PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

ओली पक्षले धरापमा पारेको कर्णाली सरकारलाई माधव पक्षधर नेताको काँध, प्रकाश ज्वाला भन्छन् : समर्थन कायमै



पी बी खड्का

ओली पक्षले धरापमा पारेको कर्णाली सरकारलाई माधव पक्षधर नेताको काँध, प्रकाश ज्वाला भन्छन् : समर्थन कायमै

सुर्खेत : सरकारलाई दिएको समर्थन फिर्ता लिने नेपाल कम्युनिस्ट पार्टी एमाले, ओली गुटको संसदीय दलको बैठकप्रति पार्टीको माधवकुमार नेपाल गुटले आपत्ती प्रकट गरेको छ।

नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै काउन्टरमा माधव नेपाल समूहले त्यसलाई चुनौती दिएको हो।

'नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ,' आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेकपा एमालेका सांसद प्रकाश ज्वालाले भने।

आज प्रधानमन्त्री केपी शर्मा ओली समूहका प्रदेश सांसदहरुको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन लिने निर्णय गरेको हो।

त्यसको प्रतिकारमा उत्रिएको नेकपा एमालेकै माधव नेपाल समूहले औपचारिक सूचना समेत नदिइ बोलाइएको गुटगत बैठकले गरेको निर्णयमा असहमति जनाएको हो। 

संसदीय दलका नेता यमलाल कँडेलको अध्यक्षतामा बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट शाही नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। बैठकमा माधवकुमार नेपाल समूहका प्रदेश सांसद भने उपस्थित थिएनन्।  

त्यसैलाई काउन्टर दिँदै ज्वालाले भनेका छन्, 'यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं। यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं।' 

ओली पक्षले आजको बैठकमा उपस्थित नहुने मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ। बैठकमा सामाजिक विकास मन्त्री दल रावल र उद्योग मन्त्री नन्द सिंह बुढा पनि उपस्थित थिएनन्।

प्रदेशमा नेकपा एमालेको २० जना सांसद छन्। आजको बैठकमा ओली पक्षका १० सांसदमात्रै उपस्थित थिए।

प्रदेशसभामा माओवादी केन्द्रबाट १३ जना, नेपाली कांग्रेसबाट ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना सांसद छन्। 

'कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं,' प्रकाश ज्वालाले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell