PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीसँग नडराउन अष्टलक्ष्मी शाक्यको कार्यकर्तालाई आह्वान



पहिलोपोस्ट

ओलीसँग नडराउन अष्टलक्ष्मी शाक्यको कार्यकर्तालाई आह्वान

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता कार्यकर्तालाई नडराउन आग्रह गरेकी छिन्।

माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले कारवाहीको धम्कीबाट नडराउन आह्वान गरिन्।

हिजो प्रधानमन्त्री ओलीले भेला आयोजना नगर्न निर्देशन दिएका थिए। साथै भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए। सहभागी भएमा कारवाही गर्ने चेतावनी पनि दिएका थिए।

‘बालुवाटारलाई पीडा भएछ। केपी ओलीलाई पीडा भएछ। सबैलाई कारवाही गर्ने, भेलामा जानेहरुलाई कारवाही गर्ने भन्नुभएछ,' भेलालाई सम्बोधन गर्दै शाक्यले भनिन्, 'पार्टीमा भेलामा आउन कोही आत्तिनुपर्दैन। डराउनुपर्दैन। गुटको होइन एमाले केन्द्रीय कमिटीको भेला हो यो। महत्वपूर्ण सुझाव दिनुस्।’ 

बलियो, सुदृढिकरण र एकत्रित पार्टी बनाउन भेलामा आयोजना गरिएको बताउँदै शाक्यले भेलामा आउन डराउनुपर्ने र धम्की सहनुपर्ने अवस्था नभएको बताइन्। उनले ओलीको धम्कीको निन्दा पनि गरिन्।

‘केपी ओलीलाई २८ गतेको गुट भेला विधान विपरीत भेला सबै पदाधिकारीलाई हटाउने काम विधान सम्मत छ? निर्णय सच्चाएर भेलामा आइदिनुस्,’ अध्यक्ष ओलीलाई आग्रह गर्दै भनिन्।

केपी ओली एमाले र माओवादी केन्द्रको एकीकरणको आड भरोसामा प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले ओलीले एकीकरणको कामलाई एक सेकेण्ड पनि प्राथमिकता नदिएको आरोप लगाइन्। 'सबै कमिटीलाई अस्तव्‍यस्त बनाउनुभयो। कम्यनिस्ट आन्दोलनमा लागेकालाई बहुत पीडादायी थियो। एक बनाउन लागिरहेको अवस्था अलग थलग हुँदा जनतालाई विश्वासघात भयो,' उनले भनिन्।

उनले जनताको भावनामा के मलहम लाउन सक्यौं? भन्दै प्रश्न गरिन्।

'कोभिडमा परेका जनतालाई बेलैमा उपचार गर्न चिन्ता भएन। तर कसरी भ्रष्टाचार गर्ने भन्ने चिन्ता भयो। हामीलाई कति पीडा भयो?,' उनले भनिन्, 'धेरै पीडा भोग्यौ तर पीडा ठानेनौं। सच्चिनुहुन्छ भनेर फेरि दु:ख मेहनत गर्‍यौं। तर, नेताहरुलाई अपमान गर्ने, खेलाउने र अलगथलग पार्ने काम गरे।'

उनले ओलीले दिएको पीडा कहिल्यै बिर्सन नसकिने बताइन्। त्यसलाई जनताले पनि नबिर्सने बताइन्। 

'कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने सम्भावना छ। केपी ओली सच्चिनुपर्छ। विचार सच्याउनुपर्छ। गुट बन्द गर्नुपर्छ। विधान विपरीत गर्न पाउनुहुन्न । हामी खुल्ला ढंगले पार्टीलाई एक बनाएर अगाडि बढाउनुपर्छ,' उनले भनिन्।

ओलीले दिएको धम्कीको विषय कोट्याउँदै उनले कति पनि नडराउन भनिन्। 'मैले सुने केही साथीहरु पदमा अफ्ठेरो हुने हो कि भन्ने रहेछ। कम्युनिस्ट पार्टी बच्यो भने तपाईँको पद ठूलो कुरा होइन,' उनले भनिन्, 'कम्युनिस्ट आन्दोलन विचार जोगाउने विधिसम्मत चलाउने कुरा महत्वपूर्ण हो। यो भेलाले अलमलिएको पार्टीलाई ट्र्याकमा ल्याउनेछ।'

ओलीलाई सच्चिन पनि उनले आग्रह गरिन्।

'तपाईँको आयु हामीले तोक्नुपर्दैन। अस्ति भर्खरै तपाईँले प्रतिगमन गर्नुभएको छ। अदालतले पुर्स्थापित गरिसकेपछि नैतिकता भए खुरुक्क राजीनामा दिनुपर्ने हो। तर तपाईँमा नैतिकता रहेनछ,' उनले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell