PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

दोस्रो चरणको खोप अभियान, काठमाडौं महानगरका ४८ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

दोस्रो चरणको खोप अभियान, काठमाडौं महानगरका ४८ हजार बढीले लगाए खोप

काठमाडौं : काठमाडौं महानगरपालिकामा दोस्रो चरण अन्तर्गत पहिलो प्राथमिकतामा परेका ६५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई लगाउँदै आएको कोभिडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ।

दोस्रो प्राथमिकतामा परेकाहरुको लागि स्वास्थ्य मन्त्रालयबाट अर्को सूचना प्राप्त भए पश्चात पुनः खोप लगाउने कार्य शुरु गरिने शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले बताए।

उनले यो चरणमा महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको पनि जानकारी दिए। जसमध्ये २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिला छन्। प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले खोप लगाए। दोस्रोमा ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाए।

त्यसैगरी वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पताल बाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्शालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९, इस्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ।

सबैभन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले लगाएका छन्। क्षेत्रपाटी निशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुति गृह थापाथलीमा २ हजार ९ सय ९९ ले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ।

केही दिनअघि मेयर विद्या सुन्दर शाक्यसहितको टोलीले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रमुख शाक्यले खोपबाट कसैलाई बञ्चित गराउनु हुन्न भन्ने नेपाल सरकार र महानगरपालिकाको अभियान नै रहेको भन्दै देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र आफुले समेत खोप लगाइसकेकाले आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन प्रोत्साहन गरेका थिए। अनुगमनकै क्रममा उनले केही समस्या देखिहाल्यो भने ३२ वटै वडाका जनप्रतिनिधिहरु सहयोगका लागि घर–दैलोमै आउने आश्वासन समेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell