PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपालमै सस्तोमा पाइने सामान युएईबाट नियमित ल्याएपछि उब्जेको शंकाले डोहोर्‍यायो सुन तस्करसम्म



खेमराज श्रेष्ठ

नेपालमै सस्तोमा पाइने सामान युएईबाट नियमित ल्याएपछि उब्जेको शंकाले डोहोर्‍यायो सुन तस्करसम्म

काठमाडौं : केही समयदेखि एक भारतीय मूलका नागरिकले संयुक्त अरब इमिरेट्स (युएई) बाट घरायसी सामान ल्याउने गरेका थिए। तर, उनले युएईबाट ल्याएको सामानको मूल्य नेपालमा त्यो भन्दा सस्तोमा पाइन्थ्यो। गुणस्तर त उही।

आखिर उही मूल्य र गुणस्तर पनि उस्तै हुँदा किन आइरहेको छ सामान? राजस्व अनुसन्धान विभागले उनको यो गतिविधिलाई नजिकबाट नियालिरहेको थियो। जब विभागले अनुसन्धान थाल्यो सामान आयातको प्रकरण अन्तै गएर टुङ्गियो। विदेशमा भन्दा नेपालमै सस्तो पर्ने सामग्रीको संदिग्घ आयातमा संलग्न भारतीय मूलका एक व्यक्तिलाई राजस्व अनुसन्धान विभागले पक्राउसमेत गर्‍यो।

तर, उनको घरायसी प्रयोगका मेसिनरी तथा अप्लायन्स आयातको यो कारोबार एकाएक सुन तस्करीसँग गएर जोडियो।

युएईबाट उक्त कम्पनीले पानी तान्ने मेसिन (पम्प), वासिङ मेसिनलगायत सामाग्री आयात गर्ने गरेको थियो जसको मूल्य युएईभन्दा सस्तो पर्थ्यो नेपालमै। त्यसैले उक्त कम्पनीले आयात गरेको सामग्रीलाई पछ्याउँदै एक टोली खटाएर विभागले अध्ययन थाल्यो। प्रारम्भिक अध्ययनबाट पत्ता लाग्यो - ती सामाग्री यहाँ प्रयोगका लागि आयात भएकै हैन रहेछ। त्यसपछि विभागले अनुसन्धान थप अघि बढायो।

यो कारोबारमा भारतीय मूलका दुई नागरिक भएको पत्ता लागेपछि विभागले उनीहरुलाई 'वाच लिस्ट' मा राखेको थियो। उनीहरुले त्यसरी सामान आयात गर्दा तीनदेखि चारवटा सम्म नाम प्रयोग गर्ने गरेको विभागको अनुसन्धानमा खुल्न आएको छ। संदिग्ध कारोबारमा संलग्नमध्ये 'अनेकल' नामका एक व्यक्ति अहिले पक्राउ परेका हुन्।

'वाच लिस्ट'मा राखेर पछ्याउँदै गएको विभागले अनुसन्धान गर्दा पक्राउ परेका व्यक्ति तीलगंगा आँखा अस्पताल नजिकै बस्ने गरेको पत्ता लाग्यो। विभागको अनुसन्धान टिमसँग उनी बस्ने घर र कोठाको रंग फोटो प्रमाणका रुपमा थियो। त्यही फोटोको आधारमा टोलीले ती व्यक्तिहरुलाई खोज्न सुरु गरेको थियो।

त्यस क्रममा एक सयभन्दा बढी घर खोजतलास गरेपछि विभागको अनुसन्धान टोलीले ती व्यक्ति बस्ने गरेको घर फेला पारेको हो।

'यो केसको अध्ययन गर्न निकै मेहनत गर्नुपरेको छ,' विभागका एक अधिकारीले भने, 'हामीले गत फागुनमा सुन तस्करीको सूचना पाएका थियौं। त्यस लगत्तै अनुसन्धान सुरु गरेका थियौं। तर, कोभिडको प्रकोपबिच अनुसन्धानमा निकै झन्झट बेहोर्नु पर्‍यो।'

कोभिडको समयमा तस्करले प्रयोग गर्ने घर र थप प्रमाण जुटाउन निकै कठिन परेको ती अधिकारीले बताए।

भारतीय मूलका ती दुईले तिलगंगा नजिकै एउटा घर भाडामा लिएर युएईबाट मेसिनभित्र सुन जडान गरी मेसिनको भन्सार तिरेर त्रिभुवन विमानस्थल (टीआईए) कै नाकाबाट नेपाल भित्र्याउने गरेको खुल्यो। त्यसरी तस्करी गरेर ल्याउने सुन त्रिभुवन विमानस्थलबाट नेपाल आइपुग्ने वित्तिकै सकेसम्म चाँडै सुरक्षित ठाउँमा पुर्‍याउन सकियोस् भनेर विमानस्थल नजिकै घर भाडा लिएका हुन्।

युएईबाट मेसिनमा जडान गरेर तस्करी गरी ल्याएको सुन सोही घरमा लगेर निकालेर पुनः भारत तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागले जानकारी दिएको छ।

'मेसिनबाट निकालेपछि त्यो सुन बोकेर ती व्यक्तिहरु आफैं भारतीय बजारसम्म पुग्ने गरेको पाइएको छ,' विभाग स्रोतले भन्यो।

यसरी सुन बोकेर भारततर्फ हिँडेको सूचना पाएपछि नै विभागको टोलीले काठमाडौंबाटै ती व्यक्तिहरुलाई पछ्याउन सुरु गरेका थिए। पिछा गर्दै हेटौंडा पुगेपछि ती व्यक्तिहरु भाग्ने प्रयास गरेका थिए। त्यस क्रममा विभागको टोलीले एक जनालाई मात्रै पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका व्यक्तिबाट टोलीले ६ किलो सुन बरामद गरेको छ।

प्रविधिलाई नै झुक्याउने प्रविधि

कुनै पनि अस्वभाविक वस्तु आयात भए त्यस्ता वस्तुलाई अनुसन्धान विभागले निगरानीमा राख्ने गरेको छ। यसैले विदेशबाट ल्याउने सामग्रीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा स्क्यानिङ गरिन्छ। तर, स्क्यानिङ मेसिनलाई समेत झुक्याउने गरी तस्करहरुले मेसिनमा सुन फिटिङ गर्ने गरेको भेटिएको छ। यसरी ल्याउने सुनमा बाहिर बेग्लै धातुको प्रयोग गरी भित्र सुन राखिने गरेको विभागको अनुसन्धानमा खुलेको छ। 

पत्ता लागेन तस्करको माथिल्लो लेयर

विभागले करिब एक वर्ष अनुसन्धान गर्दा पनि दुई जनाभन्दा माथिका वा अन्य व्यक्ति पत्ता लगाउन सकेको छैन। यसको अनुसन्धानका लागि विभागले भारतमा समेत टोली खटाएको थियो। तर, कुनै प्रगति हासिल गर्न नसकेको विभागको भनाइ छ।

यस्तै, नेपालमा कुनै पनि यिनीहरुसँग जोडिएका व्यक्ति विभागले पत्ता लगाउन सकेको छैन। यस तस्करीमा संलग्न फरार एक व्यक्ति पनि अहिलेसम्म फेला परेको छैनन्।

अहिले पक्राउ परेका व्यक्तिलाई विभागले एक अर्ब बिगो माग दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ। यसका लागि सरकारी वकिलको राय लिन पठाइएको छ। ती व्यक्तिले पटकपटक गरी सयौं केजी सुन तस्करी गरेको विभागको दाबी छ।  

विराटनगर पुगेपछि टेम्पोको प्रयोग

युएईबाट सुन ल्याएर भारत तस्करीमा संलग्न उनीहरुले विराटनगर भएर पनि भारतीय बजारमा सुन पुर्‍याउने गरेको पाइएको छ। विराटनगर पुगेपछि उनीहरुले सीमासम्म पुग्न नियमित एउटै टेम्पो चालकको सहायता लिने गरेको अनुसन्धानमा खुलेको छ।

चल्तीको भाडादर भन्दा धेरै रकम दिएपछि टेम्पो चालकले ती व्यक्तिहरुलाई नियमित सेवा दिँदै आएका थिए।

'राम्रो' ग्राहक पाएका टेम्पो चालकले आफ्नो मोबाइल फोनसमेत उनीहरुलाई प्रयोग गर्न दिने गरेको खुल्न आएको छ। विभागले ती टेम्पो चालकलाई पनि नियन्त्रणमा लिइसकेको छ। टेम्पो चालकले भने उनीहरुको सुन तस्करीबारे जानकारी नभएको बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell