PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पाँच नगरपालिकालाई काठमाडौं महानगरको ५ करोड सहयोग



पहिलोपोस्ट

पाँच नगरपालिकालाई काठमाडौं महानगरको ५ करोड सहयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेकसमेत हस्तान्तरण गरेको छ। बुधवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरेका हुन्।

काठमाडौँ महानगरपालिकाले २०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको मेयर शाक्यले जानकारी दिए।

सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुदेश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ। यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको थियो। त्यसैगरी ताराकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को ताराकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ। यस अघि ताराकेश्वर धाम निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्रभित्र रहेको वडा–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरीको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ। यसअघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो।

त्यसैगरी कीर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ। उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ।

त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि महानगरपालिकाले रु थप एक करोड सहयोग गरेको छ। यस अघि पनि महागनरपालिकाले सो उद्यान निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो। त्यहाँ पनि करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ। भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि रु एक करोड नै दिने भएको छ। सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिए।

महानगरले चन्द्रागिरी नगरपालिकालाई पनि मातातिर्थ पार्क निर्माणका लागि रु एक करोड सहयोग गर्ने भएको छ। उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ। यस अघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि रु एक करोड नै सहयोग गरेको थियो।

केही समय अघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि रु एक करोड पचास लाख सहयोगको चेक हस्तान्तरण गरेका छन्। कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो।

काठमाडौं महानगरपालिकाले यसअघि काठमाडौँका १० नगरपालिका र भक्तपुरको मध्यपुर ठिमीलाई नगर–नगर साझेदारी अन्तर्गत सहयोग गरेको थियो। महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell