PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

माधव नेपाल समूहका सांसदको प्रतीक्षामा बालुवाटार, नआए पनि बैठक सुरु हुने



प्रकाश भण्डारी

माधव नेपाल समूहका सांसदको प्रतीक्षामा बालुवाटार, नआए पनि बैठक सुरु हुने

काठमाडौं : माधवकुमार नेपाल समूहसँग नजिक भएका नेकपा एमालेका सांसदहरु बालुवाटार नपुगे पनि बैठक सुरु हुने भएको छ।

'हामी प्रतीक्षा गरिरहेका छौं,' नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, 'उहाँहरु आउने नआउने केही भन्नु भएको छैन।'

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले डाकेको कार्यकर्ता भेलाकै समय जुधाएर संसदीय दलको बैठक डाकेका थिए। बालुवाटारमा डाकिएको बैठकमा नेकपा एमालेको नेपाल समूहका सांसद जाने र नजाने हल्लाका बिच अन्तत: कोही पनि पुगेनन्।
'उहाँहरु नआए पनि बैठक अब सुरु हुन्छ,' सचेतक भट्टराईले पहिलोपोस्टसँग भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको नेकपा एमालेभित्रको विवाद यतिखेर चरम अवस्थामा पुगेको छ। विघटनाले नेकपा माओवादी केन्द्र पनि चोइटिएको छ भने एमाले विभाजनको अवस्थामा पुगेको छ।

फागुन २८ गते पार्टी अध्यक्ष ओलीले आफ्नो गुटका केन्द्रीय सदस्यको बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका थिए। साथै नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए।

उक्त घटनापछि चिढिएको एमालेको नेपाल समूहले अलग्गै भेला डाकेको हो। उनीहरुले २८ गतेको बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने बताउँदै

आएका छन्। अर्कातिर, नेपाल समूहको भेलामा नजान र गएमा कारवाही गर्ने चेतावनी पार्टी अध्यक्ष ओलीले दिँदै आएका छन्।

आज बालुवाटार नजाने सांसदहरुलाई ओलीले कारवाही गर्ने बताएका छन्। त्यसैले आजको बैठकमा सबैको ध्यान खिचिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell