PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्राप्त अधिकारहरु खोस्न माओवादी आन्दोलन र मलाई निशाना बनाइयो : अध्यक्ष प्रचण्ड



पहिलोपोस्ट

प्राप्त अधिकारहरु खोस्न माओवादी आन्दोलन र मलाई निशाना बनाइयो : अध्यक्ष प्रचण्ड
फाइल तस्विर

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका छन्।

मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन्।

आफूहरुले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको उनको भनाइ छ। नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उनले गुनासो गरे।

प्रचण्डले भने, ‘अस्ति प्रतिनिधिसभा विघटन गर्ने कुरा ओलीबाट प्रधानमन्त्रीको रुपमा भयो त्यो भयानक ठूलो षडयन्त्र थियो। नेपालका आदिबासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने प्रयास थियो।’

प्रचण्डले थपे, ‘तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा गर्‍यो भने हामीलाई जातिवादीको विल्ला भिराउने अनि आफू चाहीँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए। प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell