काठमाडौँ : तीन दिनको अन्तरमा काठमाडौंमा भएका दुई हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो। चैत २ गते काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा महिलाको हत्या भएको थियो। त्यसै गरी फागुन २९ गते टोखामा २२ वर्षीय युवकको हत्या भएको थियो। दुवै अपराधमा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो।
चैत २ गते साँझ बल्खुको सुकुम्वासी बस्तीस्थित घर नम्बर ३ बाट ३२ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला पारेको थियो। सोमवार नारायण सापकोटाको घर पछाडि रहेको कोठामा बोरामा प्याक गरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। बोराभित्र प्लास्टिकको डोरीले बाँधेर डल्लो बनाएको अवस्थामा शव भेटिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। त्यस्तै, टाउकोमा गहिरो चोट तथा घाँटीमा कोतारेको जस्तो डाम देखिएको थियो। प्रहरीले घटनास्थल नजिकैबाट रगत लागेको हम्मर समेत फेला पारेको थियो।
उक्त घटनामा प्रहरीले पक्राउ गरेका व्यक्ति अरू कोही नभएर सन्तोषीका श्रीमान् नै हुन्। सन्तोष सापकोटालाई मङ्गलवार प्रहरीले कुलेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेपछि अभियुक्त सन्तोषले घटना आफैँले गरेको स्वीकार गरेका छन्। अभिुक्त सन्तोष सापकोटा
'उसले मैले हत्या गरेको भनिसकेको छ। त्यसलाई सपोर्ट गर्ने अन्य प्रमाणहरू समेत फेला पारेका छौँ,' एसएसपी सिंहले भने।
घटनापछि सन्तोषले मृतकको आइफोन, सुनको मुन्द्रा, हातको बाला र २३ हजार रुपैयाँ लिएर फरार भएका थिए। प्रहरीले पक्राउ गरेपछि उनको साथबाट मोबाइल फोन, कानमा लगाउने झुम्का, हातमा लगाउने बालासमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, ११ हजार ५ सय रुपैयाँसमेत फेला पारेको एसएसपी सिंहले बताए।
श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण केही समयदेखि उनी जोरपाटीस्थित माइतमा बस्दै आएकी थिइन्। घटनाको बिहान करिब साढे ७ बजे उनी जोरपाटीबाट बल्खु हिँडेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरू बिच प्रेम विवाह भएको र श्रीमानले लागू औषध सेवन गर्न थालेपछि उनीहरू बिच सम्बन्ध बिग्रिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। अभियुक्तबाट बरामद गरेको सामान र घटनास्थलबाट फेटिएको सबुत
'डिभोर्सको विषयमा केही समयदेखि उनीहरू बिच विवाद भएको देखिएको छ। यही नै कारणले हत्या भएको देखियो,' एसएसपी सिंहले भने।
टोखामा युवकको हत्या, उस्तै कारण
फागुन २९ गते काठमाडौं टोखा नगरपालिका वडा नम्बर १ स्थित बाँसको झ्याङमा एक युवकको शव फेला पर्यो। मोरङ बेलबारी नगरपालिका घर भएर टोखा बस्दै आएका २२ वर्षीय आशिष लिम्बुको शव थियो त्यो। प्रहरीको अनुसन्धानले हत्या गरेर फ्यालिएको देखायो।
उनको घाटी थिचेर हत्या गरिएको थियो। त्यही क्रममा अनुसन्धान गर्दा प्रहरीले चैत ३ गते गौर नगरपालिका वडा नम्बर ७ घर भएका २१ वर्षीय शेख अवदुल आलमलाई नियन्त्रणमा लिएको थियो। उनलाई एमडी मोटरसाइकल वर्कसपबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घटनाको जानकारी दिँदै एसएसपी अशोक सिंह
त्यसपछि भारतको मोतिहारी जिल्ला मधुवनी घर भएका १९ वर्षीय भूपेन्द्र कुमार साह पक्राउ परे। उनलाई नयाँ बसपार्क पवित्र नगरबाट नियन्त्रणमा लियो। घटनामा अर्का अभियुक्तको पनि संलग्न देखिएकाले प्रहरीले खोजी गरिरहेको थियो। अर्का अभियुक्त थिए- मोहम्मद कासिम मञ्सुरी। उनलाई रौतहट प्रहरीको सहयोगमा रौतहटबाट आज नियन्त्रणमा लिएको एसएसपी अशोक सिंहले बताए।
पक्राउ परेका तीनै जना एमडी मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए। मोहम्मद भने वर्कसपका सञ्चालक समेत हुन्। फागुन २८ गते राती आशिष लिम्बुले नशा लिएर वर्कशपमा गएर झगडा गरेपछि तीन जना मिलेर हत्या गरेको प्रहरीको दाबी छ। टोखा घटनाका अभियुक्तहरु
'मृतक लागू औषध प्रयोगकर्ता हो। घटना भएको दिन उनी वर्कसपमा पुगेको र झगडा परेपछि हत्या गरेको देखिन्छ,' एसएसपी सिंहले भने।
हत्या गरेपछि उनीहरूले ग्राहकले बनाउन राखेको दुई वटा स्कुटर प्रयोग गरेर शव बाँसको झ्याङमा लगेर फ्याँलेको देखिएको छ। शवलाई तन्दामा बाँधेर स्कुटरमा राखेर लगेको एसएसपी सिंहले बताए।
'यी दुवै घटनामा कमन कुरा भनेको लागू औषध दुर्व्यसनी नै देखिन्छ,' एसएसपी सिंहले भने।
दुवै घटनाको थप अनुसन्धान भइरहेको छ।