PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आयोजक मकवानपुर ११ स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा प्रवेश



निशा गुरुङ

आयोजक मकवानपुर ११ स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा प्रवेश

हेटौँडा : आयोजक मकवानपुर ११ हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको अवस्था उल्टाउँदै मकवानपुर ११ ले फाइनलमा स्थान बनाउन सफल भएको हो।

मकवानपुर ११ ले ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेको छ। मकवानपुरले अब नेपाल आर्मी क्लव र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनको विजेतासँग फाइनलमा खेल्नेछ।

खेलको नवौं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। राजेश परियारको कर्नर बललाई उनले पोष्टको दिशा दिएका हुन्। २० औं मिनेटमा मकवानपुरका रुपेश केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ३४ औं मिनेटमा विमल रानाको पासमा मकवानपुरका रञ्जन बिष्टले गोल गरे।

४७ औं मिनेटमा मकवानपुरका लागि अमीर श्रेष्ठले गोल गर्दै खेललाई ३-१ को अवस्थामा पुर्‍याए। मैदानको मध्यभागबाट विमल रानाले निकालिदिएको बललाई श्रेष्ठले उत्कृष्ट कला देखाउँदै गोलमा परिणत गरेका हुन्। ५० औं मिनेटमा मछिन्द्रका अशोक थापाले अग्रता घटाए। ५९ औं मिनेटमा मछिन्द्रका राजेश परियारले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याए।

६८ औं मिनेटमा अमिर श्रेष्ठले मकवानपुरको लागि निर्णायक गोल गरे। कर्नरबाट प्राप्त बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका हुन्। ८६ औं मिनेटमा दिलेन लोक्तानको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्रले हार व्यहोर्न बाध्य भएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मकवानपुर ११ का अमीर श्रेष्ठ म्यान अफ द म्याच भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। दोस्रो सेमीफाइनल अन्तर्गत बिहीवार नेपाल आर्मी र क्यामरुनको टिम खेल्नेछ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विपक्षी खेलाडीको मार्किङ नपुग्दा हार व्यहोर्न परेको प्रतिक्रिया दिए।

‘१ गोल गरेपछि खेललाई सामान्य रुपमा लिनु नै गलत भयो’, उनले भने, ‘रिबाउण्ड बल रोक्ने रणनीति थियो तर त्यसमै चुक्यौं।’

यता मकवानपुर ११ का प्रशिक्षक विजयलाल श्रेष्ठले बिग्रेको खेललाई सुधारेर खेल्दा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए।

‘सुरुवातमै पछि परेपनि प्रेसर दिएर खेल्यौँ। अन्ततः जित्न सफल भयौं’, उनले भने।

मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा जारी तेस्रो संस्करणको फुटबल प्रतियोगितामा एउटा विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell