काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिनमै देशको सम्पूर्ण स्थल मार्गकोको सीमा खोलिने बताएका छन्। उच्च स्तरीय कोभिड–१९ संकट व्यवस्थपन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन वीरगंजबाट आएको डेलिगेसनसहितको टोलीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘हामी पनि भारत र चीनसँगको जोडिएका सम्पूर्ण नाका खोल्ने सोचिरहेका थियौं,तपाँईहरु आउनु भएको छ,भोली अपरान्ह ४ बजेको सीसीएमसीको बैठक राखेको छु। यो विषय प्रस्ताव गर्छु, सायद भोलि नै पर्यटकको गाडी आवगमन सहितको सीमा नाका खोल्ने निर्णय हुनेछ,’ पोखरेलले भने।
मन्त्री निवास हरिहर भवनमा भएको भेटका क्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साको संयुक्त टोलीले भारतीय नाका सवारी साधनसहित आवागमनको नाका खोल्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएपछि उनले सम्पूर्ण देशको नाका खोल्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी समेत गराए।
‘नेपाल–भारत बिचको सीमा नाका पूर्ववत किसिमले खुल्छ, दुवै देशको रेसिप्रोकल कुरा हेरेर निर्णय गर्छौ,’ उनले भने, ‘कोरोना रोकथामको लागि सीमा बन्द हुदाँ व्यवसायीलाई ठूलो घाटा लागेको कुरा सरकारले बुझेको छ।’
कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि गत २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले नेपालमा लकडाउन शुरु गर्दै सीमा नाका बन्द गर्ने निर्णयमा पुगेको थियो। पछि अवस्थ समान्य हुँदै जाँदा नेपाल सरकाले नाका खोल्ने निर्णय गरेता पनि निर्णय कार्यन्वयनमा समस्या हुँदा गृह मन्त्रालयले भारतीय वा भारत भएर आउने पर्यटकको लागि सवारी सधान प्रवेशमा रोक लगाएको छ। तर, जबसम्म भारतीय सवारी सधानहरु आउँदैनन् तबसम्म भारतीय वा भारतबाट आउने पर्यटकहरु नआउने र भारतँग जोडिएका सीमावर्ती क्षेत्रका होटल व्यवसाय, सौरहा, पोखरा, काठमाडौं, लुम्बिनी, जनकपुर लगायत क्षेत्रमा पर्यटक आवागमन बढाउन सकिएको छैन।
वीरगंजको टोलीले पर्यटन मन्त्री भानुभक्त ढकालसँग पनि भेटघाट गरेको थियो। गाडी प्रवेश सहितको भारतीय सीमा नाका नखोल्दा मारमा परेको होटल व्यवसायलाई पुर्नजिवित पार्न माग गरेका थिए। पर्यटन मन्त्री ढकालले पनि भारतीय सीमा नाकाको विषयमा भोलिको बैठकले उपयुक्त निर्णय गरी अघि बढ्ने बताए।
यता सीमामा सहज बनाउने विषयलाई सरकारले ग्रहण गर्ने बताइरहँदा भारतमा भने कोभिड १९ को संक्रमण फेरि बढ्न थालेको छ। भारतका कतिपय क्षेत्रमा पुन: लकडाउन सुरु भएको छ।
