PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामचन्द्र पौडेल र चित्रबहादुर केसीको प्रश्न : विघटन गर्दा परामर्श आवश्यक नठान्ने अहिले किन चाहियो बैठक?



पहिलोपोस्ट

राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामचन्द्र पौडेल र चित्रबहादुर केसीको प्रश्न : विघटन गर्दा परामर्श आवश्यक नठान्ने अहिले किन चाहियो बैठक?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनकै सामु नेताहरुले आलोचना गरेका छन्।

उनले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा कसैसँग छलफल नगरी सदर गरेको भन्दै त्यतिबेला सर्वदलीय बैठक नडाकेको भन्दै आक्रोश पोखेका हुन्।

'प्रतिनिधिसभा विघटन सिफारिसलाई छलफल नै नगरी सदर गर्ने अहिले सर्वदलीय बैठक बोलाउनुको के अर्थ?,' पौडेलले राष्ट्रपतिलाई गरेको प्रश्नलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।

उनले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै राष्ट्रपति र प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उब्जिएको बताएका थिए।

त्यस्तै, उनीहरुले प्रतिनिधिसभा सञ्चालनको जिम्मा सरकारको भएको भन्दै प्रधानमन्त्रीको समेत आलोचना गरे। सर्वदलीय बैठकमा राष्ट्रपतिपछि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा चल्न नसकेको र आफूलाई काम गर्न नदिएको भन्दै गुनासो गरेका थिए।

पौडेलले ओली प्रति कटाक्ष गर्दै भने- 'संसद चलाउने, संसदलाई बिजनेस दिने कुरा सरकारको हो। प्रधानमन्त्रीको हो। प्रतिनिधिसभा नै विघटन गरिदिने, संसदलाई छल्न खोज्ने अनि संसदले काम गर्न दिएन भन्न सुहाउँछ?'

सर्वदलीय बैठकमा सहभागी भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि राष्ट्रपतिको आलोचना गरे। उनले सर्वदलीय बैठकको औचित्यमाथि प्रश्न गर्दै राष्ट्रपति भण्डारीलाई सोधे- 'प्रतिनिधिसभा विघटन गर्ने सरकारले सिफारिस गर्दा राष्ट्रपतिले तत्काल स्वीकृत गर्ने। त्यतिबेला संसदमा सहभागी दलसँग परामर्श आवश्यक परेन। अहिलेको समयमा किन बैठक बोलाउनुपर्‍यो?'

उनले पाँच वर्षका लागि चयन भएको प्रतिनिधिसभा मनोमानी ढंगले विघटन गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेका थिए। 'संविधानमै भएको व्यवस्था पालना नगर्ने?, चुनाव गर्ने, फेरि भंग गर्ने?,' उनले प्रधानमन्त्रीमाथि समेत प्रश्न गरेको बैठकमा सहभागी नेताले बताए। 

बैठकमा प्रधानमन्त्री ओलीले काम गर्न नदिए फेरि पनि प्रतिनिधिसभा विघटना गर्न सक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell