PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

हामीले सरकार जोगाउन होटेलमा लगेर सांसद थुनेका छैनौं, माधव नआए पनि बैठक चल्छ: खगराज अधिकारी



पहिलोपोस्ट

हामीले सरकार जोगाउन होटेलमा लगेर सांसद थुनेका छैनौं, माधव नआए पनि बैठक चल्छ: खगराज अधिकारी

काठमाडौं: नेकपा (एमाले) का नेता तथा सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरी अघि बढेको दावी गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अधिकारीले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि बताए। उनले सरकार बचाउनको लागि आफूहरुले केही पनि नगरेको स्पष्ट पारे। उनले भने, ‘हामीले केही पनि गरेको छैन। होटेलमा लगेर सांसद लगेर थुनेको छैन। हामी त नीति, निष्ठा र विचारको आधारमा अघि बढेका छौं। विदेशीको लागि कम्फर्टेवल सरकार पनि बनाउने भनेको छैन। बरु, यो सरकारलाई समर्थन गर्न अपिल गरेका छौं।’

सर्वोच्च अदालतको फैसला अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको सुनाउँदै त्यसपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको पनि अधिकारीले जनाए। उनले पार्टी अध्यक्षले विधानबमोजिम नै फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठक बोलाएको दावी गरे। उनले भने, ‘अध्यक्षले बैठक बोलाउने हो। त्यहीअनुसार फागुन २८ गतेको बैठक बोलाउनुभएको हो। अहिले उहाँले चैत्र ७ गतेको लागि बैठक आह्वान गर्नुभएको छ। गुटगत भेला गर्नेलाई कारबाही गर्ने भन्दा पनि हामी कसैलाई कारबाही गरेर गौरव गर्नुभन्दा पनि विचारमा एकता भएर अघि बढ्न चाहन्छौं। तर, कसैले हातमा जौ, तिल लिएर पार्टी फोड्छु भन्यो भने हामी विधानअनुसार अघि बढ्छौं। हामीसँग बहुमत कोरम छ, हामी बैठक सञ्चालन गर्छौं। सांसद पद जाने वा नजाने भन्ने कुरा मैले जान्दिनँ।’

अधिकारीले वर्तमान राजनीतिक परिस्थिति सुनाउँदै आधुनिक नेपालमा आफूहरुले पाँच वर्ष प्रधानमन्त्री भएको देख्न नपाएको सुनाए। उनले भने, ‘चाहे विपी कोइराला हुन वा केपी ओली। हामीले पाँच वर्ष प्रधानमन्त्री भएको देख्न पाएनौं। हामीले पटक पटकको नाकाबन्दी सामना गर्दै आयौं। पछिल्लो पटकको नाकाबन्दी सायद केपी ओली भएर नै सामाना गर्नुभयो। अहिले पनि नेपाल आमा चिच्याइरहेकी छिन्। प्यारो धर्तीलाई बचाउनको लागि। हामी अघि बढिरहेका छौं।’ अधिकारीले पार्टीको दुर्घटनाको सम्भावना छँदै थियो भन्ने टिप्पणी गरे। तर, दुर्घटना नहुनको लागि आफूहरुले भरपुर कोशिस गरेको जिकिर गरे। तर, दुर्घटना टार्न नसकेको उनको भनाइ छ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि सही ढंगले संसद् नचलेको उनको गुनासो छ। उनले भने, ‘संविधानको धारा ११४ ले संसद् बसेकै दिन अध्यादेश टेबुल गर्नुपर्छ भन्छ। तर, संसद् पुनःस्थापनाले अराजकता भयो। अध्यादेश टेबुल हुन दिइएन। सरकारले प्रस्तुत गरेका अध्यादेश डे वान मै प्रस्तुत हुन पाएन। अनि को हो त संविधानको परिपालना गर्ने?’

उनले पार्टी विभाजन हुँदा खुशी हुने पनि रहेको उल्लेख गर्दै एकतालाई जोगाउनको लागि सबै गम्भीर हुनुपर्ने बताए। तर, सिद्धान्तहीन एकता भने हुन नसक्ने उनको भनाइ थियो।

अधिकारीले माधव नेपाल पक्षले ललितपुरमा आजबाट सुरु गरेको भेलालाई लक्षित गर्दै पार्टीले गुटगत भेला नगर्न भनेको सुनाए। तर, पार्टी अध्यक्ष र महासचिवले भेला नगर्न भनेपछि त्यो भेला गुट भएको पनि उनको टिप्पणी छ।

उनले संसद्ले सरकार दिन सकेन भने राजनीतिक रुपमा प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव जान चालेको कदम सही रहेछ भन्ने पुष्टि हुने पनि जिकिर गरे। सरकारले धेरै विकास निर्माणका काम गरेको र सुशासन पनि दिएको उनको दाबी छ। उनले सरकारको समृद्धिको यात्रा अहिले जारी रहेको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell