PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मेला जस्तै माधव समूहको कार्यकर्ता भेला: युवाभन्दा पाका नेता आइकन, ओलीविरुद्ध दोस्ती जमाएका प्रचण्डको पनि आलोचना!



प्रकाश भण्डारी

मेला जस्तै माधव समूहको कार्यकर्ता भेला: युवाभन्दा पाका नेता आइकन, ओलीविरुद्ध दोस्ती जमाएका प्रचण्डको पनि आलोचना!

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अस्तित्व नरहेको फैसला नगरेसम्म काठमाडौँ उपत्यका र बाहिरका मुख्य शहरमा ठूला-ठूला सभा भए। कहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गरे त कहिले उनी इतरका नेताले शक्ति प्रदर्शन गरे। त्यही आकारका सभा नभएको भए पनि प्रधानमन्त्री ओलीको विरोध भने थामिएको छैन।

ने क पा किचलोको जस्तै झल्को दिने गरी नेकपा (एमाले) को विवाद बल्झिएको छ। प्रधानमन्त्री आफ्नो आलोचनामा उत्रिएका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई कारबाही गर्ने चेतावनी दिइरहेका छन् भने नेपाल समूहले पनि राजनीतिक प्रतिवेदनमार्फत ओलीको अध्यक्ष पदबाट राजीनामा मागेको छ।

ललितपुरमा बुधबारदेखि सुरु भएको नेपाल समूहको दुई दिने कार्यकर्ता भेलालाई दुबै समूहले एमाले विभाजनको आधारका रुपमा व्याख्या गर्न थालेका छन्।

गाउँ-गाउँबाट नेता कार्यकर्ता बोलाएर हेरिटेज गार्डेनमा गरिएको भेलामा अधिकांश नेताले अब ओलीसँग बस्न नसकिने अडान राखे। आफू विधि पद्दतिको हिमायती भएको देखाउन नेपाल समूहले कार्यकर्ता पङ्तिलाई जम्मा गरेर ओलीको चर्को आलोचना गरेको छ। आफूलाई सभ्य भव्य देखाउन नेपाल-खनाल समूहले भेलामा सम्भव भएसम्मका उपाय लगाएको थियो।

गेटैदेखि स्वागत

ओलीले फागुन २८ गते आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर आफू इतर नेतालाई पदबाट हटाइदिएपछि नेपाल समूह त्यसको प्रतिवादको तयारीमा लाग्यो। त्यसका लागि उसले देशभरका कार्यकर्तालाई काठमाडौँमा उतारेर ओलीविरुद्ध लाग्न निर्देशन दिएको छ। यद्यपि आफ्ना समूहका गतिविधिलाई सभ्य र बढी भन्दा बढी राजनीतिक हुने नेताहरुले बताएका छन्। हेरिटज गार्डेनभित्र र प्रांगणलाई भेलास्थल बनाएको नेपाल समूहले बाहिरबाट आउने नेता कार्यकर्ताका लागि गेटदेखि नै स्वागतका लागि कार्यकर्ता खटाएको थियो।

'कमरेड स्वागत छ। भेलामा आउनु भएकोमा तपाईँलाई धन्यवाद,' गेटमा लामवद्ध लागेका स्वयमसेवकले गेटमा छिर्नासाथ अभिवादनका साथ स्वागत गर्छन्।

हिजैदेखि भेलाको तयारी गरेको नेपाल समूहले भेलालाई भब्य देखाउन गार्डेनको हल र प्राङ्गणमा मोनिटर जोडेर हेर्ने व्यवस्था मिलाएको थियो।

पाका नेताकै चाम

भेलाको आशनग्रहण सुरु भएपछि धमाधम नेताहरुको नाम मञ्चबाट उद्घोष भइहरेको थियो। युवा पुस्ताकालाई भन्दा पुराना कम्युनिस्ट नेतालाई प्राथमिकतामा राखेर सभा सञ्चालक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आशनग्रहणका लागि अनुरोध गरे।

झापा आन्दोलन र नेपालमा कम्युनिस्ट आन्दोलनको सुरुवात कर्ताको रुपमा पाका नेताहरुलाई पाण्डेले आशनग्रहण गराइरहेका थिए। कम्युनिस्ट आन्दोलनको धरोहर आफूसँग भएको देखाउन पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, कमल कोइराला, सिद्दीलाल सिंह, बद्रीप्रसाद खतिवडा लगायतलाई मञ्चको पहिलो लहरमा राखियो।

जबकी एमालेका चर्चित र युवा पुस्ताका भनेर चिनियका नेतालाई समेत पछिल्लो लहरमा बस्ने ब्यवस्था थियो। कम्युनिस्ट आन्दोलनको सुरुवातमै उदाएका नेतालाई मञ्चमा देखेपछि धेरैले उनीहरुलाई चासोका साथ हेरिरहेका थिए।

युवा नेताले बोल्न पाएनन्

पाका नेतालाई सम्मानका साथ आशनग्रहण गराइएको भए पनि उनीहरुलाई बोल्ने अवसर भने थिएन। युवा र चर्चित कहलिएका नेताले समेत सम्बोधनको अवसर पाएनन्। वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल र स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले मात्रै भेलालाई सम्बोधन गरे।

सबैभन्दा अगाडि सभाध्यक्षका रुपमा खनालले सम्बोधन गरेका थिए। उनको भाषण ओलीविरुद्ध तत्कालीन ने क पाको विरोध सभाकै जस्तो सुनियो।

उनको अधिकांश वाक्य विरोध सभाहरुको पुनरावृति मात्रै थियो। 'एमालेमा गुटबन्दी गर्ने कोही नेता छ भने त्यो केपी ओली हो। उनले एमाले विसर्जन गर्न खोजेका छन्,' खनालले आफ्नो पुरानै शैलीमा भने।

खनालले ओलीविरुद्ध अब कसरी अगाडि बढने भन्नेबारेमा भने केही बताएनन्। भेलालाई नेपाल समूहले ओलीविरुद्ध रणनीति तय गर्न बोलाएको बताएको छ।

उनी पछि बोलेकी नेत्री शाक्यले भने प्रष्टरुपमा २८ गतेको निर्णय फिर्ता भए नेकपा एमाले एक हुने नभए अलग भएको सन्देश दिइन।

'अझै केही भएको छैन। २८ गतेका निर्णय फिर्ता लिए एक भएर बस्न सकिन्छ,' उनको भनाई थियो।

विशेष अथितिका रुपमा अन्तिममा आएका नेपालले शाक्य र खनालको भन्दा लामो समय भाषण गरे। उनले नेकपा एकतादेखि नेकपा विवादबारे बोल्न भ्याए।

प्रचण्डको पनि विरोध!

नेपालले ने क पा कसरी विभाजनको अवस्थामा पुग्यो? भन्नेबारे बेलीविस्तार लगाए। उनले ओली नै ने क पा विवादको मुख्य कारण भए पनि त्यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि अछुतो नभएको बताए।

सुटुक्क ओली-प्रचण्डले सम्झौता गर्दा पार्टीमा समस्या सिर्जना भएको उनको आरोप थियो।

'नेकपाको प्रथम अध्यक्ष ओली भनेर कतै लेखिएको थियो? आलोपालो गोप्य सम्झौता गरेको हामीले हो? ओली र प्रचण्डले सुटुक्क सम्झौता गरे। खुल्ला रुपमा उहाँले गर्नुहुन्न सुटुक्क मात्रै गर्नुहुन्छ। अनि पालना किन नगरेको भन्दा विवाद। हामी त ओली पीडित हौँ। तपाईँ पनि ओली पीडित हो। त्यसैले हाम्रो मन र भावना मल्छ,' उनले भने।

ओलीले झुटो बोल्ने भएकाले धुम्बाराहीमा आफू टिमसहित वार्तामा बसेको नेपालले बताए। तर, वार्ताले कुनै फल नदिएको अब ओलीविरुद्ध लडनुपर्ने नेपालको भनाई थियो।

दुई वटा बैठक खै?

अधिकांश समय ओलीको आलोचना गरेका नेता नेपालले बेला-बेलामा ओली समूहमा रहेका अरु नेतारुहरुप्रति पनि आक्रोश व्यक्त गरे। सचिवालयमा समेत आफ्नो बहुमत रहेकाले ओली समूहका नेताहरुले विभिन्न षडयन्त्र गरेको उनको आरोप थियो।

उनले भाषणका क्रममा आफूले खुलेर धेरै कुरा बताउने उद्घोष गरे। अदालतको फैसलापछि आफूले ओलीलाई म्यासेज पठाएको भए पनि ओलीले लत्याएको उनको आरोप थियो। 

नेपालले पार्टी एकता पूर्व एमालेको केन्द्रीय कमिटीको नौ वटा मात्रै बैठक बसेकाले अब १०औँ बैठक बस्नुपर्नेमा ओलीले एकै पटक १२औँ बैठक बोलाएको आरोप लगाए। दुई वटा बैठक एकल रुपमा ओलीले बसाएको नेपालले आरोप लगाए।

'एमालेका ९ वटा मात्रै बैठक बसेका थिए। १०औँ बैठक बस्नुपर्ने तर ओलीले अहिले एकै पटक १२औँ बैठक बोलाउनुभएको छ। उहाँले दुई वटा बैठक के गर्नुभयो। उहाँले आफैँले एकल रुपमा बैठक बसाल्नुभयो,' उनले भने।

मेला जस्तै भेला

नेपाल-खनालको भेला ओलीविरुद्ध केन्द्रित थियो। गाउँ-गाउँदेखि आएका कार्यकर्तालाई बिहानैदेखि सानेपामा रहेको हेरिटेज गार्डेनको लोकेसन पत्ता लगाउन हम्मेहम्मे पर्‍यो। तर भेलास्थलमा पुगेपछि भने उनीहरु मख्ख देखिन्थे। सातै प्रदेशका छुट्टाछुट्टै स्टलमा बसेका कार्यकर्ताले गाउँबाट आएकालाई सहजीकरण गरिरहेका थिए। भेलामा सहभागी भएर राजनीतिक कार्यक्रममा व्यस्त रहँदा बाहिर भने केही कार्यकर्ता फोटो सेसनमा व्यस्त थिए। पुष्पलाल श्रेष्ठ हुँदै मनमोहन अधिकारीको पूर्णकदको फोटोसँग सेल्फी खिच्न कार्यकर्ताको तछाडमछाड नै देखियो।

चिया पसलमा बढेको चहलपहल

हेरिटेज गार्डेनमा चिया खाजाको व्यवस्था थियो नै। तर कार्यकर्तालाई भने बाहिरको चिया पसलको चिया खाजा रुचिरहेको थियो। पसल बाहिर चिया खाजा खान कार्यकर्ता भुँइमै बसेर भए पनि पर्खिरहेका थिए। अरु बेलामा हेरिटेज गार्डेन बाहिरका चिया पसलमा दिउँसो त्यती चहलपहल नुहुने भए पनि नेपाल समूहको भेलाले भने बुधबार चहलपहल ह्वातै बढेको थियो।

कार्यकर्तासँगै सुरक्षाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थितिले बाहिर चिया व्यापारीलाई भने भ्याइ-नभ्याइ नै भयो। सानेपा हाइट वरपरको महोल ठूलो सभास्थल वरपरकै जस्तो देखियो। एमालेको झण्डाले सानेपा हाइट वरपरको सडकको महोल राजनीतिमय बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell