काठमाडौं : चैत २० र २१ गते पोखरामा रेस्लिङ प्रतियोगिता हुने भएको छ। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने भएको हो।
नेपालका उत्कृष्ट रेस्लरले सहभागिता जनाउने प्रतियोगितामा देशका विभिन्न ठाउँका चर्चित रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन्।
रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका रेस्लरले भाग लिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको समेत उनले बताइन्। दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क १ सय र २ सय तोकिएको छ।
नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि रेस्लर उत्पादनसँगै निरन्तर तालिमको व्यवस्था गर्न रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको समेत श्रेष्ठले बताइन्। त्यस्तै, राखेप सदस्य राजेश गुरुङले रेस्लिङ खेलको विकासको लागि योगदान दिँदै आएको नेपाल रिङ रेस्लिङ संघलाई धन्यवाद ज्ञापन गरे।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद १ लाख रुपैयाँ सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ।
