PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपालमा फ्रेन्चाइज लिगको बढ्दै प्रभाव : क्रिकेटमा ईपीएलको चासो, फुटबलमा एनएसएलले तताएको माहोल



मुकुन्द घिमिरे

नेपालमा फ्रेन्चाइज लिगको बढ्दै प्रभाव : क्रिकेटमा ईपीएलको चासो, फुटबलमा एनएसएलले तताएको माहोल

काठमाडौं : कोरोनाको कहर विश्वभर फैलँदै गर्दा अघिल्लो वर्ष नेपाली खेलकुदमा चासोको केन्द्रमा थियो : एभरेस्ट प्रिमियर लिग (ईपीएल)। नहोस् पनि किन, विश्व क्रिकेटका क्रिस गेल लगायतका क्रिकेट लेजेन्डहरुलाई भित्र्याउने तयारी आयोजकको थियो। एकपछि अर्को विश्वस्तरीय क्रिकेटका ठूला खेलाडीहरुको नाम फ्रेन्चाइजीहरुले घोषणा गरिरहेका थिए। लाग्थ्यो प्रतिस्पर्धा चलिरहेको छ, ठूला नाम भित्र्याउने।

तर, जसै कोरोनाको कहर बढ्यो, लिग स्थगित भयो।

अहिले फेरि ईपीएलको आयोजनाको तयारी अघि बढेको छ। घोषणा गरेका ठूला नामहरुलाई फेरि बोलाउने दाबीसहित आउँदो दसैं अघिका लागि ईपीएलको मितिसमेत तोकिएको छ। न्यु नर्मलमा सबै खाले खेलकुदका गतिविधि फर्किँदै गर्दा ईपीएलको चर्चा नहुने कुरै भएन।

यस्तै यस्तै कथा हो, फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को पनि। ठूलाठूला व्यवसायिक घरानासमेत सामेल भएर आइतवार फ्रेन्चाइज टिमको घोषणा गरेसँगै एनएसएलले नेपाली खेलकुद क्षेत्रको ध्यान तानेको छ। त्यसो त धेरैलाई याद हुनुपर्छ, एनएसएल पनि पहिल्यै घोषणा भएर ईपीएल जस्तै पछि सरेको फ्रेञ्चाइज लिग हो।

यसअघि पनि २०७५ सालमा एन्फा र नेपाल स्पोर्टस र इभेन्ट म्यानेजमेन्ट बिच नेपाल सुपर कप आयोजनाका लागि सम्झौता भएको थियो। त्यतिबेला प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने सहमति भएको थियो। यद्यपि, प्रतियोगिता हुन भने सकेको थिएन। आयोजकले त्यतिबेला दशरथ रंगशाला पुनर्निर्माण नभएको र निर्माण भएपछि कोरोना फैलिएकाले लिग आयोजना गर्न नसकिएको दाबी गरेका थिए। सँगै प्रतियोगिताको नयाँ मिति घोषणा भयो।

सात फ्रेन्चाइज टिमको सहभागिता रहने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन्। लिगमा विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई रहेका छन् भने काठमाडौंका टिम मालिक चिरन्जीवी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवास शाही रहेका छन्।

नेपाली लिगहरुमा काठमाडौं भित्रका क्लबहरुको मात्र बोलबोला चलिरहँदा विभिन्न शहरका नाममा बनेका फ्रेन्चाइज टिमहरु बिस्तारै अगाडिका सिजनहरुबाट 'होम एण्ड अवे' समेत खेलाउने आयोजनाका योजनालाई हेर्दा एनएसएलले नेपाली फुटबलमा राम्रै जरो गाड्न सक्ने सम्भावना भने देखिन्छ।

मुख्य लिगको कुरा

क्रिकेटमा ईपीएलको चर्चा गरिरहँदा याद गर्नुपर्ने के हो भने, नेपाल क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता र काठमाडौं मेयर्स कप पुरुष क्रिकेट सकिएको धेरै भएको छैन। यी दुवै प्रतियोगिताको एउटा विशेषता भनेको फाइनल बाहेकका खेलमा दर्शकको उपस्थिति खास नहुनु। जति नेपाली क्रिकेटमा समर्थकको चासो रहने गरेको थियो त्यही अनुपातमा दर्शकको उपस्थिति यी प्रतिस्पर्धामा भेटिएन। अझ भनौं, मुलपानीको माथिल्लो क्रिकेट मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं मेयर्स ११ र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती प्रदेशबिचको खेल चलिरहँदा भन्दा त्यहीँ तल्लो क्रिकेट मैदानमा चलेको कलेजस्तरीय प्रतियोगितामा दर्शक र हुटिङ दुवै ठूलो थियो।

त्यस्तै, सन्दर्भ रह्यो फुटबल लिगमा पनि। १३ औं दक्षिण एसियाली खेलकुदमा भरिएको रंगशाला देखेको एन्फाले लगत्तै शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्‍यो। तर, लिगमा केही खेललाई छाड्ने हो भने दर्शकको उपस्थिति एकदमै न्युन रह्यो। त्यसपछि बी डिभिजन लिग सुरु भयो। बिचमा कोरोनाले प्रतियोगिता रोकियो। पछि लिग चालु भयो र सकियो पनि। र, सी डिभिजन लिग पनि केही दिनअघि सुरु भयो। तर, त्यहाँ उपस्थित दर्शकको चर्चा नगर्दा नै राम्रो।

अब, यी दुई सन्दर्भका बिच फ्रेन्चाइजले दर्शकको उपस्थिति कति गराउन सक्ला? फ्रेन्चाइजका लागि चुनौती त हुन्छ नै। र, यदि त्यही हिसाबले क्रेज बनाउन सके अन्य राष्ट्रिय लिगको महत्व कति रहला? प्रश्नहरु उब्जिएका छन्। क्रिकेटमा क्यानले आयोजना गराउने भनिरहेको नेपाल प्रिमियर लिग (एनपीएल), प्रधानमन्त्री कप र फुटबलमा ए डिभिजन लिग, राष्ट्रिय लिग लगायतलाई पनि कम चुनौती भने हुनेछैन।

यद्यपि, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फ्रेन्चाइजले फुटबलमा व्यवसायिकता आउने भन्दै निक्कै उत्साही सुनिए एनएसएलको आइतवारको टिम घोषणाको कार्यक्रममा।

उनले भनेका थिए, 'धेरैले शंका पनि गरेका छन्, यसमा ठूलो माछा आयो, सानो माछालाई खाइदिन्छ। तर हामीले के भनेका छौं भने हामी नेपालमा चलिरहेको लिगलाई पनि व्यवस्थित बनाउँदै छौं। यसको पनि समय केही लम्ब्याउने छौं। र, एनएसएललाई पनि व्यवस्थित गर्दै लैजाने छौं।

फ्रेन्चाइजको फाइदा घाटा के?

फ्रेन्चाइज लिग भित्र्याउँदा टिमप्रति मानिसको अपनत्व गराउन कठीन हुने तर्कहरु पनि आइरहेका छन्। 'थ्री स्टार क्लबको खेल हेर्न पाटनबाट जति मानिसहरु आउँथे या उनीहरुको क्लबप्रतिको झुकाव छ त्यो फ्रेन्चाइजमा होला त?' एउटा प्रश्न त उभिन्छ नै।

खेल पत्रकार निरञ्जन राजवंशी फ्रेन्चाइजको रुपमा नै सही खेलकुदमा लगानी भित्रिनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। यसले खेललाई व्यवसायिक बाटोमा डोहोर्‍याउने भएकाले खेल विकासका लागि यस्तो अभ्यास राम्रो हुने उनको तर्क छ।

'खेलकुदमा प्रोफेसनालिजम नभएसम्म विकास हुँदैन। व्यवसायीहरु त खेलकुदमा आउनैपर्छ। चाहे त्यो ईपीएलको रुपमा होस् या एनएसएलको रुपमा होस्,' राजवंशीले भने, 'व्यवसायिक घरानाको इन्ट्री एकदमै राम्रो कुरा हो। तर, ब्यवसायीहरु पूर्णरुपमा खेलकुदको मात्र विकास गर्छु भनेर आउँदैनन्। त्यो बिजेनस मोटिभ नै हो। त्यहाँबाट पैसा नि कमाउन सकिन्छ र ब्राण्डलाई माथि लैजान सकिन्छ भन्ने छ उनीहरुको।'

यद्यपि, यसमा केही चनाखो हुनुपर्ने क्षेत्रहरु भने रहेको उनको विश्लेषण छ।

'स्पोर्टसको जुन स्पिरिट, मूल्य मान्यता, टेक्निकल कुराहरु, नियम र जुन भावनहरु छ, त्यसमा खेलबाड हुन नदिन भयंकर बलियो नियम व्यवस्थापन चाहिँ चाहिन्छ,' उनले सुझाए।

यद्यपि, अझै पनि फ्रेन्चाइजीहरुलाई आफ्नो टिम रहेको क्षेत्रसँग भावनात्मक सम्बन्ध बनाउन भने चुनौती रहने छ नै।

जसमा धनगढी फुटबल क्लबका सुवास शाहीले सोमवार टिमको मार्की खेलाडी घोषणा गर्दैगर्दा जोड दिएका थिए। 'यो लिग हुँदा धनगढी या सुदूरपश्चिमलाई या एउटा सिटीको ब्राण्डिङ नै हो। सँगसँगै यसले खेलाडीलाई व्यवसायिक बनाउँछ,' उनले भनेका थिए, 'समग्रमा खेलको विकास हुन्छ। खेल व्यवसायिक भएपछिमात्र खेलाडी व्यवसायिक हुने हो र अघि बढ्ने हो।

सुदूर पश्चिमलाई ब्रान्डिङ गर्ने उनको चाहना सहज छ त?

'त्यो चुनौती त छ मानिसहरुको भावना जोड्नका लागि। अब फ्रेन्चाइजीले कसरी जनताको भावनासँग जोड्छ भन्ने चाहिँ त्यसको नीतिमा भर पर्छ,' पत्रकार राजवंशीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell