतिविधि गरिरहेका छन्।

उनले प्रधानमन्त्री ओलीको आलोचना त गरेका छन् नै आफू माझधारको भएको देखाउन आफ्नै पार्टीका वरिष्ठ नेता नेपाल र खनालसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्न  पनि पछि परेनन्। नेपाल-खनाल र ओली समूह मात्रै नभइ तीनतिर फर्किएको एमालेमा हालको बहसको एजेण्डा नै बनेको छ-एमाले जुटाउने को? फुटाउने को?

कसले फुटाउँदै छ एमाले?

यो प्रश्नको उत्तरमा एमालेका तीनै समूहका नेता एक अर्कालाई आरोप लगाउँछन्। 'मैले ओली र माधव कमरेड दुबै जनालाई भेटेर एमाले एक बनाउन भने। ओली त नेता मात्रै होइन एमालेको संरक्षक पनि हुनुहुन्छ। कार्यकर्ताको संरक्षण गर्ने जिम्मा पनि उहाँकै काँधमा छ। त्यसैले मैले उहाँलाई संरक्षक बन्नुस्। म पनि आलोचना गर्छु, तपाइहरु पनि आलोचना गर्नुस् भनेर भन्दा पार्टी एक भइहाल्छ भन्ने सल्लाह दिए। तर, त्यो भएको छैन,' ओली पार्टी फुटाउन लागेको आरोप लगाउँदै गौतमले भने।

गौतम ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता लिए एमाले एक हुनेमा आशावादी छन्। ओली समूहले फागुन २८ गते केन्द्रीय कमिटीको बैठक बोलाएर नेपाल-खनाल सहित गौतमलाई पदबाट हटाएको थियो। जसलाई गौतमले एमाले विभाजनको आधारका रुपमा ब्याख्या गरेका छन्। 'माधव नेपाल समानान्तर कमिटी बनाएर अघि बढ्नु भएको छ। ओली पनि २८ गतेको निर्णय फिर्ता लिन तयार हुनु भएको छैन। त्यसैले एमालेमा विभाजन आउँदा हाम्रो अभियानको औचित्य झनै बढेर गएको छ,' उनले भने।

ओली भने आफूले एमाले विभाजन गरेको मान्न तयार छैनन्। मंगलवार बालुवाटारको चियापानमा उनले नेकपा मात्रै नभइ एमाले समेत नेपाल-खनालले छिन्न भिन्न बनाउन खोजेको आरोप लगाए। उनले पार्टी विरोधी गतिविधि गरिरहे कारवाही गर्ने चेतावनी पनि दिए। 'अराजकता, अनुशासनहीनता, विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य हुँदैन। अचाक्ली पार्टीमा भाँडभैलो गरेको छ। अब पार्टी अनुशासनमा चल्छ,' ओलीले चेतावनी दिँदै भने।

ओलीले आफू इतर नेतालाई एमाले फुटाउन खोजेको आरोप लगाउँदा नेपाल-खनाल समूह भने त्यो मान्न तयार छैन। ओलीविरुद्ध देशव्यापी रणनीति बनाउन चैत ४ र ५ गतेका लागि भेला आयोजना गरेको नेपाल-खनाल समूहले मंगलवार पत्रकार सम्मेलन गरेर ओलीले एमाले फुटाएको आरोप लगायो। एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ओलीले पार्टीमा विभाजन ल्याएको आरोप लगाए। भने, 'दुई वर्ष समय छ बालुवाटारमा ढुक्कले बस्नुस्। आशा छ तपाइले पार्टीलाई छिन्न भिन्न बनाउनु हुनेछैन।' उनले ओलीलाई आफूले कारवाही गर्ने चेतावनी समेत दिए। त्यस्तो बेला भने ओली निरीह हुने भट्टराईको भनाइ थियो। 'इतिहासका प्रश्नको उत्तर दिन नसकेको बेला तपाइलाई इतिहासले कारवाही गर्ने छ। त्यो बेलामा तपाइका लागि दुई थोपा आँसु चुहाउने पनि मान्छे हुने छैनन्,' भट्टराईको भने।

हामी नै ठिक!           

२०७५ जेठ ३ गते नेकपा घोषणा हुँदा 'एकताका लागि मैले पहल गरेको हुँ' भनेर जस लिन जति हतारिएका थिए एमाले र माओवादीका नेता त्यति नै आजभोलि एक अर्काले पार्टी फुटाएको दोषारोपण गरिरहेका छन्। माओवादी केन्द्रभित्र विवाद नदेखिएको भए पनि एमालेमा भने फुटको संघारमा छ। एकताका लागि सोमवार पार्टी कार्यालयको वार्ता पनि विफल भएको छ। नेपाल समूहका नेताहरुका अनुसार उक्त वार्ताको सुरुवात मिठो भए पनि अन्त्यमा भने टर्रो भयो। नेकपाको विवाद कानुनी रुपमा टुंगोमा नपुग्दै कानुनी बाध्यताका कारण पुरानो पार्टीमा फर्किएका नेताहरु पार्टी विभाजनको दोष अरुलाई थुपार्दा राम्रो कामको जस लिन भने प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल समूहका नेता भट्टराईले ठूलो दुख गरेर एमालेलाई अहिलेको अवस्थामा पुर्‍याएको भए पनि ओलीले छिन्न भिन्न गर्न खोजेको आरोप लगाए। 'हामीले कति दुखले पार्टीलाई अहिलेको अबस्थामा पुर्‍याएका हौँ हेक्का हुनुपर्ने तर आज एउटा गुटका लागि ती सब बिर्सिएर पार्टी विभाजन गर्नु कदाप सहि हुँदैन,' उनले भने।

उनीविरुद्ध नेपाल-खनाल समूह वारपारकै लडाइँको तयारीमा लाग्दा ओली भने आफ्नो कुनै कमजोरी नै नभएको दाबी गरिरहेका छन्। उनले एकताका लागि आफूले सम्भव भएसम्मका कोसिस गरेको भए पनि नेपाल-खनालले विभाजन गर्न खोजेको दाबी गरिरहेका छन्। 'राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने रे, राष्ट्रिय भेलाबाट प्रतिवेदन पारित गर्ने रे। त्यस्ता कुराहरु मान्य हुन सक्दैन। पार्टीलाई पार्टीका रुपमा नलिने जहिले पनि भाँडभैलो मात्रै गर्ने,' ओलीले मंगलवार बालुवाटारमा आयोजित चियापानमा भने।

बढ्दो दुर्घटनाको जोखिम

फागुन २८ को निर्णयबाट आक्रोशित भएको नेपाल-खनाल समूहलाई ओली समूहका नेताले मत्थर पार्न प्रयास गरे। तर त्यो सफल भने हुन सकेन। चैत ४ र ५ गेतको भेला रोक्न सकिए पार्टी विभाजनको सम्भावित दुर्घटना रोक्न सकिने भन्दै ओली समूहका नेताले सोमवार दुई पक्षको वार्ता र मंगलवार चियापानको आयोजना गरेका थिए। 'पार्टीमा देखिएको तिक्ततालाई पनि हार्दिकतामा बदल्ने अवसर पनि हुन्छ। नेताहरु सहभागी हुनुभयो भने एक खालको वातावरण पनि बन्ला, ' चियापान कार्यक्रम आयोजना गर्नुको कारण बारे ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले भनेका थिए। तर, नेपाल-खनाल समूहले चियापान बहिष्कार गरेपछि ओलीको उद्देश्य पुरा हुन पाएन। चैत ४ र ५ गतेको बैठकलाई ओलीबिरुद्धको शक्तिका रुपमा मात्रै नभइ राजनीतिक र वैधानिक नै बनाउने नेपाल-खनाल समूहको दाबी छ। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरुको गुटगत भेला नभइ राजनीतिक र वैधानिक भेला भएको दाबी गरे। 'हाम्रो भेला राजनीतिक र वैधानिक दुवै हो। कुनै गुटका हिसाबले हामी बस्न खोजेका होइनौ,' उनले भने।

नेपाल-खनाल समूहका नेताहरुकै अनुसार भेला र चैत ७ गतेको ओलीले बोलाएको केन्द्रीय कमिटी नरोकिए एमाले एक नरहने दाबी गरिरहेका छन्। एमालेका बरिष्ठ नेता नेपालले सोमवार आफ्ना समूहका नेतालाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दै एमाले एकता कायमै राख्न कठिन भएको बताएका थिए। त्यसका लागि ओली जिम्मेवार भएको उनको आरोप थियो। ओलीले पनि भेलामा सहभागी हुने एमालेका नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिइसकेका छन् भने नेपाल-खनाल समूह पनि ओलीको कारवाहीबाट नडराउने भन्दै भिडने मनस्थितिमा छन्। 'तपाइले गर्ने कारवाहीको तयारीमा छौं। बुद्धको देशमा शान्तिको भाषा हुन्छ। आज बालुवाटारको भाषा शक्तिको हो बदल्नुस,' नेपाल  समूहका नेता भट्टराईले भनेका छन्।

दुई समूह यसरी एकअर्कामा भिड्ने मनस्थितिमा रहँदा एमाले विभाजनको बाटोतर्फ अग्रसर हुँदै दुर्घटना हुनसक्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell