PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

ओलीको कसरी बढ्यो पार्टीमा अराजकता ? माधवकुमार नेपालको अवधारणा पत्रले दियो यसरी जवाफ



विधुर ढकाल

ओलीको कसरी बढ्यो पार्टीमा अराजकता ? माधवकुमार नेपालको अवधारणा पत्रले दियो यसरी जवाफ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चेतवानीका बाबजुद माधवकुमार नेपाल पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्‍यो।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र)बिचको पार्टी एकतालाई सर्वोच्च अदालतले फागुन २३ गतेको फैसला मार्फत् उल्ट्याएपछि पुन: दुई पार्टी अस्तित्वमा आएका छन्।

दुई पार्टी अस्तित्वमा आए पनि नेकपा एमाले स्पष्ट रुपमा दुई ध्रुवमा देखिन्छ। एउटा ध्रुवको नेतृत्व पार्टी अध्यक्ष ओली तथा अर्को ध्रुवको नेतृत्व पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र झलनाथ खनालले गरेका छन्।

यस्तोमा माधव पक्षको बुधवारदेखि राजधानीमा दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। भेलामा माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक अवधारणले अध्यक्ष ओली विरुद्ध धावा बोलेको छ। प्रतिवेदनमा माओवादी केन्द्रसँगको एकता प्रधानमन्त्रीकै कारण अगाडि बढ्न नसकेको आरोप समेत लगाइएको छ।

'हामी नेकपा एमालले बनाएको सैद्धान्तिक जगमा नेकपा माओवादी केन्द्रसमेत एकता गरेर मुलुकको समृद्धि र समाजवाद तर्फ अगाडि बढ्ने पर्याप्त वस्तुगत तथा मनोगत अवस्थामा थियौँ,' अवधारणापत्रमा भनिएको छ, 'पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए। उहाँलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरियो। तर, उहाँका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे।'

अवधारणामा पार्टी विभाजन गर्ने ओलीको क्रियाकलापको पराकास्टा प्रतिनिधिसभा विघटन भएकोसमेत उल्लेख गरिएको छ।

'त्यसको पराकाष्टा वामपन्थीहरुको अद्वितीय बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो। त्यो दुर्घटना टरेको मात्रै थियो, संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्‍यायो,' प्रतिवेदनमा भनिएको छ।

अदालतको फैसला कम्युनिस्ट आन्दोलनका लागि आफैले कवोल गरेका बाचाहरुको प्रतिकूल भएकोसमेत प्रतिवेदनमा भनिएको छ। 'त्यसमा समेत हर्ष बढाई गरेर कमरेड केपी ओलीले एकतावद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउनुभयो,' अगाडि भनिएको छ, 'पार्टी एकीकरण पूर्वको नेकपा एमालेको अवस्थाबाट पार्टी जीवनलाई अगाडि बढाउने सम्भावना अझै बाँकी हुँदाहुँदै कमरेड अध्यक्षले नेकपा एमालेलाई समेत विभाजित गर्न अगाडि बढ्नु भयो।'

फागुन २८ गते ओलीले आफ्नो गुट भेला गरेको र पार्टीको विधान विपरीत त्यसै भेलालाई नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य जारी गरेको आरोप लगाइएको छ।

'… यसरी कमरेड केपी ओली सुनियोजित रुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न नेकपा एमालेका समस्त सदस्यहरुलाई गोलबन्द गर्नु अनिवार्य भयो। त्यही ऐतिहासिक दायित्व बोधका साथ यो राष्ट्रियभेलाको आयोजना गरिएको हो,' अवधारणापत्रमा भनिएको छ।

ओलीकै कारण एमाले इतरको सरकारले निर्वाचन गरायो

अवधारणामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि सहमति गर्ने तर त्यसको पालना नगर्ने व्यक्तिका रुपमा आरोप लगाइएको छ। २०७२ सालमा ओली नेतृत्वको सरकारमा माओवादीसमेत सहभागी भएको सन्दर्भ कोट्याउँदै भनिएको छ, 'नेकपा माओवादी केन्द्रसमेत रहेको हुँदा सरकार बस्तुत: वामपन्थी चरित्रको थियो। कुशलतापूर्वक चलाउन सकेको भए वामपन्थी नेतृत्वकै सरकारले स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन अगाडि बढ्ने सम्भावना थियो। तर, कमरेड केपी ओलीले सहमतिको पालना र नेतृत्व गर्न नसक्दा आफ्नै नेतृत्व बाहेक अरुले नेतृत्व गरेको सरकारमा नेकपा एमालेलाई जान नदिने अडान लिनु भएपछि नेकपा एमाले सरकारबाट बाहिरिनुपर्‍यो।'

ओलीमा ब्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको आरोपसमेत भेलामा माधव नेपालले प्रस्तुत गरे। अवधारणामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रका विरुद्ध व्यक्तिगतरुपमा पनि आक्रामक रहँदै आएका ओलीले पार्टीभित्र छलफल नगरी अचानक पार्टीको स्थायी कमिटीमा निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव पेश गरेकोसमेत उल्लेख छ।

नेकपा बनेपछि पनि ओलीले प्रचण्डसँग गोप्य सम्झौता गर्ने र सहमति पालना नगर्ने ब्यक्तिवादी गुटबन्दी कार्यशैली गरेको भन्दै  आलोचना गरिएको छ। नेकपा बनेपछि पनि ओलीले पार्टीलाई व्यक्तिवादी तरिकाले चलाएको आरोपसमेत लगाइएको छ।

अवधारणापत्रमा प्रधानमन्त्री ओलीको राजीनामा मागसमेत गरिएको छ। पार्टीभित्र कार्यवाहक नेतृत्वको तयारी गर्दै गुटगत निर्णयहरु खारेज गर्नुपर्ने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell