PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

रुपन्देहीका पौने लाख सुकुम्बासीले जग्गाधनी पुर्जा पाउने, बुटवलका मात्रै १५ हजार



पूजा पन्थी

रुपन्देहीका पौने लाख सुकुम्बासीले जग्गाधनी पुर्जा पाउने, बुटवलका मात्रै १५ हजार

बुटवल : रुपन्देहीका ७ स्थानीय निकायमा करिब पौने लाख घर परिवार भूमिहिन तथा अव्यवस्थित सुकुम्बासीको तथ्याङ्क संकलन भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले बुटवल उपमहानगरपालिकासहितका ७ स्थानीय निकायमा संकलन गरेको तथ्याङ्क अनुसार ७२ हजार ७९५ भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी भेटिएका हुन्।

रुपन्देहीमा करिब एक लाख घर परिवारले जग्गाधनी पुर्जा प्राप्त गर्ने आयोगले जनाएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले दलित भूमिहिन तथा अव्यवस्थित सुकुम्बासी आयोगले संकलन गरेको प्रारम्भिक तथ्याङ अनुसार सो संख्याका घर परिवारले जग्गाधनी पुर्जा प्राप्त गर्ने रुपन्देही अध्यक्ष बलबहादुर आचार्यले बताए।

तथ्याङ्क संकलनलाई तीब्रता दिइरहेको आयोगले जिल्लाका १६ मध्ये ७ वटा स्थानीय निकायमा काम सम्पन्न भई पुनः मुल्याङ्कनको काम भइरहेको छ। आचार्यका अनुसार बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवि गाउँपालिकामा लगत संकलन भई पुनः परीक्षणको काम भइरहेको छ।

तथ्याङ्क अनुसार बुटवलमा १५ हजार ४०३, तिलोत्तमामा ७ हजार ७३२, सैनामैनामा १३ हजार, देवदहमा १४ हजार ३४३, कञ्चनमा १२ हजार ६८६, गैडहवामा ८ हजार ९१५ र मायादेविमा ७१६ घरपरिवार अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी रहेका छन्।

आयोगले सुद्धोधन र सियारी गाउँपालिकामा अभिमूखिकरण कार्य सम्पन्न गरी तथ्याङ्क संकलन गर्न सुरु गरेको छ भने सिद्धार्थनगर नगरपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई, मर्चवारी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा भेटघाट तथा छलफल गरी काम अगाडी बढाउने तयारी भएको आयोगका सदस्य कृष्णबहादुर कुंवरले जानकारी दिए।

जिल्लामा आयोगले हालसम्म गरेका कार्यहरु बारे जानकारी गराउन मंगलवार बुटवलमा आयोजित पत्रकार सम्मेलमा उनले तथ्याङ्क संकलन भइसकेका ठाउँहरुमा जाँचबुझ र सार्वजनिक सुनुवाईपछि पालिकामा तथ्याङ्क आउने कार्यक्रम रहेको बताए। बाँकी रहेका पालिकाहरुमा समेत तथ्याङ्क संकलनको कार्यलाई तीब्रता दिई जग्गाधनी पुर्जा वितरणको कार्यलाई अगाडि बढाउने योजनामा रहेको समिति सदस्य गंगा कार्कीले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell